काठमाडौं । अमेरिकी व्यापार प्रतिबन्धको शिकार बनेको ह्वावेले हाल गुगल प्ले सर्भिसबिनै आफ्ना फोन ल्याउने गरेको छ । अमेरिकी प्रतिबन्धपछि एप स्टोरका लागि आफ्नै इकोसिस्टम बनाएको ह्वावेको छुट्टै अपरेटिङ सिस्टम ‘हार्मोनी’ समेत सार्वजनिक गरेको छ ।
लामो समयसम्म चीनसहित धेरै देशको स्मार्टफोन बजार लिड गरेको यो कम्पनी अहिले आफ्नो पुरानाे प्रभुत्व पुनः फर्काउन प्रयासरत छ । आज हामी गुगल सर्भिस बिनाको ह्वावे फोन कस्तो छ भनेर टेक सेन्ट्रलमा लुङ्गगियल मेसोमीले लेखेको अनुभव प्रस्तुत गर्दैछौं:
ह्वावेकाे नोभा ८ आई स्मार्टफोनलाई कम्पनीले विशेषगरी कन्टेन्ट क्रियटरका लागि उत्कृष्ट फोनका रुपमा प्रचार गर्दै आएको छ । यद्यपि गुगलका कुनै पनि सेवा उपलब्ध नहुनाले यो फोन केही फिक्का लाग्नसक्छ ।
अन्य फिचरको कुरा गर्दा यसमा उत्कृष्ट क्यामेरा क्वालिटी छ । १२८ जीबी इन्टर्नल स्टोरेज ८ जीबी र्यामसहितको फोन छिटो चार्ज हुनुका साथै ब्याट्री लामो समयसम्म टिक्छ ।
मिडरेन्जका स्मार्टफोनहरूसँग तुलना गरेरै हेर्ने हो भने नोभा ८आईलाई राम्रै फाेनका रूपमा लिन सकिन्छ । एन्ड्रोइड १० मा आधारित ईएमयूआई ११ मा चल्ने फोनमा सफ्टवेयर पर्फर्मेन्स राम्रै छ ।
६.७ इन्चको स्क्रिन रहेको यो स्मार्टफोनकाे डिजाइन निकै स्लिक छ । यसमा मिडरेन्ज क्वालकम एसएम११५ स्न्यापड्रागन ६६२ प्रोसेसरको प्रयोग गरिएको छ । जसले उत्कृष्ट पावर खपत गर्नुका साथै मज्जाले गेम खेल्न सकिन्छ ।
तैपनि गुगल मोबाइल सर्भिस बिना स्मार्टफोन केही हदसम्म अपूर्ण जस्तै लाग्याे ।
अहिले ह्वावे स्मार्टफोनका प्रयोगकर्ताले क्रोम, गुगल डक्स, युट्युवजस्ता एपका साथै इन्स्टाग्राम, ट्वीटर र फेसबुक जस्ता सामाजिक सञ्जाल एप चलाउन पाउँदैनन् ।
यी एप प्रयोग गर्न कि त ब्राउजरबाट साइडलोड गर्नुपर्छ, कि त डाउनलोड नै गर्नुपर्दछ । अथवा शेयर-ईट जस्ता फाइल शेयरिङ एपमार्फत शेयर गरेर चलाउनुपर्छ ।
ह्वावेका नयाँ फोनले ओपन साेर्स भर्सन चलाउने भएकाले एन्ड्रोइड प्याकेज इन्स्टल गरी एपहरू डाउनलोड गर्न त मिल्छ । तर यो विधि पनि सुरक्षाका दृष्टिकोणमा जोखिमपूर्ण नै छ ।
एन्ड्रोइड प्याकेज अर्थात् एपीके एन्ड्रोइड अपरेटिङ सिस्टममा आधारित भएकाले गुगलबाहिर यसको प्रयोग गर्नु भनेको गुगलको सुरक्षा मापदण्ड उल्लङ्घन गर्नु हो । एपीके इन्स्टल गर्दा फोनले सुरक्षा अवस्थाको जाँच गर्दछ ।
कुनै अवरोध फेला नपरेमा केही बेरमा इन्स्टल हुन्छ । कम्पनीको प्ले स्टोरको विकल्पका रुपमा रहेको ‘एप ग्यालरी’ को सहयोगमा एपीके इन्सटल गर्न सकिन्छ ।
गुगलका सर्भिसहरू एपीकेको सहायतामा चलाउन सकिन्छ भनिए पनि झन्झटिलो छ । साथै तुरुन्तै उपलब्ध पनि हुँदैन ।
गुगल प्ले स्टोर नहुनुको अर्को नकारात्मक पक्ष भनेको एपहरू अपडेट गरिरहन सकिँदैन । यसरी हेर्दा नोभा ८ आईका फिचर जति नै आकर्षक लाग्ने भएता पनि गुगलको इकोसिस्टममा बानी परका प्रयोगकर्तालाई भने यसले खासै उत्साहित गर्दैन ।