close

के स्मार्टफोनमा एप क्याश वा डेटा क्लियर गर्न जरुरी छ ?

टेकपाना टेकपाना

माघ १५, २०७८ १७:४६

के स्मार्टफोनमा एप क्याश वा डेटा क्लियर गर्न जरुरी छ ?

काठमाडौं । एन्ड्रोइड फोनको ख्याल राख्नुपर्ने कुरा आउँदा जहिले पनि एप क्याश क्लियर वा खाली गर्नु उचित हुन्छ वा हुन्न भन्ने विषय विवादास्पद रहँदै आएको छ । मोबाइलमा प्रयोग गर्ने एपका कारण मोबाइल स्लो नहोस् भनेर धेरै व्यक्तिले एप क्याश खाली गर्छन्, अथवा स्टोरेज खाली गर्ने गर्छन् ।

तर, वास्तवमा यो कुरा उपयोगी छ वा छैन भन्ने विषयमा धेरै प्रश्न छन् । केहीले भने एन्ड्रोइड आफैंले एप क्याश ह्यान्डल गर्नुपर्छ भन्ने तर्क गर्छन्, र पूर्वनिर्धारित क्याशिङमा हस्तक्षेप गर्नु समस्या निम्त्याउनु हो भनेर पनि भन्ने गरेका छन् । तर यसको वास्तविकता नितान्त फरक छ ।

कतिपय एपले क्याश स्पेस जिम्मेवारीपूर्वक प्रयोग गर्दैनन् भने केहीले धेरै क्याश डेटा प्रयोग गर्दा क्याश प्रयोग गर्न छोड्छन् र केहीले अपडेट गरेपछि पूर्णरूपमा काम नै गर्दैनन् ।

यसर्थ आज यो लेखमा हामीले एप क्याश के हो, यो किन महत्त्वपूर्ण छ, र यसलाई एन्ड्रोइड स्मार्टफोनमा खाली गर्ने कि नगर्ने भन्ने विषयमा चर्चा गर्नेछौं । 

के हो क्याश ? 

क्याशिङले ब्राउजर, गेम, स्ट्रिमिङ सेवा लगायत एपहरूको लोड हुने समय कम गर्न र समग्र एपको प्रयोगको अनुभवलाई छिटो बनाउन अस्थायी फाइल स्टोर गर्न अनुमति दिन्छ । 

युट्युव, स्पोटिफाइ, गुगल न्युज र धेरै अन्य एपहरूले क्याश डेटाको रूपमा विभिन्न जानकारीहरू स्टोर गरेर राख्ने गर्छ ।

सामान्य रुपमा बुझ्दा क्याश कुनै पनि भिडिओ थम्बनेल, सर्च हिस्ट्री अथवा प्रयोगकर्तालाई इनपुटको लागि सोध्नुपर्ने वा इन्टरनेटबाट बारम्बार जानकारी तान्नुपर्ने झन्झटलाई कम गर्न अस्थायी रूपमा स्टोर भएको भिडिओको स्निपेटहरू (छोटो जनाकारीहरू) हुन सक्छन् ।

क्याशिङले धेरै समय बचाउन सक्छ, किनकि इन्टरनेटको गुणस्तर र गति सबै ठाउँमा समान हुँदैन । यद्यपि एपहरूले धेरै डेटा अफलोड गर्दा पनि क्याश अन्तत: स्लो हुन जान्छ ।

एन्ड्रोइडमा डेटा र क्याश हटाउनुको भिन्नता 

प्रायजसो फोनमा क्याश र डेटा खाली गर्ने काम एउटै हो भन्ने भ्रम छ । जुन विल्कुल फरक छ ।

उदाहरणका लागि स्पोटिफाइ एप प्रयोग गर्दा, यो एपले प्रयोगकर्ताले लाइब्रेरी बाहिर खोजेका कलाकार, एल्बम आर्ट ब्राउज गरिएको लगायत अन्य सर्च हिस्ट्रीहरु स्टोर गर्छ । जसलाई क्याश भनिन्छ । जब एप क्याश खाली हुन्छ, उल्लेख गरिएका सबै डेटा पनि खाली हुन्छन् ।

त्यस्तै एपले प्रयोगकर्ताको सेटिङमा भएका जानकारी र लगइन डिटेल्स स्टोर गर्छ, जसलाई डेटा भनिन्छ । प्रायजसो प्रयोगकर्ताले डेटा खाली गर्न क्याश र डेटा दुवै हटाउँछन् । डेटा हटाउनु भनेको एउटा एपलाई फेरि सुरुदेखि प्रयोग गर्नु जस्तै हो ।

तपाईंले क्याश हटाउन किन जरुरी छ ?

प्रयोगकर्ताले एप्लिकेसन क्याश खाली गर्नुको मुख्य कारण भनेको फोनको स्टोरेज खाली गर्नु हो, जसले फोनको पर्फमेन्समा प्रभाव पार्न सक्छ ।

तर डेटा खाली गर्नु भनेको एउटा यस्तो चरण हो, जुन एपमा धेरै बग हुन्छ अथवा सो एप स्टार्ट नै नहुँदा प्रयोग गर्ने गरिन्छ ।

यसो हुनुमा धेरै कारण हुनसक्छन् । जस्तो कि पहिलेको क्याश फाइल अपडेट नहुँदा, परीक्षण नगरिएको सर्भर-साइड परिवर्तनहरू, काम नलाग्ने सफ्टवेयर वा एन्ड्रोइडमा नयाँ ओएस अपडेट गलत भएको कारण हुनसक्छ ।

यस्तै केहीले खराब नियतले आफ्नो क्याश र डेटामा प्रयोगकर्ताको संवेदनशील जानकारी स्टोर गर्न सक्छन् । यस्तो अवस्थामा भने आफ्नो सुरक्षालाई हेर्दै यी दुवैलाई खाली गर्नु अर्थपूर्ण हुन्छ ।

कस्तो समयमा क्याश खाली गर्नुपर्छ ?

क्याश खाली गर्नु कुनै स्थायी समाधान होइन । यद्यपि मोबाइलको पर्फर्मेन्स बढाउन प्रयोग गरिने विभिन्न उपायमध्ये यो पनि एउटा हुनसक्छ ।

त्यसैले यसलाई दैनिक दिनचर्या जस्तै गरी खाली गरिरहनु भन्दा एकदमै आवश्यक हुँदा मात्र क्याश खाली गर्दा बढी उपयोगी हुन्छ । 

गुगल पिक्सेल फोनमा क्याश र डेटा कसरी खाली गर्ने ?

– सेटिङमा जानुहोस् र एप्समा ट्याप गर्नुहोस् ।

– तपाईंले भर्खरै खोलिएका एपको सूची देख्नुहुनेछ । त्यसपछि ‘सि अल’ अप्सनमा ट्याप गर्नुहोस्, जहाँ फोनमा इन्स्टल भएका सबै एप देखिनेछ ।

– आफूले क्याश हटाउन चाहेको एपमा ट्याप गर्नुहोस् र ‘स्टोरेज एण्ड क्याश’ अप्सनमा ट्याप गर्नुहोस् ।

– त्यसपछि स्क्रिनमा दुईवटा अप्सन आउछन्; क्लियर क्याश र क्लियर स्टोरेज । दुवैमा ट्याप गर्नुहोस् र केही समय पर्खनुहोस् ।

सामसङ ग्यालेक्सी फोनमा क्याश र डेटा कसरी खाली गर्ने ?

– सेटिङमा जानुहोस् ।

– एप्समा ट्याप गर्नुहोस् ।

– एपको नाममा ट्याप गर्नुहोस् ।

– क्लियर डेटा र क्लियर क्याशमा ट्याप गर्नुहोस् ।

वनप्लसमा क्याश र डेटा कसरी खाली गर्ने ?

– सेटिङमा गएर ‘एप्स एण्ड नोटिफिकेशन’ अप्सनमा ट्याप गर्नुहोस् ।

– ‘सि अल’ अप्सनमा ट्याप गर्नुहोस् ।

– एपमा ट्याप गर्नुहोस् र ‘स्टोरेज एण्ड क्याश’ अप्सनमा ट्याप गर्नुहोस् ।

– त्यसपछि स्क्रिनमा दुईवटा अप्सन आउँछन्; क्लियर क्याश र क्लियर स्टोरेज । दुवैमा ट्याप गर्नुहोस् ।

साओमीका फोनमा क्याश र डेटा कसरी खाली गर्ने ?

– सेटिङमा गएर ‘एप्स’ अप्सनमा ट्याप गर्नुहोस् ।

– एप्स म्यानेजमेन्टमा ट्याप गर्नुहोस् ।

– क्याश हटाउन चाहेको एपमा ट्याप गर्नुहोस् र स्टोरेजमा ट्याप गर्नुहोस् ।

– स्क्रिनको अन्तिममा भएको ‘क्लियर डेटा’ अप्सनमा ट्याप गर्नुहोस् ।

– ‘क्लियर अल डेटा’ र ‘क्लियर क्याश’ अप्सनमा ट्याप गर्नुहोस् ।

एप सफा गर्ने अन्य एप किन प्रयोग नगर्ने ? 

यदि तपाईं फोनको पर्फर्मेन्सलाई बढाउने दाबी गर्ने एप प्रयोग गर्दै हुनुहुन्छ भने, यो काम रोक्नुहोस् र यसले तपाईं युजर डेटा लिने बाहेक अन्य केही काम गरेको छ कि छैन भनेर मूल्याङ्कन गर्नुहोस् ।

प्रयोगकर्ताको गोपनीयता अथवा साइबर सुरक्षाको विषयलाई लिएर पनि यस्ता एपको प्रयोगमा आशंका छ । यस्ता एपमा प्राय अन्य एपको विज्ञापन हुने गर्छ, अथवा यस्ता एपले तपाईंको मोबाइलमा भएका विभिन्न डेटाको पहुँचको लागि अनुमति चाहन्छ ।

यद्यपि प्ले स्टोरमा केही वैधानिक एपहरू जस्तै एसडी मेड अथवा गुगलको फाइल्स जस्ता एप पनि छन्, जसले तपाईंको फोनमा कुन चिजले कति स्थान ओगटेको छ भनेर देखाउन मद्दत गर्छ । ता कि तपाईंले आफ्नो आवश्यकता अनुसार स्टोरेज व्यवस्थापन गर्न सक्नुहुन्छ । 

के यसका लागि दीर्घकालीन समाधान छ ?

एन्ड्रोइडमा डेटा गर्ने विकल्प हुनु नै एउटा उपयोगी सुविधा हो । अथवा हामीले गर्नसक्ने अर्को काम भनेको क्लाउड स्टोरेज प्रयोग गर्ने । आवश्यकता अनुसार क्लाउडमा फाइलहरू ब्याकअप गर्ने र चाहिने बेला फेरि डाउनलोड गर्ने ।

यद्यपि इन्टरनेट पहुँचको कारण यो विकल्प सधैको लागि उपयोगी नहुन सक्छ । त्यसैले हाललाई पुरानै शैली; आफैंले आवश्यकता अनुसार हटाउने नै उपयोगी हुन्छ । अथवा आशा गर्न सक्छौं कि, गुगलले भविष्यमा यो समस्याको समाधान पनि ल्याउनेछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५