काठमाडौं । नेपालमा आयात हुने इन्टरनेटको अन्तर्राष्ट्रिय ब्यान्डविथका लागि नेपाल टेलिकमले महँगो रकम खर्च गर्ने गरेको पाइएको छ । इन्टरनेट सेवाप्रदायक कम्पनी भायनेटको तुलनामा टेलिकमले आयात गर्ने इन्टरनेट ब्यान्डविथ दोब्बर महँगो छ ।
९० जीबीपीएस अन्तर्राष्ट्रिय ब्यान्डविथ आयात गर्ने भायनेटले त्यसका लागि प्रति एमबीपीएस मासिक ३.६ अमेरिकी डलर मात्र खर्चिने गरेको छ । तर ११२.३० जीबीपीएस ब्यान्डविथ आयात गर्ने नेपाल टेलिकमले भने प्रति एमबीपीएसका लागि ७.५ अमेरिकी डलर खर्चिने गरेको छ ।
यस बाहेक एनसेल (प्रति एमबीपीएस ५.४१ डलर), ब्रोडलिङ्क ५.७२ डलर र अन्तिममा मर्कन्टाइल (प्रति एमबीपीएस २२.६० डलर) रहेको छ । मर्कन्टाइलले अप्टिकल फाइबरमार्फत नभई स्याटलाइट मार्फत ब्यान्डविथ आयात गर्ने भएकाले कम्पनीको रेट महँगो देखिएको हो ।
नेटवर्क सेवाप्रदायकको रुपमा रहेका कम्पनीहरूले विदेश स्थित विभिन्न बिक्रेताबाट अन्तर्राष्ट्रिय ब्यान्डविथ नेपाल आयात गर्दै आएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार यसरी अन्तर्राष्ट्रिय ब्यान्डविथ आयात गर्ने नेटवर्क सेवाप्रदायक कम्पनीको सङ्ख्या १२ ओटा रहेको छ ।
यसरी ब्यान्डविथ आयात गर्ने धेरैजसो नेटवर्क सेवाप्रदायक स्वयम् इन्टरनेट सेवाप्रदायकको रुपमा समेत रहेका छन् । अन्य इन्टरनेट सेवाप्रदायकले भने यिनै नेटवर्क सेवाप्रदायकबाट ब्यान्डविथ खरिद गरी इन्टरनेट सेवा उपलब्ध गराउँदै आएका छन् ।