close

स्थापनाको ३ वर्षमै भारतको डिजिटल भुक्तानीलाई पुनर्परिभाषित गरेको भारत पेको कथा

टेकपाना टेकपाना

माघ २८, २०७८ २०:२६

स्थापनाको ३ वर्षमै भारतको डिजिटल भुक्तानीलाई पुनर्परिभाषित गरेको भारत पेको कथा

काठमाडौं । जब तपाईँ कुनै नयाँ चिज गर्न खोज्नुहुन्छ, बजारमा त्यसले राम्रो उपस्थिति जनाउन सक्छ वा सक्दैन भन्नेमा तपाईँ आफैँ दुबिधामा पर्नुहुन्छ । हरेक सफलताको कथाको पछाडि कयौँ असफलताका कथाहरू हुने गर्छन् ।

जुन २०१८ मा भारत पेको सुरुवात भयो । त्यसपछि अशनीर ग्रोभरले अहिलेसम्म पछि फर्किएर हेर्नु परेको छैन । अशनीर ग्रोभर शार्क ट्याङ्क इन्डिया पहिलो सिजनका शार्क हुन् ।

भारत पेको संस्थापक तथा प्रबन्ध निर्देशक उनको यात्राको सुरुवात दिल्लीबाट भयो । उनी आफूलाई ‘दिल्ली बोई’ भन्छन् । दिल्लीको मध्यम वर्गीय परिवारमा जन्मेका उनको  पढाइ पनि दिल्लीमै भयो ।

अहिले काम पनि दिल्लीमै गरिरहेका छन् । आमा शिक्षिका थिइन् । बुबा चार्टर अकाउन्टेन्ट । उनको परिवारमा कोही जागिरे थिए, सेवाको क्षेत्रमा थिए अथवा भनौँ पेसाकर्मी थिए । परिवारमा कोही पनि व्यापार व्यवसायमा थिएनन् । उनी नर्सरी देखि १२ कक्षासम्म एपीजे स्कुलमा पढे ।

कक्षा १२ पछि उनले बुबाको अफिसमा सीए बनेर रहन नसक्ने महसुस गरे  । त्यसपछि केही फरक गरेर देखाउने अठोट लिए र इन्जिनियरिङतर्फ लागे । सन् २००० मा आईआईटी इन्डियामा भर्ना भएका उनले २००४ मा त्यहाँबाट स्नातक पूरा गरे ।

त्यसैबीच ‘स्टुडेन्ट एक्सचेन्ज प्रोग्राममा’ उनी दुई वर्षका लागि फ्रान्स गए । जसका लागि फ्रेन्च दुतावासले उनलाई छात्रवृत्ति पनि दिएको थियो । यसरी उनले आफ्नो खर्च आफैँ धाने । फ्रान्सबाट फर्किएपछि अशनीर इन्डियन इन्स्टिच्युट अफ म्यानेजमेन्ट अहमदाबादमा छनौट भए र उनले २००६ मा त्यहाँबाट एमबीए डिग्री पुरा गरे ।

सोही वर्ष उनी कोर्टक इन्भेष्टमेन्ट बैंकमा जोडिए । जुन अशनीरको पहिलो जागिर थियो । उक्त बैंकमा उनले सात वर्ष बिताए । दश ओटा डिल पूरा गरे । जसको कुल मूल्य तीन अर्ब डलर अर्थात करिब पौने छ खर्ब रुपैयाँको थियो ।

सात वर्ष कोर्टक इन्भेष्टमेन्ट बैंकमा काम गरेपश्चात् उनले केही फरक गर्नपर्छ भन्ने सोचे अनि अमेरिकन एक्सप्रेस इन्डियामा आवद्ध भए । जसबाट उनले अन्य भुक्तानी प्रदायक कम्पनीमा लगानी गर्थे ।

त्यसक्रममा उनले पे-टीएम,  मूभी-क्विक, पाइन ल्याब जस्ता कम्पनीलाई राम्रोसँग नियाल्ने मौका पाए । ती कम्पनीहरूलाई लगानीका लागि कत्तिको योग्य छन् भन्ने हिसाबले उनले लेखाजोखा गरे । यसरी दुई वर्ष त्यहाँ बिताए ।

त्यहाँ छँदा उनले मुभी क्विकको सिरिज बीमा लगानी पनि गरे । त्यस समय उनले सयभन्दा बढी पेमेन्ट कम्पनीका संस्थापकहरूसँग कुराकानी गरे । उनीहरू के गर्न चाहन्छन्, त्यो बुझे र भुक्तानी कसरी चल्छ भन्ने विषयलाई गहिरोसँग हेरे । साथै फिनटेक भारतमा कसरी चल्छ भन्ने विषयमा पनि अध्ययन गरे ।

सन् २०१५ ताका अशनीरले उद्यमशीलताको पहिलो अवसर प्राप्त गरे । उनका साथी अरविन्दले ग्रोफर्स सुरु गरेका थिए । उनकै आग्रहमा अशनीर प्रमुख वित्तीय अधिकृत (सीएफओ) को रुपमा त्यसमा जोडिए । सन् २०१५ देखि २०१७ को मध्यसम्म उनी ग्रोफर्समै रहे ।

सन् २०१५ को सुरुवातमा सुरु भएको एउटा नयाँ कम्पनीमा २०१७ को मध्यसम्ममा उनले प्रतिदिन ३० हजारसम्म अर्डर ल्याए । उनले आफ्नो सबै जोश र जाँगर  ग्रोफर्सको सफलतामा खर्चिए । उनले आफू लामो समयसम्म उक्त कम्पनीमै रहने सोचेका थिए र त्यसलाई अझै उचाइमा पुर्‍याउन चाहन्थे ।

तर २०१७ मा उनले कम्पनीबाट बाहिरिनु पर्‍यो । जसलाई उनी आफ्नो जिन्दगीको महत्त्वपूर्ण पाठ ठान्छन् । अमेरिकन एक्सप्रेसमा भन्दा उनले त्यहाँ थोरै पारिश्रमिकमा काम गरिरहेको थिए । तैपनि ग्रोफर्सबाट धेरै कुरा सिक्ने मौका पाए । अशनीर आज एक सफल उद्यमीको रुपमा स्थापित भएका छन् ।

यसको श्रेय उनी ग्रोफर्स र आफ्नो साथी अरविन्दलाई दिन्छन् । त्यहाँ छँदा उनले एउटा स्टार्टअप कसरी चल्छ र संस्थापक हुनु भनेको के हो भन्ने कुरा सिके । त्यसपछि छ महिनादेखि एक वर्षसम्म अब के गर्ने भन्ने कुरा सोच्नमै संघर्षरत रहे ।

‘त्यतिबेला मैले बुझेँ कि, मैले आजसम्म पसलमा बसेर काम देखेको छैन । म औपचारिक शिक्षाको ढाँचाबाट आएँ,’ एनी भन्छन्, ‘फेरि ठूलाठूला कम्पनीको किनबेचमा लागेँ । त्यसपश्चात् बैंकमा नौ वर्ष काम गरें । साथै दुई वर्ष त मैले स्टार्टअपमा बिताएँ । तर एउटा त्यस्तो संस्थापक तथा प्रवर्द्धक जसले ग्राहकबाट पैसा कमाएर आफ्नो व्यवसाय चलाउँछ, त्यो कुराको अनुभव मसँग थिएन ।’

त्यसपछि उनी पीसी ज्वेलर्समा जोडिए । उक्त कम्पनीको आईपीओ आफैँले जारी गरेकाले उनी कम्पनीको बारेमा जानकार थिए । त्यहाँ उनी गरगहनाको व्यवसायमा सामेल थिएनन् । बरु उनी ‘गोल्ड लोन’ व्यवसाय बनाउने प्रयासमा जुटे । तर उनले ज्वेलरी बिजनेसलाई निकै नजिकबाट नियाले ।

उनी प्रत्येक छ महिनामा करोलबाग जाने गर्थे, जहाँ उनको अफिस थियो । त्यहाँ एउटा सामान्य पसलेले कसरी प्रतिकृया जनाउँछ, उसको मानसिकता कस्तो हुन्छ भन्ने कुरा उनले बुझे । सन् २०१८ को जुनमा उनको भेट शाश्वत र भाविकसँग भेट भयो । उनीहरू आईआईटी दिल्लीमा थिए ।

‘जब मैले उनीहरूलाई भेटेँ, तब मलाई थाहा भयो कि यिनले एकदमै राम्रो प्रविधि पहिचान गरेका छन् । जसबाट यूपीआईको क्यूआर कोड पसलमा राख्न सकिन्छ र पसलेले एउटै क्यूआरकोड मार्फत धेरैभन्दा धेरै कम्पनीको भुक्तानी लिन सक्छन्,’ उनी भन्छन् ।

‘मलाई लाग्यो, यिनीहरू निकै नौजवान छन् । तर पनि यिनीहरूसँग मिलेर आफूले बुझेको पसलेको मानसिकता, ग्रोफर्सको सिकाइका साथै अमेरिकन एक्सप्रेसमा बटुलेको ज्ञानको सबै अनुभव र उनीहरूको प्रविधिलाई लिएर हामी एकदमै राम्रो बिजनेस चलाउन सक्छौँ ।’

यसरी सन् २०१८ को जुनमा भारत पेको सुरुवात भयो । त्यसबेला देखि आजसम्म आइपुग्दा अशनीरले कहिल्यै पछाडि फर्केर हेर्नु परेको छैन । ‘हामीले हरेक महिना धेरै वृद्धि गरेका छौँ र त्यसको कारण समान्य थियो ।,’ उनी भन्छन् ।

‘हामीले एउटा यस्तो उपाय निकालेका थियौँ कि पसलेहरूले भारत पेको क्यूआर प्रयोग गरेर निःशुल्क रुपमा भुक्तानी प्राप्त गर्न सक्छन् । हामी अहिलेको मितिमा हिन्दुस्तानको सबैभन्दा ठूलो क्यूआर पेमेन्ट कम्पनीको रुपमा रहेका छौँ । भारतमा हामीभन्दा अगाडि नै पेटीएम र फोनपे जस्ता स्थापित कम्पनी थिए । हामी ससाना पसल व्यवसायलाई साथमा लिएर उनीहरूभन्दा धेरै अघि बढिसकेका छौँ ।’

भारत पेले हाल दैनिक ५० लाखभन्दा बढी सङ्ख्यामा कारोबार गराइरहेको छ । अहिलेको समयमा वार्षिक रुपमा कम्पनीले एक लाख करोड भारु अर्थात १६ खर्ब रुपैयाँ भन्दा बढीको कारोबार भारत पेको सिस्टमबाट हुने गर्छ । जुन नेपालको वार्षिक बजेट भन्दा बढी हो । यद्यपि भारत पे केवल भुक्तानीमा मात्रै सीमित भएको छैन ।

क्यूआरकै आधारमा भारत पेले पसल व्यवसायले कतिसम्मको व्यवसाय गरिरहेका छन् भन्ने जानकारी जुटायो । त्यही क्यूआरको आधारमा कम्पनीले पसल व्यवसायको आम्दानीको आधारमा हेरेर ऋण उपलब्ध गराउन थाल्यो । आजको मितिमा भारत पेले साना पसलेहरूलाई ४८ अर्बभन्दा माथिको रकम ऋण प्रदान गरिसकेको छ ।

‘यी तीन वर्ष कसरी बिते मलाई पत्तै भएन,’ अशनीर भन्छन्, ‘एकपछि अर्को गर्दै मानिसहरू जोडिँदै गए ।’ वास्तवमा भुक्तानीको व्यापार भनेको विश्वासको व्यापार हो । यदि तपाईं कसैको पैसा लिनु हुन्छ भने उसमा तपाईँप्रति भरोसा हुन जरूरी छ ।

‘हामीले पछिल्लो तीन वर्षमा जुन प्रविधिको विकास गरेका छौँ, त्यो यस्तो छ कि हरेक व्यक्तिलाई उसको पैसा सही समयमा प्राप्त हुन्छ । जब कुनै व्यक्तिले आफ्नो पैसा वर्षभरका ३६५ दिन आफ्नो पैसा सही समयमा पाइरहेको छ अर्थात तीन वर्षमा हजार पटक हामीले सही समयमा उसको भुक्तानी गर्न सफल भएका छौँ भने उनीहरूमा कम्पनीप्रति स्वतः  विश्वास बढेर गयो र हेर्दा हेर्दै भारत पे एउटा ब्रान्डको रुपमा स्थापित भयो ।’

भारत पेको लक्ष्य सामान्य छ । तिनै साना पसल व्यवसायको साथमा जुटिरहने र उनीहरूलाई अझै ऋण उपलब्ध गराउने । ताकि उनीहरू अझै ठूलो व्यापार गर्न सकुन् । साथै अमेजन र फ्लिपकार्ट जस्ता ठूला अनलाइन माध्यमसँग प्रतिस्पर्धा गर्न सकून् ।

किनकी आज पनि भारतको ९० प्रतिशत खुद्रा व्यापार साना पसल व्यवसायमै छ । तर ठूला कम्पनीसँग भिड्न उनीहरूसँग पूँजीको अभाव छ । त्यसैले उनीहरूलाई पूँजी उपलब्ध गराउनुलाई आफूहरूको उद्देश्य भएको अशनीर बताउँछन् । ताकि उनीहरू ठूला कम्पनीसँग प्रतिस्पर्धा गर्न सकून् ।

उद्यमशीलताको बारेमा बजारमा गलत धारणा रहेको उनको बुझाई छ । ‘मान्छेहरूलाई लाग्छ कि प्रविधि बनाएपछि  ग्राहक बनाउने, अलिअलि मार्केटिङ गर्ने, ब्रान्ड बनाउने र थोरै पैसा जम्मा गरेपछि बाँकी सबै आफैँ चलिहाल्छ,’ उनी भन्छन्, ‘तर एक उद्यमशील हुनुमा निकै धेरै संघर्ष छ ।  यो अति कठिन चिज हो । जसका लागि आफूले गरिरहेको कामप्रति दृढ विश्वास र निष्ठा चाहिन्छ ।’

यदि तपाईं ठूलो इन्टरप्रेनर बन्न चाहनु हुन्छ, बजारमा तपाईँको उद्यमसँग मिल्ने अरु कुनै चिज नहोस् । जब तपाईं केही नयाँ काम गर्न खोज्नुहुन्छ, तब आफूले गर्न खोजेको काम सफल होला कि नहोला भन्नेमा तपाईँ स्वयम्‌ उपर शंका गर्न थाल्नुहुन्छ  । बजारमा चल्ने हो कि होइन ?

त्यसैले अशनीर उद्यमीहरूलाई आफ्नो लक्ष्यमा स्पष्ट हुन सुझाव दिन्छन् । संस्थापकको ट्याग लगाउन कुनै डक्टरको डिग्री प्राप्त गरेजस्तो नभएको उनको दृढ विश्वास छ ।

‘हिजोआज म यो त्यो चिजको संस्थापक हुँ भन्नु फेसन जस्तै बनेको छ । संस्थापक लेख्दैमा तपाईंको विशेषज्ञता बढेर जाने होइन,’ उनी भन्छन्, ‘यो कुनै दक्षता होइन । संस्थापक तपाईँ त्यतिखेर मात्र बन्न सक्नुहुन्छ, जब तपाईँले गरेको बिजनेस सही कारणका लागि होस् । केवल देखावटीका लागि गरेको जस्तो नहोस् ।’

उनी हरेक इन्टरप्रेनरलाई एउटै कुरामा जोड दिन्छन् कि सोख र बेबकुफीको लागि बजारले कहिल्यै मूल्य चुकाउँदैन अथवा पैसा तिर्दैन । अंग्रेजीमा ‘मार्केट नेभर पे फर योर इनइफिसर्न्सी ओर एक्ट्राफिसिएन्सी’ भन्ने भनाई पनि छ । यदि यसलाई राम्रोसँग बुझेर अनुशासनको पालना गरेर अघि बढ्नुहुन्छ भने तपाईँ धेरै राम्रो उद्यमी बन्न सक्नुहुनेछ ।

अहिले भारतमा इन्टरप्रेनरसिप लहर चलेको छ । दश वर्षअघि खुलेका कम्पनीहरू पब्लिक बन्दै गइरहेका छन् । उनीहरू आईपीओ निकालिरहेका छन् । ती कम्पनीका सेयरहोल्डर पनि बढिरहेका छन् ।

‘सबैले बुझेका छन् कि यस्ता बिजनेस थाल्नुपर्छ, जसको आईपीओ समेत जारी गर्न सकियोस् । यसका कारण अहिले हिन्दुस्तानमा नयाँ आत्मविश्वासको विकास भइरहेको छ । सबैलाई उद्यमी बन्नुपर्छ भन्ने भावना जागृत भएको छ । जुन एकदम राम्रो लहर पनि हो ।’

तर कसरी लगानीकर्तासम्म पुग्ने र लगानीका लागि उनीहरूलाई कसरी मनाउने भन्ने विषयमा धेरैलाई ज्ञान छैन । किनकी यी जतिपनि गतिविधि छन्, सबै बन्द ढोका भित्र हुने गर्दछन् । शार्क ट्याङ्क एउटा यस्तो मञ्च हो, जहाँ धेरै राम्रा बिजनेस आइरहेका छन् र शार्कहरूलाई पिच गरिरहेका छन् ।

‘हामी उनीहरूमा पैसा लगानी गर्ने कि नगर्ने जवाफ दिइरहेका छौँ । यसबाट धेरै शिक्षा मिल्न सक्छ,’ उनी भन्छन्, ‘बजारमा एउटा भ्रम पनि छ । एउटा सुरु गरौँ, आईटीको डिग्री पूरा गरेपछि प्रविधिको एकजना मान्छे साथमा लिएपछि यत्तिकै मल्टी बिलियन डलर कम्पनी बनिहाल्छ भन्ने छ । यसलाई पनि परास्त गर्नु पर्छ ।’

हरेक सफलताको कथा पछाडि थुप्रै असफलताका कथाहरू हुन्छन् । ‘तसर्थ तपाईँले के गर्ने भन्ने कुरा जान्न जरूरी त छ नै, त्यो भन्दापनि के चाहिँ नगर्ने भन्ने कुरा झनै राम्रोसँग बुझ्न आवश्यक छ,’ उनी भन्छन् ।

शार्क ट्याङ्कको माध्यमबाट एउटा उद्यमी बन्नु भनेको के हो, एक उद्यमीले कस्तो अपेक्षा राख्नुपर्छ लगानीकर्ताले तपाईँलाई कसरी मूल्याङ्कन गर्छन् भन्ने विषयमा पूर्णतः जानकारी पाउन सकिन्छ । सम्पूर्ण शिक्षाका साथमा तपाईंले मनोरञ्जन पनि मिल्नेछ ।

-जोशटकमा भारत पेका प्रबन्ध निर्देशक तथा सहसंस्थापक अशनीर ग्रोभरले दिएको प्रवचनमा आधारित सामग्री

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२