गणेश सुवेदी/- काठमाडाैं । पछिल्ला केही वर्षलाई हेर्ने हो भने मोबाइल फोन हाम्रो जीवनको अत्यावश्यक वस्तु बनेको छ । कुराकानी गर्नेदेखि लिएर सञ्चार तथा मनोरञ्जनकाे साधन यही मोबाइल बनेकाे छ । त्यसैले मोबाइल किन्दा जो कोही बुझेर किन्न चाहन्छन् ।
क्यामेरा, ब्याट्री सँगसँगै आजकाल मानिसको ध्यान मोबाइलको प्रोसेसरमा पनि जान थालेको छ । किनकि उच्च ग्राफिक्समा गेमिङ गर्न, एटके (8K) मा भिडिओमा रेकर्ड गर्नुका साथै धेरै काम एकै पटक सम्पन्न गर्न प्रोसेसरको महत्वपूर्ण भुमिका रहन्छ
विशेषगरी अहिले आफ्नो मोबाइलमा गेम खेल्न रुचाउने मानिसहरु प्रोसेसरको बारेमा धेरै सतर्क रहेको पाइन्छ । आज हामी गेमिङका लागि सबैभन्दा राम्रो प्रोसेसरको बारेमा कुरा गर्दैछौँ ।
प्रोसेसरलाई मोबाइलको मुटु र मस्तिष्क मानिन्छ । तपाईंको मोबाइल ढिला चल्नु, ह्याङ हुनुमा पनि प्रोसेसरलाई नै कारक मानिन्छ । मानिसहरुको आवश्यकता र टेक्नोलोजी बढेसँगै मोबाइल तथा प्रोसेसरहरु पनि राम्रा तथा शक्तीशाली आउन थालिसकेका छन् ।
बजारमा उपलब्ध प्राय एन्ड्रोइड फोनमा क्वालकम र मिडियाटेकका प्रोसेसर छन् । एप्पल, सामसङ र ह्वावेले पनि प्रोसेसर बनाउँछन् । तर उनीहरुले आफ्नो मोबाइलको लागि मात्र प्रयोग गर्छन् ।
यस सूचीमा अहिले गुगल पनि थपिएको छ । गुगलले आफ्नो गुगल टेन्सर चिप सार्वजनिक गरेको छ, जुन अहिले गुगल पिक्सेल ६ प्रो मोबाइलमा उपलब्ध छ ।
सामसङले कहिलेकाहिँ आफ्नो एक्सिनस प्राेसेसर अन्य फाेनका लागि पनि उपलब्ध गराउँछ । अब कुरा गरौँ अहिले गेमिङका लागि सबैभन्दा राम्रो प्रोसेसर कुन छ त ।
एन्ड्रोइडका लागि स्न्यापड्रागन ८८८ प्लस अहिलेसम्मकै राम्रो प्रोसेसर मानिन्छ । यसबाहेक स्न्यापड्रागन ८८८ र स्न्यापड्रागन ८ जेन १ लाई पनि राम्रो मानिन्छ ।
सामसङको एक्सिनस २१ प्रोसेसर भएका मोबाइलले पनि स्न्यापड्रागन ८८८ प्लस भएका मोबाइललाई टक्कर दिएको देखिन्छ । स्न्यापड्रागन ८८८ प्लस फाइभ नानो मिटर टेक्नोलोजीमा आधारित छ, जसले गर्दा ब्याट्री खपत कम हुन्छ ।
यसले फाइभजी सपाेर्ट गर्छ । यसको क्लक रेटको बारेमा कुरा गर्नुपर्दा १८०० देखि ३००० मेगाहर्ज रहेको छ । यो प्रोसेसरमा आठवटा कोर रहेका छन्, जसले यसलाई अझै शक्तिशालि बनाउँछ ।
यो प्रोसेसर भिभो एक्स ७० प्रो प्लस (Vivo X70 pro+),असुस रग फाइभ एस प्रो (Asus ROG 5S Pro)जस्ता मोबाइलमा उपलब्ध छन् ।
आईफोनका लागि सबैभन्दा राम्रो प्रोसेसरको कुरा गर्नुपर्दा एप्पल ए१५ बायोनिक लिन सक्छौँ । यो पनि फाइभ नानो मिटर टेक्नोलोजीमा आधारित छ । यसमा छवटा कोर रहेका छन्, जसमध्ये दुई धेरै नै शक्तिशालि छन्, जसलाई ‘एभालन्च’ भनिन्छ ।
यसले ३२२३ मेगाहर्जका काम गर्छ र यसमा रहेका बाँकी चारवटा कोरहरु ब्याट्री बचाउने खालका छन्, जसलाई ‘ब्लिजार्ड’ भनिन्छ । यसले १८२० मेगाहर्ज सपाेर्ट गर्छ ।
यसमा १५८०० मिलियन टान्जिस्टर प्रयोग गरिएकाे छ । यसको क्लक रेट ० देखि ३२३० मेगाहर्ज रहेको छ ।
यसबाहेक एप्पल ए१४ बायोनिक चिप प्रयोग भएका आईफोन पनि राम्रा मानिन्छन् । यो प्रोसेसर आईफोन १३ मिनी, आईफोन १३, आईफोन १३ प्रो, आईफोन १३ प्रो म्याक्समा प्रयोग गरिएको छ ।
माथि उल्लेख गरिएका प्रोसेसर भएका मोबाइल राम्रा पनि छन्, महङ्गा पनि छन् ।
त्यसैले तपाईंले आफ्नो आवश्यकतालाई हेरेर सामान्यदेखि राम्राे प्रोसेसर भएका मोबाइल खरिद गर्न सक्नुहुन्छ ।