काठमाडौं । तपाईँको जिमेल अथवा ईमेलमा यति धेरै मेलहरू होलान्, जुन तपाईँले कहिल्यै हेर्नु नै भएको छैन । वा भनौँ तपाईँलाई त्यसको आवश्यकता नै हुँदैन ।
जसलाई हामीले केही मतलब नै नगरी यत्तिकै छाडिरहेका हुन्छौँ । हामीले बेवास्ता गरेका तिनै ईमेलले वातावरणीय प्रदुषण बढाइरहेका हुन्छन् । आज हामी ईमेलले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कसरी वातावरण प्रदुषण गरिरहेका हुन्छ र त्यसलाई कसरी कम गर्न सकिन्छ भन्ने विषयमा चर्चा गर्दैछौँ ।
के तपाईँले कहिल्यै सोच्नु भएको छ, हाम्रो जिमेल अथवा ईमेलमा आएका मेलहरू कहाँ भण्डारण गरिएका हुन्छन् ? वास्तवमा यी ईमेलहरूलाई विश्वका विभिन्न स्थानमा रहेका डेटा सेन्टरमा भण्डारण गरिएको हुन्छ ।
त्यस्तै यिनै सर्भर चलाउनका लागि कैयौँ विद्युत खपत हुने गर्छ । आज विश्वका प्रायः धेरै ठाउँमा डेटा सेन्टरहरू सञ्चालन गर्न आवश्यक ऊर्जा इन्धनबाट नै उत्पादन हुने गर्छ । जसले गर्दा वायु प्रदुषण अत्यधिक हुने गर्छ ।
यसबाट के बुझ्न सकिन्छ भने प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा ईमेलले वायु प्रदुषण बढाइरहेको छ । त्यही ईमेलले गर्दा कार्बनडाइअक्साइड उत्पादन हुने गर्छ । यसलाई सन्तुलनमा राख्ने बोट बिरुवा दिनानुदिन काटिँदै जानुले वातावरणमा नकारात्मक असर परिरहेको छ ।
एक अध्ययनअनुसार एउटा स्पाम मेल अथवा मेसेज न्यूनतम ०.३ ग्राम कार्बनडाईअक्साइड उत्सर्जनको कारक बन्छ । सामान्य ईमेलले करिब ४ ग्राम कार्बनडाइअक्साइड ग्यास उत्सर्जनको भागिदारी हुन्छ ।
त्यस्तै कुनै फाइल जोडिएको ईमेलले करिब ५० ग्राम कार्बनडाइअक्साइड ग्यास उत्सर्जन गर्ने अध्ययनमा पाइएको छ । यसो भन्दै गर्दा निकै सानो अङ्क जस्तो लाग्न सक्छ । एक अभिलेख अनुसार दिनमा ६० अर्ब स्पाम मेल पठाउने गरिन्छ ।
ती मेलको कुनै अर्थ नै हुँदैन । अथवा बिना अर्थका मेलको बाढीका कारण दैनिक १८ लाख किलो भन्दा बढी कार्बनडाइअक्साइड ग्यास उत्सर्जन हुने गर्छ ।
जुन ईमेलको केही अर्थ नै हुँदैन, त्यसैको कारण दैनिक लाखौं किलो कार्बनडाइअक्साइड उत्सर्जनलाई हाम्रो सानो प्रयासले नियन्त्रण गर्न सक्छ ।
१. अनावश्यक ईमेल डिलिट गर्नुहोस्
हाम्रो जिमेल अथवा ईमेलमा कैयौँ मेल भण्डारण भएका हुन्छन् । अथवा कैयौँ कम्पनीबाट अनावश्यक मेल आएका हुन सक्छन् । जसको हामीलाई कुनै अर्थ हुँदैन ।
सबैभन्दा पहिले केही समय लगाएर डिलिट गर्नुहोस् । यसले गर्दा तपाईंको जिमेलको स्टोरेज फुल हुनबाट त रोक्छ नै, सँगसँगै त्यसले गर्दा वातावरणमा हुने प्रदुषण कम समेत गर्न भूमिका खेल्छ ।
प्रदुषण कसरी कम हुन्छ बन्ने प्रश्न आउन सक्छ । तपाईँले आफ्नो जिमेल अथवा ईमेलबाट अनावश्यक मेल डिलिट गर्नुभयो भने ती मेल जुन सर्भरमा भण्डारण थिए त्यहाँबाट हट्छन् ।
यसबाट के बुझ्नुस् भने तपाईँ जस्ता लाखौँ जनाले त्यस्ता मेल डिलिट गर्दा विद्युत खपत निकै कम हुन्छ । विद्युत खपत कम गर्न सकियो भने यसले स्वतः इन्धन खपत कम गराउँछ । हाम्रो थोरै समयको कामले त्यति योगदान दिन सक्छ भने किन नगर्ने ?
२. स्पाम मेल डिलिट गर्नुहोस्ः
सामान्य मेलभन्दा स्पाममा हुने मेल बढी अनावश्यक हुन्छन् । तपाईँलाई त्यो मेलको कुनै आवश्यकता छैन भन्ने कुरा गुगलको एआई (आर्टिफिसियल इन्टेलिजेन्स- कृत्रिम बौद्धिकता) ले पत्ता लगाएर स्पाममा राख्ने गर्छ ।
तर, सधैँ स्मापमा हुने मेल तपाईँलाई आवश्यक नै हुँदैन भन्ने पनि होइन । कतिपय अवस्थामा अत्यावश्यक मेलहरू पनि स्पाममा हुने गर्छन् ।
त्यसैले सबैभन्दा पहिले स्पाममा आफूलाई आवश्यक हुने मेल पहिचान गरी त्यसलाई मुभ (अर्को ठाउँमा सार्ने काम) गर्नुहोस् । त्यसपछि त्यहाँ बचेका अन्य मेल छनौट गरेर एकैपटक डिलिट गर्न सक्नुहुनेछ ।
यसलाई दैनिक जसो जाँच गरेर हटाउँदा राम्रो हुन्छ । किनभने तपाईँको ईमेलमा अनावश्यक मेल धेरै नै आउन सक्छन् ।
३. अनावश्यक मेल आईडीलाई अनसब्सक्राइब गर्नुहोस्
तपाईँले जानअन्जानमा कतिपय वेबसाइट सब्सक्राइब गर्नु भएको हुनसक्छ । अथवा तपाईँलाई कुनै कम्पनीको मेल पहिले दैनिक जसो आवश्यक हुन्थ्यो होला । तर, अहिले आवश्यक नहुन सक्छ ।
त्यस्तो अवस्थामा ती साइटहरूलाई अनसब्सक्राइब गर्नु निकै आवश्यक हुन्छ । यसले गर्दा तपाईँलाई अनावश्यक मेल आउने छैनन् । साइट अनसब्स्क्राइब गर्नका लागि त्यो साइटबाट आएको मेलमा जानुहोस् ।
त्यसको अन्तिममा अनसब्स्क्राइब न्युयजलेटर भन्ने अप्सन देखिन्छ । यसरी अनसब्सक्राइब गर्दा के कारणले अनसब्स्क्राइब गर्न लाग्नु भएको हो भनेर कारण खुलाउन पर्ने हुन सक्छ ।
त्यसमा आफूलाई लागेको कुनै अप्सन छान्नुहोस् । त्यस्तै कतिपय कम्पनीले आफ्ना प्रमोसनल (विज्ञापन) ईमेल पठाइरहेका हुन्छन्, जसको हामीलाई आवश्यकता नै नहुन सक्छ ।
त्यसैले यस्ता वेबसाइटहरू पनि अनसब्स्क्राइब गर्नुहोस् । हाम्रा सामाजिक सञ्जालका प्रायजसो नोटिफिकेन ईमेलमा आइरहेका हुन्छन् ।
जुन नोटिफिकेसन हामीले सहजै सामाजिक सञ्जालका एपबाट देखिरहेका हुन्छौँ, तिनै नोटिफिकेसनलाई ईमेलको रूपमा हेरिरहन जरुरी छैन । त्यसैले सामाजिक सञ्जालबाट आउने त्यस्ता नोटिफिकेसनका ईमेल ब्लक गर्दा राम्रो हुन्छ ।
४. जङ्कमा भएका ईमेल डिलिट गर्नुहोस्
हामीले सामान्य ईमेलहरू अथवा स्पाममा रहेका ईमेल डिलिट गरी सकेपछि ती जङ्क अथवा ट्र्याशमा गएर बस्छन् । त्यसैले कतैबाट पनि मेल डिलिट गरी सकेपछि ३० दिनसम्म जङ्कमा रहने भएकाले तिनलाई हटाउन आवश्यक हुन्छ ।
तपाईँले जङ्कबाट ईमेल हटाएको खण्डमा मात्र विभिन्न सर्भरबाट ती मेलहरू हट्छन् ।