काठमाडौं । बागमती प्रदेश सरकारले आफ्नो क्षेत्रमा चल्ने गरी भित्रिने नयाँ ट्याक्सी अनिवार्य रुपमा विद्युतीय हुनुपर्ने व्यवस्था गरेको छ ।
प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालयले सार्वजनिक यात्रुबाहक विद्युतीय ट्याक्सी सेवाको गुणस्तर, सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मापदण्ड तयार पार्दै यस्तो व्यवस्था गरेको हो ।
प्रदेश मन्त्रालयका सचिव नेत्रप्रसाद सुवेदीले मापदण्ड स्वीकृत भएसँगै वैशाख १ देखि नै कार्यान्वयनमा आइसकेको बताए । ‘त्यसमा आवश्यक भाषागत शुद्धाशुद्धि र त्रुटीहरू सच्याउनुपर्ने पनि छ,’ उनले भने, ‘चाँडै त्यसलाई सच्याएर कार्यान्वयनमा अगाडि बढ्दै छौँ । सार्वजनिक यातायातको क्षेत्रमा यो आफैँमा नवीन कदम हो ।’
प्रदेशभित्र वातावरणमैत्री, गुणस्तरीय, सुरक्षित, मर्यादित तथा प्रभावकारी सार्वजनिक यात्रुवाहक सवारी साधन सञ्चालन गर्न खनिज ऊर्जामा आधारित सवारी साधनलाई विद्युतीय ट्याक्सी सेवामा रूपान्तरणका लागि यस्तो व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ । सरकारले काठमाडौं प्रदेश तथा बागमती प्रदेशमा चल्ने ट्याक्सीहरूको सङ्ख्या २० हजारमा सीमित गरेको छ ।
यस्तोमा पुराना ट्याक्सी धनीले त्यसको लगत कट्टा गरी त्यसको साटो नयाँ ट्याक्सी लिन सक्छन् । तर अब काठमाडौं उपत्यकामा पेट्रोलबाट चल्ने र उत्पादन मितिले २० वर्ष नाघेका सार्वजनिक यात्रुवाहक ट्याक्सीको लगतकट्टा गरी दर्ता गर्दा अनिवार्य रुपमा विद्युतीय ट्याक्सी दर्ता गर्नु पर्ने भएको हो ।
यति मात्र होइन, काठमाडौं उपत्यकामा ग्यासबाट सञ्चालित सार्वजनिक यात्रुवाहक सवारीलाई सवारी धनीको स्वेच्छाले लगत कट्टागरी पत्रु गरेमा एक पटकका लागि विद्युतीय ट्याक्सी सट्टा दर्ता सुविधा दिइने मापदण्डमा उल्लेख छ । काठमाडौं उपत्यकामा ग्यासबाट चल्ने तीन पाङ्ग्रे ट्याम्पो र चार पाङ्ग्रे ट्याक्सी सञ्चालित छन् ।
यस्ता हुनेछन्, विद्युतीय ट्याक्सी
प्रदेश सरकारले विद्युतीय ट्याक्सीको छतमा अनिवार्य रुपमा डिजिटल बोर्ड जडान गर्नुपर्ने प्रावधान राखेको छ । यसका साथै तोकिए अनुसारको मिटर जडान गरी भाडा भुक्तानीको व्यवस्था समेत मिलाउनुपर्ने मापदण्डमा उल्लेख छ ।
तर विद्युतीय माध्यमबाट नगद रहित भाडा भुक्तानी प्रणाली लागू भएपश्चात सोही अनुसारको भाडा भुक्तानी व्यवस्था मिलाउनुपर्नेछ । प्रदेश सरकारले विद्युतीय ट्याक्सीलाई साधारण ट्याक्सी र विशेष ट्याक्सी गरी दुई समूहमा वर्गीकरण गरेको छ ।
विद्युतीय ट्याक्सीको स्पेसिफिकेसन समेत साधारण र विशेष गरी दुई भागमा विभाजन गरिएको छ । जसमा साधारण ट्याक्सी पाँच सिट क्षमताको हुनुपर्नेछ र ब्याट्री क्षमता २० किलोवाट आवर वा त्यसभन्दा माथि हुनुपर्नेछ ।
जसमा ब्याट्री कुलर सिस्टम सहितको लिथियम आयन ब्याट्री हुनुपर्नेछ । सेडान बडी अनिवार्य गरिएको साधारण ट्याक्सीको ग्राउन्ड क्लियरेन्स १७० एमएम वा त्यसभन्दा माथि हुनुपर्नेछ ।
त्यसैगरी ड्राइभर एयरब्याग, जीपीएस सिस्टम, एबीएस, पछिल्लो भागमा क्यामेराका साथै २१० किलोमिटर वा त्यसभन्दा बढीको रेञ्ज निर्धारण गरिएको छ ।
अर्कोतर्फ विशेष ट्याक्सी अर्थात डिलक्स ट्याक्सीका लागि सिट क्षमता पाँच देखि सात जना, ब्याट्री क्षमता ४० किलोवाट आवर वा त्यसभन्दा माथिको ब्याट्री कुलर प्रविधि सहितको लिथियम आयन ब्याट्री हुनुपर्नेछ ।
यसका लागि सेडान र भ्यान दुवै बडीलाई मान्यता दिइनेछ भने यसको ग्राउन्ड क्लियरेन्स १७५ एमएम वा त्यसभन्दा माथि हुनुपर्नेछ ।
साथै दुई ओटा एयर ब्याग, जीपीएस सिस्टम, २७५ किलोमिटर वा त्यसभन्दा माथिको रेञ्ज, एबीएस र ईबीडी ब्रेकिङ सिस्टम पनि अनिवार्य गरिएको छ । साथै पार्किङ सेन्सर, पछाडि हेर्न सकिने क्यामेरा, एसी र साउन्ड सिस्टम समेत हुनुपर्नेछ ।