close

वनप्लसको नयाँ फाइभजी स्मार्टफोन ‘नोर्ड टु टी’

हरिजङ्ग थापा हरिजङ्ग थापा

जेठ २२, २०७९ १८:०

वनप्लसको नयाँ फाइभजी स्मार्टफोन ‘नोर्ड टु टी’

काठमाडाैं । ‘वनप्लस नाेर्ड टु टी’ (Oneplus Nord 2T) विश्वबजारसँगै नेपालमा पनि उपलब्ध भएकाे छ । नेपालमा आइपुग्ने बित्तिकै मेरो हातमा परेको यो फोन मैले चलाउन थालेको एक हप्ताभन्दा बढी भएको छ ।

आज म ‘वनप्लस नाेर्ट टु टी’ चलाउँदाको आफ्नो अनुभव शेयर गर्दैछु, जसबाट फोन किन्ने वा नकिन्ने, निर्णय लिन तपाईंलाई सजिलो हुनसक्छ ।

याे बजेटको हिसाबले मिडरेञ्ज फोन हो, जसमा नाेर्ड टुको तुलनामा थप केही अपडेट पाउन सकिन्छ । अपरेटिङ सिस्टम अपडेटेड भर्सन छ भने चिपसेट पनि नयाँ नै राखिएको छ ।

नाेर्ड टुमा मिडियाटेक डाइमेन्सिटी १२०० थियो भने यसमा १३०० छ, जसले पर्फर्मेन्समा नाेर्ड टु टीलाई अझ अब्बल बनाएको छ ।

त्यस्तै चार्जिङ क्षमता पनि ६५ वाटबाट बढाएर ८० वाट दिइएको छ । अरु कुरामा भने नाेर्ड टुभन्दा नाेर्ड टु टीमा खासै फरक छैन । लुक्समा चैं यी फाेनबीच निकै फरक देखिन्छ ।

नाेर्ड टु टीको क्यामेरा सेटअपले नै फोनलाई अलि फरक देखाएको छ । स्क्वायर शेपभित्र दुईवटा सर्कलमा तीनवटा क्यामेरा छ । मुख्य क्यामेरा माथिपट्टीको हो भने तलको सर्कलभित्र वाइड र मोनो लेन्स छ ।

त्यस्तै सानो सर्कल सेपमा फ्ल्याश लाइट र सेन्सर पनि देख्न सकिन्छ । यो क्यामेरा सेटअप अलि युनिक नै छ ।

यसलाई म आर्कषक त भन्दिनँ, तैपनि यो युनिकनेस ‘Eye Catchy’ भने छ । यो फोन Jade Fog कलरको फोन हो, अर्थात् मिन्ट कलरभन्दा पनि हुन्छ । अर्को Gray Shadow कलरमा फोन किन्न पाइन्छ ।

अगाडिको स्क्रिन त एमाेलेड भइहाल्यो । पछाडिपट्टि पनि ग्लासले कभर गरिएको छ । त्यसैले कभर नलगाई बोक्दा Fingerprint हरु देखिन्छ ।

तर फोनसँगै एउटा कभर पनि आउँछ, जसले यो समस्या स्वत: समाधान गरिदिन्छ । फोनको बीचको भाग प्लाष्टिक मेट्रियलबाट बनेको हो, जसको राइट साइडमा हेर्ने हो भने पावर बटनसँगै ‘अलर्ट की’ पनि दिइएको छ ।

‘अलर्ट की’ प्रयाेग गरी फोनलाई स्क्रिन टच नै नगरी भाइब्रेट वा साइलेन्ट मोडमा लैजान सकिन्छ ।

लेफ्ट साइडमा हेर्ने हो भने अधिकांश फोनमा हुनेजस्तै भल्युम कन्ट्रोल बटन छ । तलपट्टि सिम ट्रे छ, जसमा दुईवटा सिममात्रै राख्न मिल्छ ।

स्टोरेज बढाउन मिल्ने सुविधा यो फोनमा उपलब्ध छैन ।

त्यसपछि माइकसँगै टाइप-सी पोर्ट र स्पिकर पनि यही साइडमा छ ।

फोनमा कुरा गर्दा सुनिने स्पिकरले यो स्पिकरको जोडीको रुपमा काम गर्दो रहेछ, जसले गर्दा अडियो पनि राम्रो सुनिन्छ । तर, अडियो ज्याक पोर्ट त फोनमा छैन नै, साथमा त्यसको लागि एडेप्टर पनि उपलब्ध गराइएको छैन ।

फोनको डिस्प्ले ६.४ इन्चको छ, जसको रेजाेलुसन फुल एचडी प्लस हो । एमेलेड डिस्प्लेसँगै HDR10+ Certified पनि भएकाले यो फोनमा मुभी वा म्युजिक/भिडिओहरु निकै राम्रो देखिन्छ ।

अझै राम्रो कलरको लागि कलर बुस्ट गर्ने अप्सन पनि यसमा उपलब्ध छ । यो फिचर अन गर्दा भिडिओ त राम्रो देखिन्छ, तर ब्याट्री भने अलि चाँडो सकिनसक्छ ।

यसको अलवा आफू अनुकूल Screen Color Mode समेत छान्न पनि मिल्छ । डिस्प्ले ब्राइट नै छ । लाइट सेन्सर राम्रो भएकाले होला, अटो ब्राइटनेसले निकै मजाले काम गर्छ, म्यानुअल्लै चलाउनै पर्दैन ।

तर बजेट फोनले समेत १२० हर्ज रिफ्रेस रेट दिन थालिसकेको अवस्थामा Nord 2T ले ९० हर्जको रिफ्रेस रेटमात्रै दिएको छ, जुन चाहिँ यसको कमजोर पक्ष हो ।

तर एमोलेड स्क्रिनसँगै अपडेटेड अपरेटिङ सिस्टम भएकाले फोन चलाउँदा स्मुथ नै फिल हुन्छ । स्क्रिनको सुरक्षाको लागि कर्निङ गाेरिल्ला ग्लास फाइभ राखिएकाले अलि ढुक्क हुन सकिन्छ ।

फोनमा Mediatek Dimensity 1300 Chipset प्रयोग गरिएको छ । यसले Mediatek HyperEngine 5.0 Gaming technologies Support गर्छ । गेमिङ अनुभवचाहिँ अझै बेटर पाउन सकिन्छ ।

Nord 2T Android 12 र OxygenOS 12.1 मा अपरेटिङ सिस्टममा आधारित छ, जुन छिटो त छँदैछ, युजर इन्टरफेस पनि छरितो छ । फोनलाई आफ्नोपन दिनको लागि Widget Customize गर्ने थुप्रै अप्सन उपलब्ध छन् ।

Always On Display लाई नै हामी युनिक बनाउन सक्छौं । आफ्नै फोटोलाई क्यानभासको रुपमा परिवर्तन गरेर डिस्प्लेलाई Personalised गर्न पनि मिल्छ ।  स्मार्टफोनमा चार वर्षसम्मको अपडेट अफर गर्ने ब्राण्डहरु पनि छन् ।

तर यो फोन किनेपछि Android 14 सम्म अटो अपडेट हुनेछ । साथमा तीन वर्षसम्म सेक्युरिटी अपडेटहरु पाउन सक्नुहुन्छ । तुलनात्मक रुपमा हेर्ने हो भने यो अलि कम हो ।

क्यामेराको कुरा गर्ने हो भने यसमा Sony IMX766 sensor भएको ५० मेगापिक्सेलको मुख्य क्यामेरा छ । High Resolution Photo को लागि क्यामेरामा जाने बित्तिकै 50M भनेर देखिन्छ ।

त्यसलाई अन गरेर खिचेको फोटोहरु एक-दुई चरण जुम गरेर हेर्दा पनि खासै न्वाइज देखिँदैन । लाइट राम्रो भएको बेला खिचेको फोटोहरु एकदमै क्लियर आउँछ, Dynamic Range र Color पनि सोचेभन्दा बेस्ट पाएँ ।

नर्मल मोडबाट फोटो खिच्दा 10X सम्म जुम गर्न मिल्छ । मुख्य क्यामेरामा OIS Optical Image Stabilization पनि दिइएको छ, जसले फोनको फोटो र भिडिओ क्वालिटीलाई अब्बल बनाउन सघाएको छ ।

क्यामेरमा भएको विभिन्न फिल्टरले फोटोलाई भेराइटी दिएको छ, जसलाई खिच्ने बित्तिकै इडिट नगरी सोसल मिडियामा पोस्ट गर्न पनि सकियो । कम लाइट भएको बेला पनि राम्रो फोटो खिच्नको लागि Night Mode को उपयोग गर्न सकिन्छ ।

८ मेगापिक्सेलको अल्ट्रावाइड लेन्सको पिक्चर क्वालिटी पनि ठीकठाक छ । यसले १२० डिग्रीसम्मको भ्यु क्याप्चर गर्नसक्छ । तर २ मेगापिक्सेलको डेप्थ सेन्सर त्यति धेरै उपयोगी जस्तो लागेन ।

फोनको सेल्फी क्यामेराको क्वालिटी पनि इम्प्रेसिभ छ । Sony IMX615 Censor भएको ३२ मेगापिक्सेलको क्यामेराले सेल्फी पारखीलाई खुशी नै बनाउँछ ।

फोटोको लागि मात्रै होइन भिडिओको लागि पनि यो स्मार्टफोन उपयोगी नै छ। यसबाट 4K Resolution सम्मको भिडिओ खिच्न सक्छ । OIS भएकाले स्टेबल भिडिओ फुटेज आउँछ ।

स्लो मोसन भिडिओ खिच्नको लागि पनि विभिन्न अपस्नहरु छन् । HD Quality मा खिच्ने हो 960 FPS को सुपर स्लो भिडिओहरु पनि यसबाट खिच्न सकिन्छ ।

सेल्फी क्यामेराबाट पनि Full HD video हरु खिच्न सकिन्छ, जसमा EIS पनि भएकाले हिँड्दै भिडिओ खिच्दा पनि फुटेजहरु स्टेबल नै देखिन्छ ।

फोनमा ४५०० एमएएच क्षमताको ब्याट्री छ । तुलनात्मक रुपमा यो कमै हो । तर यसले ८० वाटको फास्ट चार्जिङ सपोर्ट गर्ने भएकाले खासै चिन्ता भने गर्नु पर्दैन । किनकि आधा घण्टामा नै फुल चार्ज गर्न सकिन्छ ।

नर्मल युज गर्दा ब्याट्री एक दिनसम्म मजाले चल्छ । तर गेम, फोटो वा भिडिओ धेरै खिच्नुहुन्छ भने दिनमा दुई पटकसम्म ब्याट्री चार्ज गर्नुपर्ने हुनसक्छ ।

Nord 2T 8GB भेरियन्टकाे मूल्य नेपाली बजारमा ६४ हजार तोकिएको छ भने 12 GB RAM र २५६ जीबी स्टोरेज भएको भेरियन्टको मूल्य ७५ हजार रुपैँया तोकिएको छ ।

मूल्य जति उच्च छ, त्यसलाई न्याय गर्ने फिचर र स्पेसिफिकेसनहरु लगभग यसमा छन् । सुपरफास्ट चार्जिङ, स्तरीय क्यामेरा, नयाँ अनि क्षमतावान चिपसेट, अपडेटेड अपरेटिङ सिस्टमसहितको फाइभजी फोन भएकाले फिचर अनुसार यसलाई धेरै महंगो भन्न मिल्दैन ।

तर यो मोबाइलले कुनै पनि IP Rating नलिनु एउटा दुःखद कुरा हो । त्यस्तै यो मूल्यमा 120hz refresh rate, 5000 mAh क्षमताको ब्याट्री, स्टोरेज बढाउने अप्सनजस्ता फिचर उपलब्ध गराएको भए अझै बेस्ट हुने थियो । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३