close

विश्वकै सबैभन्दा सुरक्षित बीवाईडी ब्लेड ब्याट्री

हरिजङ्ग थापा हरिजङ्ग थापा

माघ १३, २०७९ १३:५९

आज हामी ब्याट्रीको बारेमा चर्चा गर्दैछौँ, त्यो पनि विद्युतीय सवारी साधनमा लाग्ने । लिड एसिड, लिथियम आयन त त हामीले सुन्दै आएका ब्याट्रीहरू हुन् । तर अहिलेको समयमा बीवाईडी ब्लेड ब्याट्री लोकप्रिय बन्दै गएको पाइन्छ ।

विद्युतीय सवारी साधन निर्माता कम्पनी बीवाईडीले विकास गरेको यो ब्याट्री टेस्लाका कारमा समेत प्रयोग गर्न थालिएको छ । वास्तवमा के हो ब्लेड ब्याट्री, कस्तो प्रविधिबाट यो बन्छ, र कसरी बलियो, सुरक्षित र टिकाउ बन्न सफल भयो ? यिनै विषयमा आज हामी जानकारी दिँदैछाैं ।  

विद्युतीय सवारी साधनप्रति मानिसहरुको आकर्षण बढ्दो छ । वातावरणमैत्रीसँगै कम खर्चिलो हुने भएकाले विश्वव्यापी रुपमा नै बिजुली गाडी रोज्नेहरु बढेका छन् ।

फलस्वरुप यस्ता सवारी साधनलाई थप सुरक्षित र उपभोक्तामैत्री बनाउन विभिन्न अध्ययन अनुसन्धानसँगै प्रविधिको विकास हुने क्रम जारी छ ।

त्यसैको एउटा ज्वलन्त उदाहरण हो, BYD Blade Battery Technology । यो एउटा प्रभावशाली प्रविधि हो, जसले विद्युतीय सवारी साधनको सबैभन्दा महत्वपूर्ण र मुल्यवान सामग्री ब्याट्रीलाई टिकाउ, सुरक्षित र स्तरीय बनाउन सघाउँछ । 

ब्लेड ब्याट्री चीनको लोकप्रिय विद्युतीय सवारी साधन निर्माता कम्पनी बीवाईडीले विकास गरेको प्रविधि हो, जसले लिथियम आयन वा लिड एसिड ब्याट्रीमा भएका कमजोरीलाई सम्बोधन गरेर ब्याट्रीलाई धेरै नै सुरक्षित बनाएको छ ।

अहिले बिजुली सवारी साधनमा प्रयोग गरिएका धेरैजसो ब्याट्रीमा बढी तात्ने मात्र होइन विष्फोट हुनेजस्ता समस्याहरु समेत देखिएका छन् । यसैका कारण सवारी साधनमा आगलागी हुने र मानिसहरुको ज्यान जोखिममा परेका घटना पनि सार्वजनिक हुने गर्छन् । यही असुरक्षालाई मध्यनजर गर्दै बीवाईडीले ब्लेड ब्याट्रीको विकास गरेको हो । 

सामान्य हिसाबले भन्ने हो भने ब्लेड ब्याट्री लिथियम आयरन फोस्फेट ब्याट्रीकै एउटा प्रकार हो, जुन ९६ सेन्टिमिटर लामो र ९ सेन्टिमिटर चौंडा हुन्छ ।

हेर्दा तरबार वा करौंती जस्तो देखिने भएकाले नै यसको नाम ब्लेड राखिएको हो । जहाँ ब्याट्रीका सेलहरु मौरीको चाकाजस्तै आकारमा प्याकेजिङ गरिएको छ । जसमा भएका प्रत्येक सेलले बीमको रुपमा काम गर्छ ।

ब्याट्री सेलको तल र माथि पनि एकदमै बलियो आल्मुनियम प्यानल राखिएको छ । यी सबै प्राविधिक डिजाइनले गर्दा ब्लेड ब्याट्री अन्यभन्दा बलियो हुन पुगेको हो । 

यो बलियो त छ नै, साथमा यसको पहिलो विशेषता भनेको यसले एकदमै कम ठाउँ ओगट्छ । ‘Lithium Iron Phosphate’ ब्याट्रीको तुलनामा ब्लेड ब्याट्रीलाई आधा मात्र ठाउँ भए पुग्छ । अर्थात् परम्परागत ‘LFP’ ब्याट्रीले ब्लेड ब्याट्रीभन्दा दोब्बर स्पेश लिइरहेका हुन्छन् ।

साथमा ब्याट्रीको लोड पनि धेरै हुन्छ, जसले गर्दा त्यस्तो ब्याट्री भएका सवारी साधनले दिने रेन्ज कम हुन्छ । Blade ब्याट्रीले कम ठाउँ ओगट्ने हुँदा सवारी साधनको ओजन नै कम हुन्छ। जसले रेन्ज बढाउन मद्दत गर्छ । 

विभिन्न चरणको परीक्षणले ब्लेड ब्याट्री अन्य ब्याट्रीको दाँजोमा बढी सुरक्षित र गुणस्तरिय रहेको प्रमाणित भएको छ । ब्लेड ब्याट्री ‘Nail Penetration Test’ जसलाई ब्याट्री परिक्षणको उच्चतम स्ट्याण्डर्ड मानिन्छ, त्यस्तो कठोर परीक्षामा समेत सफल भएको ब्याट्री हो ।

परीक्षणका क्रममा ब्याट्रीभित्र किलाले छेड्दासमेत ब्लेड ब्याट्रीबाट धुँवा निस्कने, पड्किने वा तात्ने जस्ता समस्या देखिएन। जुन टेस्टमा अहिलेसम्म अरु कुनै पनि ब्याट्री सफल हुन सकेका छैनन् । 

त्यस्तै अर्को परीक्षणमा ब्लेड ब्याट्रीले ४० टन ओजन भएको ट्रकको भारसमेत सुरक्षित रुपमा थाम्न सफल भएको छ ।

यति मात्र होइन, ३०० डिग्री सेल्सियस तापक्रममा तताउँदा होस् वा बङ्ग्याउँदा अथवा २६० प्रतिशतले ओभरचार्ज गर्दा समेत ब्लेड ब्याट्री पड्किएन । त्यसैले यस्ता कठोर परीक्षणमा सफल भएको हुँदा ब्लेड ब्याट्री बढी सुरक्षित र स्तरीय रहेको प्रमाणित हुन्छ । 

विद्युतीय सवारी साधनमा हुने सबैभन्दा महंगो सामग्री हो, ब्याट्री । जुन सुरक्षित, बलियोसँगै टिकाउ होस् भन्ने जो कोहिको चाहना हुन्छ । यो ब्याट्रीको जीवन पनि अरुको तुलनामा लामो नै हुन्छ । यस्तो ब्याट्रीलाई ४००० पटकसम्म चार्ज गरेर चलाउन सकिन्छ ।

कम स्पेश खाने, बढी सुरक्षित, गुणस्तरीय, टिकाउ अनि शक्तिशाली पनि भएकाले ब्लेड ब्याट्री विद्युतीय सवारी साधनका लागि वरदान सावित भएको छ ।

त्यसैले बीवाईडीका ‘HAN’, ‘ATTO 3’, ‘E6’ सँगै टेस्लाको ‘Model Y’ मा ब्लेड ब्याट्री प्रयोग भएका छन् । साथमा यसले अन्य थुप्रै इभी उत्पादकहरुको ध्यानाकर्षण समेत गराएको छ । 

भिडिओमा हेर्नुहोस्

पछिल्लो अध्यावधिक: माघ १३, २०७९ १७:२६