काठमाडौं । सामान्यतया आईओएस डिभाइसमा भन्दा एन्ड्रोइड डिभाइसमा धेरै र्याम दिइएको हुन्छ । हालको एन्ड्रोइड फोनहरू जस्तै पिक्सेल सिक्स प्रो र ग्यालेक्सी एस२२ अल्ट्रामा १२ जीबी र्याम उपलब्ध हुनु सामान्य नै भइसकेको छ ।
केही फोनहरूमा त झन् १६ जीबी अथवा सोभन्दा बढी र्याम पनि उपलब्ध गराइएको छ । अर्कोतर्फ आईफोन थर्टिन प्रोमा ६ जीबीको र्याम छ भने अन्य मोडलमा ४ जीबी र्याममात्र उपलब्ध गराइएको हुन्छ । तर तिनीहरू अझै पनि एन्ड्रोइड फोनभन्दा दोब्बर राम्रोसँग काम गर्न सक्छन् । त्यो कसरी हुनसक्छ ?
र्याम के हो ?
र्याम (RAM) र्यान्डम एक्सेस मेमोरीको छोटो रुप हो । डिभाइसहरुमा धेरै प्रकारका र्यामहरू प्रयोग गरिएको पाउनसक्छौं । यद्यपि मोबाइलमा प्रयोग हुने र्यामलाई भने एसडी र्याम भनिन्छ, जुन अस्थिर हुन्छ ।
सरल भाषामा बुझ्दा फोनको काम गर्ने मेमोरी नै र्याम हो । यसले डिभाइसले विभिन्न एपमार्फत सक्रिय रूपमा प्रयोग गरिरहेको जानकारी भण्डारण वा स्टोर गर्ने काम गर्छ ।
फोनमा जति धेरै र्याम हुन्छ, त्यति नै धेरै जानकारी डिभाइसले राख्नसक्छ । जति धेरै र्याम हुन्छ, त्यति नै सहज रुपमा डिभाइस प्रयोग गर्न पनि सकिन्छ ।
आईओएसमा भन्दा एन्ड्रोइडमा र्याम किन धेरै हुन्छ ?
यो प्रश्नको कुनै निश्चित जवाफ छैन । तर डिभाइसले गर्ने कामहरूको तुलनामा यसको जवाफ भने फरक-फरक छ, जुन एकअर्काका परिपूरक पनि छन् ।
आईओएसको तुलनामा एन्ड्रोइडमा धेरै र्याम हुनुको एउटा कारण एन्ड्रोइड र आईओएस एपहरू निर्माण हुने तरिका पनि हो । यी दुवै अपरेटिङ सिस्टमहरूका लागि एपहरू पनि फरक-फरक तरिकाले तयार हुनेगर्छ ।
प्रत्येक वर्ष नयाँ आईफोन र आईप्याडहरू सार्वजनिक हुन्छन्, जसमा एकैप्रकारको हार्डवेयर प्रयोग भएको हुन्छ । आईओएस एपहरू एकैप्रकारको चिपसेटमा मात्र चल्ने हुँदा यसका लागि तयार हुने एपहरू नेटिभ प्रोग्रामिङ ल्याङ्ग्वेज, विशेषगरी स्विफ्ट र अब्जेब्टिभ सीमा आधारित भाषा प्रयोग गरेर तयार गरिएको हुन्छ ।
आईओएस एपका लागि लेखिएको कोड सिधा निर्देशनहरूमा कम्पाइल गरिएको छ, जुन एप्पलको सीपीयूहरूले कुनै पनि प्रकारको अनुवाद बिना बुझ्नसक्छ ।
अर्कोतर्फ एन्ड्रोइडमा क्वालकम, सामसङ, मिडियाटेक लगायत अन्य विभिन्न चिपसेट प्रयोग हुन्छ र यी चिपसेट प्रयोग गरिएका डिभाइस अनगिन्ति रुपमा सार्वजनिक भइरहेको हुन्छ ।
ती सबै फरक-फरक डिभाइसमा प्रयोग भएका फरक हार्डवेयरहरूलाई अनुकूल हुनेगरी एउटै प्रोगामिङ ल्याङ्ग्वेज प्रयोग गर्न असम्भव छ । एन्ड्रोइड एपहरू प्रोग्रामिङ ल्याङ्वेज (कोटलिन र जाभा) मा लेखिएका हन्छन्, जसले एक प्रकारको साझा भाषामा अनुवाद गर्नसक्छ, जुन त्यसपछि दिइएको चिपसेटका लागि नेटिभ कोडमा दोस्रो पटक अनुवाद गरिन्छ ।
यो साझा भाषालाई बाईटकोड भनिन्छ । बाइटकोड कुनै विशेष हार्डवेयरका लागि निर्माण गरिएको होइन । त्यसैले एन्ड्रोइड डिभाइसले यो कोडलाई मूल कोडमा रूपान्तरण गर्नुपर्ने हुन्छ । यसका लागि धेरै रिसोर्सेस पनि आवश्यक पर्दछ ।
यसको सिधा अर्थ हो, यो सबै प्रक्रिया पूरा गर्न आईओएसको तुलनामा एन्ड्रोइडलाई धेरै र्यामको आवश्यकता पर्छ । अर्को कारण भने र्याम व्यवस्थापन प्रणाली हो ।
आईओएस र एन्ड्रोइडले फरक-फरक तरिकाले र्याम व्यवस्थापन गर्नेगर्छ । एन्ड्रोइडले ‘गार्बेज कलेक्सन’ भनिने मेमोरी व्यवस्थापन प्रणाली प्रयोग गर्दछ । यो प्रक्रियाले लामो समयसम्म प्रयोग नभएको वस्तु वा जानकारीहरूलाई मेमोरीबाट स्वतः निष्क्रिय गर्ने काम गर्छ र र्याम खाली गर्नसक्छ ।
तर आईओएसले अटाेमेटिक रिफ्रेन्स काउन्टिङ सिस्टम प्रयोग गर्छ, जसले स्वचालित रूपमा मेमोरीमा वस्तु तथा जानकारीहरूलाई अन्य वस्तु तथा जानकारीको रिफ्रेन्सको आधारमा संख्यात्मक रुपमा गणना गर्नेगर्छ ।
अन्य वस्तुको तुलनामा कुनै एक वस्तुको संख्या शुन्य भएपछि आईओएसले सो वस्तुलाई स्वतः मेमोरीबाट हटाउँछ । गार्बेज कलेक्सन प्रविधिमा र्याममा भएका प्रयोगमा नआएका वस्तुलाई आवधिक रुपमा त्यो पनि चरणबद्ध रुपमा मात्र हटाइन्छ भने एआरसी प्रणालीले कुनै वस्तु अनावश्यक देख्ने वित्तिकै हटाइदिन्छ ।
आईओएसको तुलनामा एन्ड्रोडमा ब्याकग्राउन्डमा धेरै एप प्रयोग हुनेगर्छ । यसले गर्दा पनि एन्ड्रोइडलाई धेरै र्यामको आवश्यकता पर्दछ ।
यसरी एन्ड्रोइड र आईओएसको फरक र्याम आवश्यकताहरू छन् । किनभने दुई अपरेटिङ सिस्टमहरू फरक तरिकाले काम गर्छन् । डिभाइसको आवश्यकता अनुसार एन्ड्रोइड आईओएस भन्दा धेरै सहज अपरेटिङ सिस्टम हो ।