close

नयाँ फोन खरिद गर्ने सोचमा हुनुहुन्छ ? ख्याल राख्नुहोस् यो कुरा

टेकपाना टेकपाना

असार २६, २०७९ १६:५७

नयाँ फोन खरिद गर्ने सोचमा हुनुहुन्छ ? ख्याल राख्नुहोस् यो कुरा

काठमाडौं । अहिलेको समयमा स्मार्टफोन प्रयोगकर्तालाई वर्षैपिच्छे नयाँ फोन प्रयोग गर्ने चाहना हुन्छ । आफूसँग भएको फोन पुरानो देखिएर, फिचरहरू कम भएर, स्टोरेज कम भएर, आकर्षक नदेखिएर वा त्यस्तै विभिन्न कारणले मानिसहरू फोन परिवर्तन गर्न चाहन्छन् वा भनौँ नयाँ फोन प्रयोग गर्न चाहन्छन् ।

नयाँ फोन खरिद गर्ने विभिन्न कारण हुनसक्छन् । तर फोन खरिद गर्नुअगाडि अन्य विभिन्न कुरामा ध्यान दिनु पनि जरुरी हुन्छ ।

वास्तवमा नयाँ फोन त्यस्तो बेला मात्र खरिद गर्नुपर्छ, जब आफूले प्रयोग गरिरहेको फोन हराउँछ । वा बिग्रेको बनाउँदा धेरै खर्च लाग्छ वा नयाँ फोन आवश्यक पर्ने अन्य कुनै कारण आइलाग्छ ।

हरेक स्मार्टफोन ब्रान्डले आफ्नो फोन बढी बिक्री गराउन पहिले सार्वजनिक भएका फिचरभन्दा केही फिचरहरू थपेर बजारमा उपलब्ध गराउने गर्छन् ।

उदाहरणका लागि कतिपय अवस्थामा उनीहरूले क्यामेराको गुणस्तर बढाएका हुन्छन् भने कतिपय अवस्थामा ब्याट्री र केही आकर्षक फिचर थप गरेका हुन्छन् ।

फोनमा कमी कमजोरी वा आकर्षक फिचर त हुन्छन् नै, त्यसमा सकारात्मक र नकारात्मक पक्ष पनि हुन्छन् । तर, फोन खरिद गरिसकेपछि त्यसलाई कस्तो बनाउने भन्ने प्रयोगकर्ताको हातमा हुनेगर्छ ।

यदि तपाईंले गुगल पिक्सेल सिक्स प्रो प्रयोग गरिरहनु भएको छ भने गुगलले तपाईंले पिक्सेल सेभेन प्रयोग गर्नुहोस् भन्ने चाहेको हुन्छ ।

यसरी नै विभिन्न स्मार्टफोन कम्पनीले आफ्ना नयाँ-नयाँ फोनमा प्रयोगकर्तालाई आकर्षक गराउन थोरै थोरै आकर्षक फिचर थप गर्दै लगेका हुन्छ, जसले गर्दा प्रयोगकर्ता नयाँ फोनप्रति आकर्षित हुन्छन् ।

नयाँ फोन खरिद गर्नु नपर्ने धेरै कारण छन्, जसमध्ये तपाईंसँग भएको फोन एउटा महत्त्वपूर्ण कारण हो । यदि तपाईंसँग कुनै पनि फोन छैन भने नयाँ फोन खरिद गर्न सक्नुहुन्छ । तर, त्यसमा पनि तपाईंलाई नयाँ फोनको आवश्यकता कति छ भन्ने कुरा आउँछ ।

नयाँ फोन खरिद नगर्नुले पनि वातावरणलाई सहयोग गरेको हुन्छ । एउटा सामान्य फोन बनाउन जमिनबाट कति कुरा निकाल्नुपर्छ त्यसको त कुनै हिसाब नै छैन । त्यसबाहेक पनि फोनको आयात खर्च, प्याकेज गर्दा आवश्यक पर्ने सामग्री, ऊर्जा खपतको खर्च र नयाँ फोन निर्माण खर्च जोडिएका हुन्छन् ।

नयाँ फोन खरिद गर्ने विचारले तपाईंको रकममात्र खर्च गर्नेगर्छ । किनभने तपाईंलाई आफूले प्रयोग गरिरहेको फोन पुरानो लाग्यो भने नयाँ फोन पनि केही महिनामा पुरानो नै हुन्छ । यसो गर्दा एक वा दुई महिना नयाँ फोन प्रयोग गरेको अनुभव होला । त्यसपछि पुनः पुरानै फोन प्रयोग गरेको अनुभव हुन्छन् ।

त्यसको सट्टा तपाईंले आफूसँगै भएको पुरानो फोनलाई समयसमयमा मर्मत गरेर वा रिस्टोर गरेर नयाँ जस्तै बनाउँन सकिन्छ । फोनमा आउने अपडेटले सफ्टवेयर सुरक्षा गरिरहेको हुन्छ नै । साथै फोनमा आउने प्याच, अपडेटले फिचरहरू उपलब्ध गराएको नै हुन्छ ।

त्यस्तै विभिन्न स्मार्टफोन कम्पनीको आफ्नै आफ्नै सपोर्ट सिस्टम हुनेगर्छ । कम्पनीको नीति अनुसार सपोर्ट सिस्टमको समय निर्धारण गरिएको हुन्छ ।

एकपटक फोन तपाईंले चाहनुभएकाे हो वा कम्पनीले चाहेको हो भन्ने कुरा विचार गर्नुहोस् । यदि तपाईंसँग कुनै फोन नै छैन भने त्यो तपाईंको आवश्यकता भयो ।

यदि तपाईंसँग कुनै फोन छ र कुनै कम्पनीले केही फिचरहरू देखाएर तपाईंलाई त्यसतर्फ आकर्षित बनाएको छ भने बुझ्नुस् त्यो कम्पनीको आवश्यकता हो ।

नयाँ फोन वा भनौं कुनै पनि नयाँ कुरा प्रयोग गर्न पाउँदा मानिसमा एक किसिमको उत्सुकता हुनु त स्वाभाविक नै हो । तपाईंलाई नयाँ फोन आवश्यक नहुँदा पनि विभिन्न कम्पनीले फिचरहरू वा नामले गर्दा नयाँ फोन खरिद गर्न बाध्य बनाएका हुनसक्छन् ।

तपाईंलाई फोन अत्यावश्यक अवस्थाबाहेक अन्य अवस्थामा नयाँ फोन खरिद गर्ने कुरा सोच्दै नसोच्नुहोस् । यसरी नयाँ फोन खरिद गर्ने सोच बाहिर निकाल्नु नै सबैभन्दा पहिलो कुरा त आफ्नो पैसा बचाउनु हो ।

त्यसपछि प्रकृतिको कुरा आउँछ । फोन नकिन्नुले मात्र पनि प्रदूषण न्यूनीकरणमा तपाईंको अप्रत्यक्ष  योगदान हुनसक्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३