काठमाडौं । क्यान्डी क्रस, एङ्ग्री बर्डजस्ता गेम आउनुअघि तपाईंले चलाउने मोबाइलमा पक्कै पनि स्नेक गेम थियो होला । यो गेम सबैभन्दा पहिले सन् १९९७ मा नोकिया ६११० मा आएको थियो ।
त्यसपछि विश्वव्यापी रूपमा त्यतिबेलाका फोनमा यो गेम समावेश गरियो । गेममा सर्पलाई खाना खुवाउँदै, विभिन्न बाधाहरु जस्तै; आफ्नै शरीर टोक्नबाट, स्क्रिनको कुना छुनबाट बचाउँदै हुर्काउनुपर्ने हुन्छ ।
सामान्य एसएमएस र फोनकल गर्ने मोबाइललाई आकर्षक र समय बिताउन उपयुक्त बनाउन यो गेमले निकै ठूलो भूमिका खेलेको थियो । हिजो शनिबार यो गेम विकास भएको २५ वर्ष पुगेको छ ।
यो अवसरमा केही सञ्चारमाध्यमले विभिन्न विज्ञसँग यो गेमको अवधारणा र प्रभावका विषयलाई लिएर प्रश्न सोधेका थिए ।
क्वाली भिडिओ गेमका डेभेलपर विलियम कक्सले गेममा हार्दा उठ्ने दिक्दारी (फ्रस्ट्रेसन) ले यसमा बढी लत लागेको विचार व्यक्त गरेका छन् ।
मेल अनलाइनसँग कुरा गर्दै उनले भने, ‘तपाईंले हरेक पटक सर्पलाई बचाएर खानाको टुक्रा खुवाउनुपर्ने हुन्छ, जसमा सावधानीका साथ सन्तुलन गर्दै अगाडिको यात्रा तय गर्नुपर्ने हुन्छ । यो सामान्य छ, तर जब सर्पलाई बचाउन सकिँदैन, तब एक किसिमको दिक्दारी हुन्छ, जसले पुनः गेम सुरु गर्न प्रोत्साहन गर्छ ।’
त्यस्तै आफ्नो पहिलेको हाइ स्कोरलाई पछ्याउन खेल्दा खेल्दै मानिसहरूलाई त्यसको लत लाग्ने र साथीहरूसँग प्रतिस्पर्धा गरेर खेल्दा झन् सन्तोषजनक अनुभव दिने उनकाे भनाइ छ ।
उनले यो गेम गेमिङ उद्याेगको एक चर्चित खेल हुनुका साथै प्रायः धेरैको पहिलो गेमिङ अनुभवसमेत रहेको बताएका छन् ।
त्यस्तै एप डेभलपमेन्ट एजेन्सी ग्लेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सिमन लीले यो पहिलो त्यस्तो गेम रहेको बताएका छन्, जहाँ खेलाडीले आफ्नो सीपलाई हरेक पटक परिमार्जित गर्दै लग्नसक्थे ।
उनले भने, ‘त्यसमा कुनै न लेभल हुन्थ्यो, न त कुनै इनिमीलाई मार्नुपर्ने हुन्थ्यो । यो एउटा शुद्ध प्रक्रियागत खेल थियो, जुन गेमिङ मेकानिक्सको आधारभूत खेल थियो ।’
त्यस्तै उनले यो गेम एउटा साधारण गेम भएको बताएका छन्, जहाँ कमी भएको लेभल फिचरलाई प्रयोगकर्ताको आफ्नै प्रक्रियाले सन्तुलन गरेको थियो । भन्नुको अर्थ, जति बढाउँदै गयो, यसमा त्यही नै गाह्रो अवस्था सिर्जना हुँदै जाने गर्थ्यो ।
वास्तवमा यो स्नेक गेमको अवधारणा सन् १९७६ मा ग्रेमलिन इन्टरेक्टिभ नामक भिडिओ गेम कम्पनीको ‘ब्लकएड’ नामक गेमबाट लिइएको थियो, जसमा खेलाडीले एउटा एर्रो कीको माध्यमबाट क्यारेक्टरलाई चलाउने गर्थे ।
त्यो गेम सार्वजनिक भएको केही समयपछि ‘फिनिश’ कम्पनी नोकियाले आफ्नो नोकिया ६११ मा टानेली अर्मान्टोले प्रोग्राम गरेका थिए ।
स्नेक गेमका लागि कोड प्रोग्रामिङ लेङ्गवइज सीमा लेखिएको थियो । गेममा खेलाडीले बक्सभित्र रहेको सिंगल पिक्सेलको खानालाई बक्समा कतै नछुवाइकन सर्पलाई खुवाउनुपर्ने हुन्छ ।
गेमको उद्देश्य भनेको सर्पलाई खाना खुवाउँदै लिने, खाना खुवाउँदै लिएपछि पुच्छरमा एउटा पिक्सेल थपिँदै जान्छ ।
त्यसलाई पहिले देखाइएको खाना खुवाइसकेपछि फेरि अर्को ठाउँमा खानाको टुक्रा देखिन्छ । त्यसलाई पुनः खाना खुवाउनुपर्ने हुन्छ । खाना खुवाउँदा सर्पको टाउकोले शरीरको कुनै पनि भाग र बक्सलाई छुनहुँदैन । यदि छोएको खण्डमा गेम सकिन्छ र पुनः सुरु हुन्छ ।
नोकिया ६११० बाट सुरुवात भएको यो गेम सन् २०१७ मा मेसेन्जरमा समेत समावेश गरिएको थियो । अहिले विभिन्न एप स्टोरमा ४२० भन्दा बढी स्नेक गेम जस्ता गेम उपलब्ध छन् ।
यो गेम कतिपय फोनमा प्रि-इन्स्टल भएर आउने भएकाले पनि चर्चित छ ।