close

ब्राउजरमा हुने ‘इनकग्निटो मोड’ के हो, अनि किन प्रयोग गर्ने ?

टेकपाना टेकपाना

साउन १९, २०७९ २२:४८

ब्राउजरमा हुने ‘इनकग्निटो मोड’ के हो, अनि किन प्रयोग गर्ने ?

काठमाडौं । ‘इनकग्निटो’ ब्राउजरको एउटा त्यस्तो सेटिङ हो, जसले तपाईंले सर्च गरेका कुनै पनि वेबपेजको रेकर्ड राख्दैन । तर, यसको अर्थ इनकग्निटो मोड शतप्रतिशत सुरक्षित हुन्छ भन्ने हुँदैन ।

तपाईंले कुनै पनि ब्राउजरमा केही कुरा सर्च गर्नुभयो भने त्यो ब्राउजरको डिफल्ट मोडमा खुल्ने गर्छ । डिफल्ट मोडमा विशेषगरी तपाईंले खोजेका कुनै पनि वेबपेजको जानकारीको रेकर्ड राखिएको हुन्छ ।

ब्राउजरको डिफल्ट मोडमा तपाईंले सर्च गरेका विभिन्न कुरा ‘हिस्ट्रीमा’ सेभ भएका हुन्छन्, जसलाई पुनः पछि खोल्न सकिन्छ ।

कतिपय ब्राउजरमा रेकर्ड राख्ने फिचर केही समयका लागि निष्क्रिय बनाउने विकल्प हुन्छ । यसको अर्थ तपाईंलाई केही रेकर्ड व्यक्तिगत राख्न आवश्यक पर्‍यो भने ब्राउजरको यो मोड प्रयोग गर्न सक्नुहुन्छ, यसलाई नै इनकग्निटो मोड भनिन्छ ।

हरेक ब्राउजरको सेटिङमा इनकग्निटो मोड हुन्छ । तर सबैमा यही नाम हुन्छ भन्ने हुँदैन । फिचर त्यही भए पनि नाम फरक फरक हुने गर्छ ।

क्रोममा यो मोड ‘इनकग्निटो’ नाममा रहेको छ । त्यस्तै माइक्रोसफ्ट एजमा प्राइभेट मोड, सफारीमा प्राइभेट ब्राउजिङ र फायरफक्समा प्राइभेट मोड नाम रहेको छ ।

यदि तपाईं आफ्नो कम्प्युटर वा फोन कोही अरूलाई पनि प्रयोग गर्न दिनुहुन्छ वा तपाईं बाहेक सो डिभाइस अरूले पनि प्रयोग गर्छन् भने यो अप्सन तपाईँका लागि उपयुक्त हुन्छ ।

कसरी प्रयाेग गर्ने ?

इनकग्निटो मोड प्रयोग गर्नका लागि सबैभन्दा पहिले तपाईंले दैनिक जसो प्रयोग गरिरहने ब्राउजर खोल्नुहोस् । त्यसपछि माथि दायाँपट्टि रहेको तीनवटा डट वा लाइनमा क्लिक गर्नुहोस् ।

अब त्यहाँ ब्राउजर अनुसार फरक फरक नाम भएका इनकग्निटो मोडमा क्लिक गर्नुहोस् । त्यसपछि आफूले रेकर्डमा राख्न नचाहेको वेब पेज सर्च गरेर खोल्न सक्नुहुन्छ ।

के इनकग्निटो मोडमा क्यास, कुकिज तथा हिस्ट्री हटाउनुपर्छ?

वास्तवमा तपाईंले सर्च गरेको वेबपेज अर्को पटक खुल्दा सुरुवातबाट खुल्छ । यसमा सर्च गरिएका विभिन्न डेटा ब्राउजरबाट बाहिर गइसकेपछि स्वतः हराउँछन् । तर, त्यसका लागि ब्राउजरलाई चाहिँ हटाउन पर्छ ।

यसमा हिस्ट्री, क्यास तथा कुकिज केही हटाउन आवश्यक हुँदैन । तर यदि तपाईं डिफल्ट ब्राउजरबाट वेबपेजमा जानुभएको छ भने हिस्ट्रीमा गएर क्यास तथा कुकिज हटाउन पर्ने हुन्छ ।

के इनकग्निटो मोड व्यक्तिगत वा निजी हुन्छ ?

तपाईंको डिभाइस अन्य व्यक्तिले प्रयोग गर्छन् भने तपाईंले इनकग्निटो मोडमा सर्च गरेका कुराहरू व्यक्तिगत हुन्छन् । तर, त्यसबाहेक संसारभरका प्रयोगकर्ताका लागि तपाईंले सर्च गरेका विवरण हुँदैन ।

इनकग्निटो मोडले ब्राउजरमा रहेका तपाईको क्रियाकलापका रेकर्ड राख्दैन । तर, यसको अर्थ यो होइन कि, यो कतै पनि देखिँदैन ।

उदाहरणका लागि तपाईंले इनकग्निटो मोडबाट बीबीसी न्यजु सर्च गर्नुभयो । यसमा तपाईंको डिभाइसबाट कुन हेरियो भन्ने चाहिँ थाहा हुँदैन । तर बीबीसी न्युज क-कसले हेरेका छन् भन्ने रेकर्ड त कहिँ न कहिँ बसेको हुन्छ ।

त्यस्तै यदि तपाईंले इनकग्निटो मोडमा फेसबुक लगइन गर्नुभयो । फेसबुकले फेसबुक अकाउन्ट कहाँ कहाँबाट लगइन भएको छ भन्ने कुराको रेकर्ड राखेको हुन्छ ।

समग्रमा भन्नुपर्दा यो तपाईंको डिभाइसका लागि व्यक्तिगत हुन्छ । अर्को व्यक्तिले तपाईंको डिभाइसमा रहेको ब्राउजरमा गएपछि इनकग्निटो मोडमा के के सर्च गर्‍यो भन्ने जानकारी पाउन सक्दैन ।

के इन्टरनेट व्यक्तिगत तरिकाले ब्राउज गर्न सकिन्छ ?

हो, इन्टरनेट व्यक्तिगत तरिकाले ब्राउज गर्न सकिन्छ । तर, इनकग्निटो मोड वा प्राइभेट मोडबाट होइन ।

सर्च गरेका विवरण अन्य कसैले नदेखोस् भन्ने चाहनुहुन्छ भने तपाईंले भीपीएनको प्रयोग गर्न सक्नुहुन्छ । भीपीएन एउटा त्यस्तो प्लेटफर्म हो, जसले तपाईंको आईपी एड्रेस लुकाउने गर्छ । यसले गर्दा तपाईंले खोलेका वेबसाइटले तपाईं को हो र कहाँबाट वेबसाइट भिजिट गर्नुभएको भन्ने कुराको जानकारी पाउन सक्दैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३