काठमाडौं । भारतीय मूलका कार्यकारीहरूले प्रविधि विश्वका ठूला कम्पनीहरूको नेतृत्व गरिरहेका छन् । जसमा सफ्टवेयर, हार्डवेयर, आईटी सेवा र इन्टरनेटका दिग्गज छन् ।
गुगलका सीईओ सुन्दर पिचाई र माइक्रोसफ्टका सीईओ सत्य नादेल्ला प्रविधि विश्वमा विगत एक दशकदेखि ‘पोस्टर ब्वाई’को रुपमा छाएकै छन् ।
तर त्यस बाहेक अन्य धेरै भारतीय मूलका प्रतिभा छन्, जो प्रविधिका दिग्गज कम्पनीको मुख्य पदमा पुगेका छन् । आज हामी प्रविधि विश्वका दिग्गज १८ कम्पनीलाई नेतृत्व दिइरहेका भारतीय मूलका व्यक्तिहरूको बारेमा चर्चा गर्दै छौँ ।
१. पराग अग्रवाल, सीईओ, ट्वीटर
पराग अग्रवाल ट्वीटरका नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । यसअघि उनले सन् २०११ देखि ट्वीटरकै प्रमुख प्राविधिक अधिकृतको जिम्मेवारी निभाएका थिए ।
त्यसभन्दा पनि अघिको कुरा गर्ने हो भने परागले माइक्रोसफ्ट, एटी एन्ड टी र याहूको सर्च टिममा रहेर काम गरिसकाे छन् । अग्रवाल इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी बम्बैका इन्जिनियरिङ ग्य्राजुएट हुन् ।
२. सुन्दर पिचाई, सीईओ, अल्फाबेट
भारतमा जन्मिएका सुन्दर पिचाई सन् २०१९ देखि गुगलको अभिभावक कम्पनी अल्फाबेटको सीईओको रूपमा छन् । पिचाई अगस्ट २०१४ मा गुगलको प्रमुख बनेका थिए ।
कम्पनीमा १५ वर्षभन्दा बढीको करियर अवधिमा उनले त्यहाँ एन्ड्रोइड, क्रोम, म्याप्स लगायतका महत्तवपूर्ण व्यवसायको नेतृत्व गरे । पिचाईले आईआईटी खड्गपुरबाट बीटेक, स्ट्यानफोर्डबाट एमएस र ह्वार्टनबाट एमबीए पूरा गरेका छन् ।
३. सत्या नादेल्ला, सीईओ, माइक्रोसफ्ट
भारतको हैदरावादमा जन्मिएका सत्या नादेल्ला फेब्रुअरी २०१४ देखि माइक्रोसफ्टको सीईओ छन् । उनी स्टिभ बल्मेरले सम्हालेको पद हात पार्न सफल भए ।
मणिपाल इन्स्टिच्युट अफ टेक्नोलोजीमा इन्जिनियरिङ पढेका नादेल्लाले युनिभर्सिटी अफ विसकन्सिन-मिल्वाउकीबाट एमएस र युनिभर्सिटी अफ सिकागो बोथ स्कुल अफ बिजनेसबाट एमबीए पूरा गरेका छन् । नादेल्लाले विन्डोज एनटी अपरेटिङ सिस्टमको डेभलपरको रूपमा सन् १९९२ मा माइक्रोसफ्टबाट आफ्नो करियर सुरु गरेका थिए ।
४. शन्तानु नारायण, सीईओ, एडोबी
भारतको हैदरावादमा जन्मिएका नारायण सन् १९९८ मै विश्वव्यापी उत्पादन अनुसन्धानको वरिष्ठ उपाध्यक्षको रूपमा एडोबीमा आवद्ध भएका हुन् । त्यसपछि सन् २००५ मा कम्पनीको प्रमुख सञ्चालन अधिकृत भएका उनी सन् २००७ मा प्रमुख कार्यकारी अधिकृत (सीईओ) बन्न पुगे ।
एडोबीमा आवद्ध हुनु अघि शन्तानुले एप्पल र सिलिकन ग्राफिक्समा काम गरिसकेका थिए । ओस्मानिया युनिभर्सिटीबाट विज्ञान विषयमा स्नातक उनले क्यालिफोर्निया युनिभर्सिटीबाट एमबीए र बउलिङ ग्रीन स्टेट युनिभर्सिटीबाट एमएस पूरा गरेका छन् ।
५. अरविन्द कृष्ण, सीईओ, आईबीएम
आईआईटी कानपुरबाट एक इलेक्ट्रिकल इन्जिनियरको रूपमा तयार भएका अरविन्द कृष्ण अप्रिल २०२० मा आईबीएमको सीईओ बन्न पुगे । उनी आईबीएममा लगभग ३० वर्षदेखि कार्यरत छन् ।
त्यसक्रममा उनले कम्पनीका कयौँ वरिष्ठ पदहरूमा रहेर काम गरे । कृष्णले इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी कानपुरबाट स्नातक उपाधी हात पारे भने अर्बाना च्याम्पेन युनिभर्सिटी अफ इल्लिनोइसबाट पीएचडी गरेका छन् ।
६. स्टिभ साङ्घी, कार्यकारी अध्यक्ष, माइक्रोचिप
स्टिभ साङ्घी मार्च २०२१ मा माइक्रोचिपको कार्यकारी अध्यक्ष बनेका हुन् । उनी अक्टोबर १९९१ देखि कम्पनीको सीईओको रूपमा कार्यरत थिए भने अक्टोबर १९९३ देखि बोर्ड निर्देशकको अध्यक्ष थिए ।
साङ्घीले अगस्ट १९९० देखि फेब्रुअरी २०१६ सम्म अध्यक्षको रूपमा सेवा गरे । त्यस्तै अगस्ट १९९० देखि नै उनी कम्पनीको निर्देशक पनि थिए ।
कम्पनीमा आवद्ध हुनु अघि साङ्घी सेमिकन्डक्टर कम्पनी वाफरस्केल इन्टिग्रेसन इंकमा सञ्चालन विभागको उपाध्यक्ष थिए । उनीसँग युनिभर्सिटी अफ मासाचुसेट्सबाट इलेक्ट्रिकल एन्ड कम्प्युटर इन्जिनियरिङमा विज्ञानको स्नातकोत्तर र बञ्जाब युनिभर्सिटीबाट इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन्समा विज्ञानको स्नातक डिग्री छ ।
७. निकेश अरोरा, सीईओ, पालो अल्टो नेटवर्क्स
निकेस अरोरा सन् २०१८ मा सीईओको रूपमा पालो अल्टो नेटवर्क्समा आवद्ध भएका हुन् । यसअघि उनी गुगल र सफ्टबैंकमा महत्त्वपूर्ण पदमा कार्यरत थिए ।
अरोरासँग इन्स्टिच्युट अफ टेक्नोलोजी, बनारस हिन्दु युनिभर्सिटीको स्नातक उपाधि, नर्थिस्टर्न युनिभर्सिटीको एमबीए र बोस्टन कलेजबाट विज्ञानको स्नातकोत्तर छ ।
८. अञ्जली सुद, सीईओ, भिमियो
अञ्जली सुद खुला भिडिओ प्लेटफर्म भिमियोमा सीईओको रूपमा कार्यरत छिन् । उनले सन् २०१७ देखि यो पद सम्हालिरहेकी छिन् । भिमियोमा आवद्ध हुनु अघि सुद अमेजन र टाइम वार्नरमा काम गर्थिन् । उनीसँग हार्बर्ड बिजनेस स्कुलको एमबीए डिग्री छ ।
९. सञ्जय महोत्रा, सीईओ, माइक्रोन टेक्नोलोजी
सञ्जय महोत्रा सेमिकन्डक्टर सोलुसन्स कम्पनी माइक्रोन टेक्नोलोजीका सीईओ हुन् । सुरुमा उनी सानडिस्क र वेस्टर्न डिजिटलको बोर्ड सदस्य थिए ।
सानडिस्कको सहसंस्थापन गर्नु अघि महोत्राले इन्टिग्रेटेड डिभाइस टेक्नोलोजी र इन्टेलमा समेत काम गरेका थिए । उनले युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट स्नातक र स्नातकोत्तर उपाधी हात पारेका छन् ।
१०. रेवती आडभथी, सीईओ, फ्लेक्स
रेवती आडभथी अमेरिकी सिङ्गापुरे इलेक्ट्रोनिक्स कन्ट्र्याक्ट म्यानुफ्याक्चरर कम्पनी फ्लेक्स लिमिटेडको सीईओ छिन् । आडभथीले सन् २०१९ देखि फ्लेक्समा सीईओको भूमिका निभाइरहेकी छिन् ।
त्यसअघि उनले एस्टोनको इलेक्ट्रिकल क्षेत्रको व्यापारको प्रमुख सञ्चालन अधिकृत र अध्यक्षको रूपमा काम गरेकी थिइन् । उनले बिरला इन्स्टिच्युट अफ टेक्नोलोजी एन्ड साइन्सबाट स्नतक र थन्डरबर्ड स्कुल अफ ग्लोबल म्यानेजमेन्टबाट एमबीए पूरा गरेकी हुन् ।
११. जयाश्री उल्लाल, अध्यक्ष तथा सीईओ, आरिस्टा नेटवर्क
जयाश्री उल्लाल सन् २००८ मा आरिस्टा नेटवर्कको अध्यक्ष तथा सीईओ बनेकी हुन् । सन् २०१४ मा आरिस्टालाई न्युयोर्क स्टक एक्सचेञ्जमा आईपीओको तहमा लैजान उनैले नेतृत्व दिएकी थिइन् ।
आरिस्टाअघि उल्लालले सिस्को र एएमडीमा काम गरेकी थिइन् । उनले सान फ्रान्सिस्को स्टेट युनिभर्सिटीबाट इलेक्ट्रिकल इन्जिनियरिङमा बीएस पढेकी हुन् भने सान्टा क्लारा युनिभर्सिटीबाट इन्जिनियरिङ म्यानेजमेन्टमा स्नातकोत्तर गरेकी हुन् ।
१२. जर्ज कुरियन, सीईओ तथा अध्यक्ष, नेटएप
जर्ज कुरियन सन् २०१५ मा स्टोरेज तथा डेटा व्यवस्थापन कम्पनी नेटएपको सीईओ र उपाध्यक्ष बनेका हुन् । नेटएपमा आवद्ध हुनु अघि कुरियनले सिस्को सिस्टम, अकामाई टेक्नोलोजी र म्याककिन्से एन्ड कम्पनीमा समेत काम गरेका थिए ।
केरलामा जन्मिएका उनीले आईआईटी मद्रासबाट इन्जिनियरिङ पढेका थिए । तर त्यसको छ महिनामै प्रिन्सटन युनिभर्सिटी पढ्नका लागि आईआईटी छोडे । जर्जले प्रिन्स्टन युनिभर्सिटीबाट इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक पढे र स्ट्यानफोर्ड युनिभर्सिटीबाट एमबीए डिग्री प्राप्त गरे ।
१३. अनील भुस्री, सहसंस्थापक तथा सीईओ, वर्कडे
अनील भुस्रीले पिपुलसफ्टका संस्थापक डेभ डफिल्डसँग मिलेर सन् २००५ मा वर्कडेको सहस्थापना गरे । वर्कडे स्थापना अघि भुस्री पनि पिपुलसफ्टमै काम गर्थे ।
अनीलले ब्राउन युनिभर्सिटीबाट स्नातक डिग्री हात पारेका छन् भने स्ट्यानफोर्ड युनिभर्सिटीबाट एमबीए पूरा गरेका हुन् ।
१४. समिर कपुरिया, अध्यक्ष, नोर्टनलाइफलक
समिर कपुरिया नोर्टनलाइफलकका अध्यक्ष हुन् । सन् २००४ मा सिमेन्टिक आवद्ध भएका उनी कम्पनीको ग्लोबल सेक्युरिटी अपरेसन्स सेन्टर सहित साइबर सेक्युरिटी सर्भिसेज व्यवसाय प्रमुख समेत रहेका थिए । कपुरियाले युनिभर्सिटी अफ मासाचुसेट्सबाट वित्तमा स्नातक डिग्री हात पारेका छन् ।
१५. अमन भुटानी, सीईओ, गोड्याडी
अमन भुटानी सन् २०१९ मा सीईओको रुपमा गोड्याडीमा आवद्ध भएका हुन् । यसअघि उनी एक्सपेडियामा प्रमुख प्राविधिक अधिकृत र विश्वव्यापी इन्जिनियरिङको एसभीपी सहितका वरिष्ठ पदमा कार्यरत थिए । भुटानीले दिल्ली युनिभर्सिटीबाट स्नातक गरेका हुन् भने ल्यानकास्टर युनिभर्सिटीबाट एमबीए पास गरेका छन् ।
१६. अनिरुद देवगन, अध्यक्ष, क्याडेन्स डिजाइन
अनिरुद देवगन सन् २०१८ मा क्याडेन्स डिजाइनको अध्यक्ष भएका हुन् । उनले म्याग्मा डिजाइन अटोमेसन र आईबीएममा समेत काम गरिसकेका छन् ।
देवगनले इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट स्नातक उपाधी हात पारेका छन् भने कार्नेग मेलोन युनिभर्सिटीबाट स्नातकोत्तर र विद्यावारिधि पूरा गरेका छन् ।
१७. शिव शिवराम, अध्यक्ष, वेस्टर्न डिजिटल
शिव शिवराम वेस्टर्न डिजिटलका अध्यक्ष हुन् । वेस्टर्न डिजिटलमा आवद्ध हुनु अघि उनी इन्टेल, मेट्रिक्स सेमिकन्डक्टर र सानडिस्कको वरिष्ठ पदमा कार्यरत थिए ।
उनले सन् २००८ मा ट्विन पिक्स टेक्नोलोजी स्थापना गरी सन् २०१४ सम्म सीईको रूपमा समेत काम गरेका थिए । शिवरामले नेसनल इन्स्टिच्युट अफ टेक्नोलोजी, त्रिउचीबाट स्नातक उपाधी हात पारेका छन् भने रेन्सलर पोलिटेक्निक इन्स्टिच्युटबाट स्नातक र विद्यावारिधि पूरा गरेका छन् ।
१८. रघु राघुराम, सीईओ, भीएमवेयर
भीएमवेयरमा रघुरामले विभिन्न नेतृत्वदायी भूमिका खेलिरहेका छन् । उनले सन् २००३ मा प्रोडक्ट म्यानेजमेन्टको निर्देशकको रूपमा भीएमवेयरमा काम सुरु गरेका थिए । त्यतिखेर कम्पनी केवल ५ वर्षको स्टार्टअप थियो ।
उनी तत्कालै सन् २००५ मा डेटा सेन्टर र डेस्कटप प्लेटफर्म प्रोडक्टको उपाध्यक्षको रूपमा उदाए । त्यसपछि सन् २०१० मा उनी भीएमवेयरको क्लाउड पूर्वाधार र व्यवस्थापन समूहको महाप्रबन्धक बने ।
भीएमवेयर अघि रघुराम एओएल, ब्याङ्ग नेटवर्क र नेटस्केपमा उत्पादन प्रबन्धक र बजार प्रबन्धको भूमिकामा थिए । उनले ह्वार्टन स्कुल अफ बिजनेसबाट एमबीए र इन्स्टिच्युट अफ टेक्नोलोजी, मुम्बईबाट इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातकोत्तर डिग्री प्राप्त गरेका छन् ।