close

कतिसम्म कमाउँछन् नेपालका अनलाइन गेमर ?

गणेश सुवेदी गणेश सुवेदी

भदौ ९, २०७९ १२:५२

कतिसम्म कमाउँछन् नेपालका अनलाइन गेमर ?

काठमाडौँ । नेपालमा अहिले ई-स्पोर्टस फस्टाउँदै छ । विशेषगरी युवा पुस्ता यसका पारखी बनेका छन् । मोबाइलसँगै कम्प्युटरमा खेलिने अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली टिमले पनि भाग लिन थालेको छ ।

अहिले केही खेलाडीहरु ई-स्पोर्ट्सलाई नै भविष्य मानेर अगाडि बढिरहेका छन् । यसरी ई-स्पोर्ट्समा आफ्नो सबै समय दिएर हिँड्ने खेलाडीले कति कमाउँछन् त ? यो सबैको जिज्ञासाको विषय हो ।

आज हामी तपाईँको यो जिज्ञासा मेटाउने प्रयास गर्नेछौँ ।

विश्वमा ई-स्पोर्ट्समा धेरै कमाउने खेलाडीहरुको कुरा गर्ने हो भने अहिलेसम्म ई-स्पोर्ट्सबाट धेरै कमाउने खेलाडीको पहिलो सूचीमा डेनमार्कका जोहन सन्डस्टेन रहेका छन् । उनले डोटा गेम खेलेर नै अहिलेसम्म ७१ लाख ८४ हजार डलरभन्दा बढी कमाइसकेका छन् ।

२०२२ को कुरा गर्नुपर्दा सबैभन्दा धेरै कमाउने खेलाडीको सूचीमा चीनका जिहाङ रुइदा पहिलो स्थानमा छन् । उनले डोटा २ खेलेर नै चार लाख ६५ हजार डलरभन्दा धेरै कमाइसकेका छन् ।

नेपालमा भने व्यावसायिक रूपमा ई-स्पोर्ट्स खेल्ने खेलाडी कमै छन् । पछिल्लाे समय पब्जी माेबाइल, फ्री फायर लगायतका केही गेममा आकर्षण बढिरहेको छ ।

तर नेपाली ई-स्पोर्ट्स खेलाडीको आम्दानीबारे जानकारी दिने आधिकारिक निकाय भने कुनै छैन । यद्यपि केही खेलाडीसँग कुराकानी गर्दा नेपालमा न्यूनतम मासिक २० हजारदेखि ७०-८० हजार रूपैयाँ कमाउने खेलाडी छन् ।

धेरै कमाउने नेपाली खेलाडी पब्जी मोबाइलका निमा तामाङ एक हुन् । तामाङले पब्जीबाटै अहिलेसम्म करिब ३५ हजार डलर अर्थात् ४४ लाख रूपैयाँभन्दा बढी कमाएका छन् । उनी अहिले नेपाली पब्जी टिम स्काइलाइट गेमिङमा आबद्ध छन् ।

नेपालमा अहिले विशेषगरी ई-स्पोर्ट्सको रुपमा पब्जी, फ्री फायर, डोटा, भ्यालोरेन्ट, फिफा जस्ता गेम खेल्ने गरेकाे पाइन्छ । यसमध्ये पब्जी ई-स्पोर्टसले मात्र व्यावसायिकताको बाटो समातेको छ ।

डोटा, भ्यालोरेन्ट, फिफा कम्प्युटर गेम भएकाले मोबाइल गेम पब्जी र फ्री फायरको तुलनामा कम नै छन् । त्यसैले मोबाइल गेमको तुलनामा नेपालमा कम्प्युटर गेम ई-स्पोर्टसमा पछाडि नै छ भन्न सकिन्छ ।

पब्जी खेलाडीहरु अहिले विभिन्न ई-स्पोर्टस टिममा जोडिएर खेल खेलिरहेका हुन्छन् । पब्जी टिम ज्यानमाराका टिम व्यवस्थापक एवं खेलाडी युगिन पब्जी ई-स्पोर्ट्सको वातावरण नेपालमा सन्ताेषजनक रहेकाे बताउँछन् ।

पब्जी टिममा आबद्ध खेलाडीले बस्न, खानको सुविधासहित अहिले मासिक औसत ५० हजार जति कमाइरहेको उनकाे अनुमान छ । यो अर्काे माेबाइल गेम फ्री फायरको तुलनामा राम्रो हो ।

फ्री फायरले नेपाललाई लक्षित गरी केही समय अगाडिबाट मात्र प्रतियोगिता गराउन थालेको छ । जसका कारण केही फ्री फायर टिमहरुले पनि मासिक तलबको व्यवस्था गर्न थालेका छन् ।

एक खेलाडीले नाम नबताउने सर्तमा नेपालमा व्यावसायिक फ्री फायर खेलेर टिमबाट मासिक रुपमा न्यूनतम २० हजारसम्म तलब पाइने जानकारी दिए ।

तर पब्जी, फ्री फायर खेलाडीको आम्दानीको माध्यम तलब मात्र होइन । तलबबाहेक खेलाडीले अन्तर्राष्ट्रिय तथा राष्ट्रिय प्रतियोगिताबाट आउने कुल रकमको ८-१० प्रतिशत पनि पाउने गरेका छन् ।

यससँगै खेलाडीले व्यक्तिगत राम्रो गरेकाे प्रदर्शनका आधारमा एमभीपी, मेडिक, ग्रिनेड मास्टरजस्ता विधामा पाउने पैसा पनि टिमले खेलाडीलाई नै दिने गरेको ज्यानमाराका युगिनले सुनाए ।

ई-स्पोर्ट्समा लाग्ने खेलाडीहरुको अर्को आम्दानीको स्रोत भनेको लाइभ स्ट्रिमिङ पनि हो ।  युट्युब, फेसबुक जस्ता सामाजिक सञ्जालमा गेम खेल्दै लाइभ स्ट्रिमिङ गरेर पनि आम्दानी गर्न सकिन्छ ।

यसबाट समर्थकसँगै पैसा पनि कमाइरहेको  फ्री फायर टिम वि ब्रोजका व्यवस्थापक तथा खेलाडी विशाल बताउँछन् । यसबाहेक खेलाडीले कमाउने अर्को बाटो भनेको प्रायाेजन (स्पोन्सरशिप) पनि हो । यसको उदाहरणको लागि पब्जी लेडी स्ट्रिमर तथा ई-स्पोर्टस खेलाडी वाइफीलाई लिन सक्छौँ ।

उनले आफ्नो स्ट्रिम तथा भिडिओमा भायनेट इन्टरनेट सेवाप्रदायको प्रचारप्रसार गर्छिन् । जसबापत उनले निःशुल्क इन्टरनेट वा इन्टरनेटसँगै केही रकम पनि लिने गर्छिन् ।

कम्प्युटर गेम खेल्ने खेलाडीहरुको भने प्रतियोगिताबाट आएको रकम नै आम्दानीको प्रमुख स्रोत हुने नेपाल ई-स्पोर्ट्स एसोसियसनका अध्यक्ष सुरज डंगोल बताउँछन् ।

“पहिला डोटा, भ्यालोरेन्ट, काउन्टर स्ट्राइकका खेलाडी केही समय स्थानीय संस्था र केही विदेशी संस्थासँग आबद्ध थिए । मासिक तलब पनि लिइरहेका थिए । अहिले के छ अवस्था त्यसको बारेका खासै केही जानकारी छैन,” उनि भन्छन् ।

नेपाली खेलाडीहरु पनि ई-स्पोर्ट्समा अगाडि बढ्न थालेका छन् । ई-स्पोर्टसमा खासै भौतिक संरचना नचाहिने, साथै यो दिमागको खेल भएकाले नेपालजस्तो विकासशील देशको यसमा प्रशस्त संभावना रहेका कुरालाई नकार्न सकिँदैन ।

निजी क्षेत्र र सरकारी क्षेत्रबाट राम्रो सहयोग र सहकार्य प्राप्त भए नेपालले पनि ई-स्पोर्ट्समा राम्रो नतिजा हात पार्ने कुरामा आफू विश्वस्त रहेको विशाल बताउँछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३