close

फेसबुक र हर्क साम्पाङ

हिक्मत आचार्य हिक्मत आचार्य

भदौ १४, २०७९ १६:५३

फेसबुक र हर्क साम्पाङ

काठमाडौं । सामाजिक सञ्जालमा कुन मान्छे कतिबेला उचाइमा पुग्छ र पछारिन्छ, केही पत्ताे हुँदैन । फेसबुक, युट्युब, टिकटक लगायतका माध्यममा ‘नायक’ बनेका व्यक्तिहरू एकाएक ‘खलनायक’ बनाएका कैयन् उदाहरण छन् ।

मानिसहरू सामाजिक सञ्जालमा देखिएका कुनै पनि कुरालाई क्षणभरमा विश्वास गरेर आफ्ना धारणा राख्न थालिहाल्छन् ।

कतिपयलाई त सामाजिक सञ्जालमा नक्कली अकाउन्ट पनि हुन्छन् भन्ने कुराको जानकारी नै हुँदैन । आफूले फलो गरेको अकाउन्ट वा धेरै मानिसहरूले प्रतिक्रिया दिने अकाउन्ट नै आधिकारिक हो भन्ने भ्रम हुन्छ ।

त्यसैले त्यस्ता अकाउन्टबाट आएका नकारात्मक पोस्टले गर्दा उनीहरूको हेर्ने दृष्टि नै बदलिन्छ ।

सामाजिक सञ्जालमा आफ्नो राम्रो छवि बनाउन र त्यो छविलाई स्थिर राख्न सो व्यक्तिमा डिजिटल साक्षरताबारे ज्ञान हुन आवश्यक छ ।

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ ‘राई’ यतिबेला सामाजिक सञ्जालमा भाइरल छन् । उनका हरेक फेसबुक स्टाटसलाई लिएर मानिसहरूले आफ्ना भिन्नाभिन्नै धारणा राखिरहेका छन् । उसाे त उनी क्षणक्षणमा फेसबुकमा पाेस्ट गरिरहन्छन् ।

उनले हालै इन्जिनियरलाई लक्षित गरी दिएकाे अभिव्यक्तिले धेरै युवा उनीबाट रुष्ट भएका छन् । याे कुरा हालैका उनका पोस्टमा आउने कमेन्टहरूबाट प्रष्ट थाहा पाउन सकिन्छ ।

सामाजिक सञ्जाल र मिडियाबाट अभद्र र असभ्य टिप्पणी गरेको तथा इन्जिनियरहरूको मानमर्यादामा ठेस पुर्‍याएको भन्दै राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस (धरान) संगठनले विज्ञप्ति जारी गरी साम्पाङको राजीनामा नै मागेको छ ।

राजीनामा नदिए कडा आन्दोलन गर्ने चेतावनी पनि उक्त विद्यार्थी संगठनले दिएको छ ।

साम्पाङले क्षणिक मनोरञ्जन वा वाहावाहीका लागि गरेका पोष्टले आफ्नै प्रतिष्ठा र लोकप्रियतालाई पछाडि धकेलिरहेको छ ।

‘रुटिन अफ नेपाल बन्द’ पेजका संस्थापक भिक्टर पौडेल सामाजिक सञ्जालमार्फत नकारात्मक कुरालाई जोड दिन नहुनेमा जाेड दिन्छन् ।

“सामाजिक सञ्जालमा आएका सबै आलोचनाको प्रतिकार गर्नुपर्छ भन्ने हुँदैन,” उनी भन्छन्, “यस्ता माध्यममा आफ्नो कमजोरी देखाउँदा तेस्राे पक्षले त्यसको फाइदा उठाउँछ ।”

विशेषगरी राजनीति तथा सामाजिक व्यक्तित्व भएका व्यक्ति सामाजिक सञ्जालको भीडले उत्साहित भएर आफ्नो ईर्ष्या पोख्न खोज्दा अन्य मानिसले फाइदा उठाइरहेकाे उनको बुझाइ छ ।

“प्रतिनिधिसभा र प्रदेशसभा चुनाव नजिकिँदै छ,” उनी भन्छन्, “त्यसै विषयलाई केन्द्रित गरेर मानिसहरूले बालेन र महेशजी (महेश बस्नेत)बीच एक किसिमको असमझदारी सिर्जना गरेका छन् । यसमा बालेनजीले दिएको प्रतिक्रिया पनि मलाई चित्त बुझेको छैन, अनि महेशजीले लेखेका पोष्ट पनि ।”

डिजिटल साक्षरताका बारेमा पर्याप्त ज्ञान नहुँदा नेताहरूकाे छवि बिग्रिरहेको उनी बताउँछन् ।

त्यस्तै ‘सोसल मिडिया म्यानेजर’ राख्ने प्रचलन नेपालमा त्यति प्रचलित नभइसकेको उनकाे बुझाइ छ । उनी सामाजिक सञ्जाल प्रयोग गरिरहँदा संयन्त्रित भएर प्रयोग गर्ने कुरामा जोड दिन्छन् ।

“विभिन्न राजनीतिक व्यक्तिहरूबीच समाजिक सञ्जालमा हुने जुहारी ठीक होइन,” उनी भन्छन्, “त्यसका लागि दुई पक्षबीच फोनबाट कुरा गरेर वा भेटेर त्यस्ता समस्याको समाधान गर्दा उत्तम हुन्छ ।”

सामाजिक सञ्जालमा देखिएका प्रतिक्रियालाई आवेगमा आएर प्रतिकार गर्दा सार्वजनिक व्यक्तित्वको अरूका अघि नराम्रो बनेका उदाहरणहरू छन् । एउटा सार्वजनिक व्यक्तित्व भइसकेपछि बोलेका स-साना कुराले पनि ठूलो अर्थ राख्छन् ।

कतिपय मानिसहरूले त्यसलाई समाजसँग जोड्छन्, राजनीतिसँग जोड्छन्, उसको संस्कार र परम्परासँग जोड्छन् । त्यसैले सामाजिक सञ्जाल धारिलो हतियारजस्तै हुन्छ भनिएको छ ।

यसलाई सदुपयोग गर्न सके काम सहज हुन्छ । सदुपयोग गर्न सकिएन भने यसले जीवनमा दुर्घटना निम्त्याउँछ ।

सामाजिक सञ्जालमा सामान्य कुरा पनि पोस्ट गर्ने र प्रतिक्रिया दिन खोज्ने ‘सेलिब्रेटी’हरू विवादमा तानिएकाे पाइन्छ ।

मानिसको गोपनीयता पनि हुन्छ भन्ने नबुझ्दा नायिका करिश्मा मानन्धर पनि पछिल्लो समय विवादमा तानिइन् ।

सामाजिक माध्यममा सबैभन्दा पहिले आफ्ना व्यक्तिगत विचार राख्न खोज्दा कैयन् मानिस अरूका अघि नराम्रो पात्र बन्न पुगेका छन् ।

सामाजिक सञ्जाल फेसबुक, ट्वीटरजस्ता माध्यममा राखेका विचारले उनीहरूलाई विवादमा तानेका घटना विश्वभर यत्रतत्र छन् ।

विवादले सधैँ पछि पार्छ भन्ने पनि हुँदैन । तर, सो विवाद अस्वाभाविक रहेछ भने त्यसले राजनीतिक वा व्यावसायिक करियर नै धरापमा पार्न सक्छ ।

पछिल्लो समय धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ पनि सामाजिक सञ्जालमा निकै सक्रिय छन् ।

हिलेको परिस्थितिमा हर्क साम्पाङ र उनको फेसबुकको अकाउन्ट एक अर्काका परिपूरक नै हुन् भन्दा फरक नपर्ला ।

एउटा विन्दुमा लोकप्रिय ठहरिएका हर्क साम्पाङका समर्थक अहिले दुई भागमा विभाजित भएका छन् ।

स्थानीय तहको निर्वाचनमा केही स्वतन्त्र उम्मेद्वारले जीत निकाल्नुमा सामाजिक सञ्जाल र यसले सिर्जना गरेकाे जनमत ठूलाे कारक थियाे ।

तर स्वतन्त्र उम्मेद्वारी दिएर जितेका जनप्रतिनिधिहरु नै एक-आपसमा क्रिया प्रतिक्रियामा उत्रिए ।

केही समयअघि काठमाडाैं भ्रमण गरेर फर्किएका धरानका मेयर साम्पाङ अहिले फेसबुकमा राखेका पोस्टले नै विवादमा तानिइरहेका छन् । उनका पोस्टले मानिसहरूलाई दुई भागमा बाँडेको छ ।

केही मानिसहरूले उनका हरेक पाेस्टमा वाहवाही गर्छन् । उसैगरी विरोध गर्ने जमात पनि छ ।

आफ्नो विरोधमा आएका प्रतिक्रियाको उट्पट्याङ जवाफ दिन खोज्दा साम्पाङ कैयौँ पटक मजाकको पात्र बनेका छन् । त्यस्ता पोस्टबाट उनलाई मानिसहरूले हेर्ने नजर पनि बदलिएकाे छ ।

सामाजिक सञ्जालमा अपरिपक्व व्यवहार देखाउँदा सार्वजनिक व्यक्तित्वको छवि बिग्रेका तमाम उदाहरण छन् ।

यस्ताे प्लेटफर्म सार्वजनिक रूपमा सबैको पहुँचमा पुग्ने भएकाले संयमित भएर प्रयोग गर्न जरूरी छ । नत्र क्षणभरमै जनमत गुम्ने र आफूप्रति सबैतिरबाट अविश्वास बढ्नसक्ने कुरालाई नकार्न सकिन्न ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३