close

भारतीयले बनाए मान्छे बोक्ने ड्रोन

टेकपाना टेकपाना

भदौ १६, २०७९ १३:३४

भारतीयले बनाए मान्छे बोक्ने ड्रोन

काठमाडौं । भारतको एक स्टार्टअप कम्पनीले मान्छे बोक्ने ड्रोन तयार पारेको छ । २९० किलोग्राम तौल, १४ फिटको लम्बाइ र १६ ओटा विद्युतीय मोटर भएको उक्त ड्रोनमा मानिस बसेर यात्रा गर्नसक्छन् ।

याे ड्रोन सागर डिफेन्स इन्जिनियरिङ नामक स्टार्टअप कम्पनीले तयार पारेको हो । यसलाई एक ठाउँबाट अर्को ठाउँमा मान्छे बोकेर लग्न सकिने देशकै पहिलो स्वचालित आर्टिफिसियल इन्टेलिजेन्स इलेक्ट्रिक विमान भनेर दाबी गरिएको छ ।

यो अहिले प्रोटोटाइपका रूपमा विकास गरिएको छ । उक्त ड्रोनलाई स्वास्थ्य सेवा उपलब्ध गराउन तयार पारेको कम्पनीले बताएको छ ।

आपतकालीन स्वास्थ्य सेवा दिने उद्देश्यले तयार पारिएको प्रोटोटाइप भएकाले अहिलेलाई लामो दूरीका लागि यो उपयुक्त नहुने कम्पनीको भनाइ छ ।

यसलाई छिट्टै व्यावसायिक हिसाबले मान्छे बोक्ने ड्रोनका रूपमा सञ्चालन गर्ने कम्पनीले जनाएको छ । २९० किलो तौल भएको उक्त ड्रोन मान्छे बोक्नका लागि सक्षम भए तापनि कत्तिको सुरक्षित छ भन्ने कुरा धेरैको चासो विषय थियो ।

यस विषयमा बोल्दै सागर डिफेन्स इन्जिनियरिङका सीईओ निकुंज पराशर भन्छन्, “यो सुरक्षित छ । यदि कुनै पनि समयमा तीनदेखि चार ओटासम्म पंखा बन्द भए पनि हावामा उही गतिमा उडिरहन्छ । त्यस्तै यस ड्रोनमा चारओटा अटोपाइलट समावेश छन् । यदि एउटा बिग्रियो भने अन्य तीनओटाले काम गर्छन् । त्यसैले यो हरेक परिस्थितिमा सुरक्षित छ ।”

यदि केही गरी सबै कुरा बिग्रियो भने त्यसमा प्यारासुट समेत जोडिएको हुन्छ, जसले यात्रीलाई सुरक्षित रूपमा उतार्न सहयोग गर्ने कम्पनीले दाबी गरेको छ ।

कम्पनीका अनुसार यस ड्रोनलाई भारतीय सेनाको आवश्यकताका लागि तयार पारिएको हो ।

हालै एक कार्यक्रम आयोजना गर्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका अघि याे ड्राेन प्रदर्शनी गरिएकाे थियाे ।

कुनै व्यस्त सडकमा सवारी दुर्घटना हुँदा एम्बुलेन्स पुग्न समय लाग्ने समस्यालाई मध्यनजर गर्दै छोटो समयमा घाइते व्यक्तिलाई एम्बुलेन्ससम्म पुर्‍याउन यस ड्रोनको महत्त्वपूर्ण भूमिका रहने भारतीय रक्षामन्त्रीको विश्वास छ ।

यस ड्रोनलाई सर्वसाधारणले प्रयोग गर्न सकिने गरी दुईदेखि तीन वर्षभित्र तयार पार्ने कम्पनीका निर्देशक पीएम कुरूलकरले बताएका छन् ।

विभिन्न सरकारी संस्थाबाट प्रमाणीकरण लिनुपर्ने भएकाले त्यति समयमा व्यावसायिक रूपमा मानवरहित ड्रोन उडान सुरु गर्न सकिने उनले उल्लेख गरे ।

-बीबीसी हिन्दीबाट ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३