काठमाडौं । डिजिटल वालेट ‘खल्ती’ यसपालि हुन गइरहेको पहिलो “नाडा ईभी एक्स्पो २०२२” मा एकमात्र टिकटिङ पार्टनर बनेको छ । यससँगै एक्स्पोमा सहभागी हुन टिकट खल्तीमार्फत टिकेट खरिद गर्नुपर्ने भएको छ । असोज ६ देखि असोज ९ सम्म
भृकुटीमण्डपमा हुने एक्स्पोमा प्रवेशका लागि टिकेट शुल्क विद्यार्थीलाई १५० र अन्यका लागि २०० रुपैयाँ तोकिएको छ । यद्यपि टिकेट खरिदमा ग्राहकले २५ प्रतिशत क्याशब्या प्राप्त गर्न सकिने खल्तीले जनाएको छ ।
विद्युतीय सवारी साधनबारे जनचेतना अभिवृद्धि गर्न आयोजना हुन लागेको ईभी एक्स्पोमा विभिन्न कम्पनीहरूले आफ्ना विद्युतीय गाडीहरू प्रदर्शनीमा राख्नेछन् । साथै त्यहाँबाट उनीहरूको सेवा र स्किमहरूको बारेमा पनि जानकारी लिन सकिनेछ ।
एक्स्पोमा ठूला तथा साना गरि ५१ वटा स्टल तथा ब्लक रहने छन् । एक्स्पोमा नौ ओटा ब्राण्डका चार पाङ्ग्रे, एउटा ब्राण्डको तीन पाङ्ग्रे, १६ वटा ब्राण्डका दुई पाङ्ग्रे, तीन ओटा ब्राण्डका टायर, दुई ओटा ब्राण्डका ब्याट्री, नौ ओटा पार्टपुर्जा, ग्यारेज उपकरण कम्पनी एवं अटो पत्रिका तथा चार ओटा वित्तीय संस्थाको सहभागिता रहनेछ ।
एक्स्पोलाई बढी जानकारी मूलक, सेवा मूलक र ग्राहकमुखि बनाउन वित्तीय सेवा, बिक्री पछिको सेवा एवं बीमाका साथै खल्तीको समेत स्टल रहनेछ । खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले कम्पनीको अनलाइन टिकेट सुविधाले प्रदर्शनी स्थलमा भिडभाड कम गरि आगन्तुकहरूको भ्रमणलाई सहज बनाउने र प्रदर्शनीलाई अझ सहज बनाउने कुरामा आफूहरू विश्वस्त रहेको बताए ।