close

आईओएस १६ मा प्रयोगकर्तालाई कपी पेस्ट गर्न गाह्रो

टेकपाना टेकपाना

असोज १, २०७९ २३:३४

आईओएस १६ मा प्रयोगकर्तालाई कपी पेस्ट गर्न गाह्रो

काठमाडौं । एप्पलले आईफोन प्रयोगकर्ताका लागि गत साेमबार आईओएस १६ सार्वजनिक गरेको थियो । एप्पलले नयाँ अपरेटिङ सिस्टममा ल्याएका केही आकर्षक फिचरहरू जस्तै; पठाएको मेसेज एडिट वा डिलिट गर्ने, आफूले कस्टमाइज गर्नसक्ने लक स्क्रिन, तस्वीरमा भएका अनावश्यक वस्तु हटाउने जस्ता फिचरहरूले थुप्रै आईफोन प्रयोगकर्ता नयाँ अपडेट इन्स्टल गर्न आतुर थिए ।

तर, यसमा भएका केही कमजोरीले प्रयोगकर्ता निराश भएका छन् । अपडेट उपलब्ध भएको केही समयसम्म नयाँ एप डाउनलोड गर्न समस्या आएको कुरा प्रयोगकर्ताले बताएका छन् ।​ यसो त नयाँ अपरेटिङ सिस्टममा समस्या आएको यो पहिलो घटना भने होइन । हरेक पटक नयाँ अपरेटिङ सिस्टम सार्वजनिक गर्दा एप्पल कुनै न कुनै कुरामा चुकिरहेको हुन्छ ।

आईओएस १५ उपलब्ध हुँदा त्यसमा विश्वभरका प्रयोगकर्ताले ब्याट्री छिटो खपत भएको कुरा विभिन्न सामाजिक सञ्जालका माध्यममा राखेका थिए । एप्पलले यो समस्या फोन आन्तरिक समस्या आएर ब्याट्री छिटो खपत भएको जवाफ दिएको थियो । पछि भने समस्या अपरेटिङ सिस्टममा भएको भन्दै उक्त समस्या समाधान भइसकेको बताएको थियो ।

 

अहिलेको पछिल्लो आईओएस अपडेटमा पनि केही प्रयोगकर्ताले कपी पेस्ट नहुने समस्या भोगिरहेका छन् । विभिन्न प्रयोगकर्ताले किबोर्डको क्लिपबोर्डमा संवेदनशील डेटा जस्तै; पासवर्ड, व्यक्तिगत फोटो, टु-फ्याक्टर पासकोड जस्ता कुरा राखेका हुन्छन् । जसले गर्दा कुनै पनि साइटमा उक्त अकाउन्ट प्रयोग गर्दा सजिलै लगइन गर्न सकियोस् ।

नयाँ आएको अपडेटमा कपी गरिएका विभिन्न वस्तुहरू पेस्ट गर्न समस्या आएको प्रयोगकर्ताको गुनासो छ । उदाहरणका लागि कुनै फोटोको भागलाई सेलेक्ट गरेर कपी गरियो । अब त्यसलाई मेसेजमा पेस्ट गर्दा हरेक पटक पर्मिसन मागिरहन्छ ।

त्यस्तै उक्त भाग नोट्समा पेस्ट गर्दा पनि हरेक पटक पर्मिसन दिनुपर्ने हुन्छ । फोटो एप्पलको आफ्नै एप्लिकेसनमा पेस्ट गर्दा पनि पर्मिसन मागिरहेको हुन्छ, जसले गर्दा प्रयोगकर्ता दिक्दार भएका छन् । त्यसका लागि प्रयोगकर्ताले सिस्टममा ‘अलवेज अलाउ’ को विकल्प समावेश गर्न माग गरेका छन् ।

पछिल्लो अध्यावधिक: असोज १, २०७९ ०:०