close

हिरोले ल्यायो आफ्नो पहिलो विद्युतीय स्कुटर, सिङ्गल चार्जमा १६५ किमिसम्म गुड्ने

टेकपाना टेकपाना

असोज २६, २०७९ १७:३०

हिरोले ल्यायो आफ्नो पहिलो विद्युतीय स्कुटर, सिङ्गल चार्जमा १६५ किमिसम्म गुड्ने

काठमाडौं । विश्वमा सबैभन्दा बढी मोटरसाइकल बिक्री गर्ने भारतीय कम्पनी हिरो मोटो कर्प (हिरो)ले आफ्नो पहिलो विद्युतीय स्कुटर सार्वजनिक गरेको छ । कम्पनीले हालै जयपुरमा एक कार्यक्रम गर्दै 'हिरो भिडा वान' (Hero Vida1) नामकाे विद्युतीय स्कुटरको ग्लोबल लन्च गरेको हो ।

याेसँगै विद्युतीय सवारीको बजारमा उदाउँदै गरेका ओला इलेक्ट्रिक र टाइगर ग्लोबललाई चुनौती पुग्ने विश्लेषण गरिएकाे छ । "हामीले यो उत्पादन यसअघि नै सार्वजनिक गर्ने सोच बनाएका थियौं । सबैका लागि राम्रो होस् भनेर उपयुक्त समयको पर्खाइमा थियौं," हिरोका अध्यक्ष पवन मुन्जलले एक सञ्चारमाध्यमलाई भने ।​

हिराेले दुई भेरियन्टमा भिडा वान स्कुटर ल्याएकाे छ, 'भिडा वान प्लस' र 'भिडा वान प्राे' ।

प्लस माेडेलकाे मूल्य एक लाख ४५ हजार भारू रहेकाे छ, जुन सिङ्गल चार्जमा अधिकतम १४३ किमिसम्म गुड्छ भने प्राे माेडेलकाे मूल्य एक लाख ५९ हजार भारू ताेकिएकाे छ, जुन एक पटककाे फुल चार्जमा १६५ किमिसम्म गुड्ने कम्पनीले जनाएकाे छ । 

यी दुवै मोडेल ८० किलोमिटर प्रति घण्टाका दरले गुड्नसक्ने कम्पनीको भनाइ छ । नेपाली बजारमा सन् २०२३ को सुरूवाततिर यो स्कुटर भित्रिने अपेक्षा गरिएको छ ।

यसो त हिरोले पहिले नै विद्युतीय सवारी निर्माण गर्ने स्टार्टअपमा लगानी गर्दै आएको छ । गत सेप्टेम्बरमा हिरोले संयुक्त रूपमा विद्युतीय स्कुटर निर्माणका लागि क्यालिफोर्नियामा आधारित 'जिरो मोटरसाइकल'मा ६० मिलियन डलर लगानी गर्ने बताएको थियो ।

त्यस्तै गत जनवरीमा हिरोले विद्युतीय गाडी निर्माता एथरमा ५६ मिलियन डलर लगानी घोषणा गर्ने घोषणा गरेको थियो । त्यस्तै 'हिरो'ले सन् २०२१ मा ताइवानको गोगोरोसँग ब्याट्री शेयरिङ इन्फ्रास्ट्रक्चरका लागि सहकार्य गरेको थियो ।

पछिल्लो अध्यावधिक: असोज २६, २०७९ १७:३८