close

विद्यालयमा रोबोटिक्स शिक्षा दिने नेपाली स्टार्टअप

टेकपाना टेकपाना

असोज २९, २०७९ २१:२७

विद्यालयमा रोबोटिक्स शिक्षा दिने नेपाली स्टार्टअप

काठमाडौं । प्रविधिको प्रयोग बढेसँगै विभिन्न क्षेत्र डिजिटलाइज हुने क्रम जारी छ । अबको भविष्य सूचना, सञ्चार तथा प्रविधिलाई मानिएको अवस्थामा विभिन्न विद्यालयले पनि डिजिटल शिक्षालाई आत्मसात् गरेर त्यसैलाई जोड दिइरहेका छन् । यसै सिलसिलामा नेपालका विभिन्न विद्यालयमा रोबोटिक्ससम्बन्धी शिक्षा दिन सुरु भएको कम्पनी हो, रोबो टेक नेपाल ।

रोबो टेक नेपाल २०७८ चैत महिनाबाट सञ्चालनमा आएको एउटा त्यस्तो कम्पनी हो, जसले विद्यालयहरूमा अतिरिक्त पाठ्यक्रमका रूपमा रोबोटिक्स शिक्षालाई जोड दिएको छ । कम्पनीका सहसंस्थापकहरू हुन्, हेम खड्का, समीर भण्डारी र अम्रेत विराजी यादव ।

आफ्नै रोबोटिक्स पाठ्यक्रम

कम्पनीले अहिले आठ ओटा विद्यालयमा रोबोटिक्स पाठ्यक्रम अध्यापन गराइरहेको छ । हाल यस कम्पनीमा कुल पाँचजना कार्यरत छन्, जसले हरेक साताको एक दिन एउटा कक्षालाई रोबोटिक्स सम्बन्धी व्यवहारिक तथा सैद्धान्तिक शिक्षा दिने गर्छन् ।

"विद्यार्थीहरूलाई आर्टतर्फ नृत्य तथा संगीत शिक्षा दिइएको हुन्छ, त्यस्तै विद्यार्थीको शिक्षालाई प्रभावकारी बनाउन अन्य विविध पाठ्यक्रम समावेश गरिएको हुन्छ," रोबो टेक नेपालका सहसंस्थापक हेम खड्काले भने, "त्यसै अन्तर्गत बालबालिकालाई रोबोटिक्सको शिक्षा दिन यस्तो योजना बनाएका हौं ।" 

यसका लागि कम्पनीले आफ्नै रोबोटिक्स पाठ्यक्रम तयार पारेकाे छ ।

कसरी सेवा दिइन्छ ?

यसबाट विशेषगरी विद्यालयले लाभ लिन सक्छन् । आफ्ना विद्यार्थीलाई अतिरिक्त पाठ्यक्रमका रूपमा रोबोटिक्स पढाउन चाहने विद्यालयले रोबो टेक नेपाललाई सम्पर्क गर्नुपर्ने हुन्छ । उनीहरूले विद्यालयको माग अनुसार कक्षा ४ देखि ९ सम्मका विद्यार्थीलाई यस्ताे शिक्षा उपलब्ध गराउने खड्काले बताए ।

यसका लागि विद्यालयले निश्चित शुल्क कम्पनीलाई​ बुझाउनुपर्ने हुन्छ । पाठ्यक्रम अध्ययन गर्ने विद्यार्थीले भने अतिरिक्त शुल्क तिर्नुपर्ने छैन ।

रोबोटिक्स सम्बन्धी प्राक्टिकल गर्दा भने विद्यार्थीलाई केही शुल्क लाग्न सक्छ । त्यसका लागि वार्षिक रूपमा एक विद्यार्थीले हजार रुपैयाँसम्म खर्च गरे पुग्ने खड्काको भनाइ छ ।

कुन कुन विषयमा शिक्षा दिन्छ ?

नाम अनुसार कम्पनीले रोबोटिक्स सम्बन्धी काेर्ष तयार पारेकाे छ । "विद्यार्थीले दिनभर सैद्धान्तिक शिक्षा लिइरहेका हुन्छन् । त्यस्तो अवस्थामा व्यवहारिक शिक्षाको अभाव हुँदा विद्यार्थीलाई पढाइमा कठिन भइरहेको हुन्छ," उनी भन्छन्, "व्यवहारिक शिक्षाले विद्यार्थीलाई सिर्जनशील तथा सक्रिय बनाउने भएकाले राेबो टेक नेपालको परिकल्पना गरेका थियौं ।"

यसबाट विद्यार्थीलाई वेटर रोबोट, ड्रोन, स्याटलाइट, स्मार्ट धारा, स्मार्ट स्टिक लगायतका उपकरण बनाउन सिकाइने उनले बताए ।

''यस्ता शिक्षाबाट विद्यार्थीले विभिन्न स्मार्ट डिभाइसले कसरी काम गर्छन् भन्ने कुराको व्यवहारिक ज्ञान पाउँछन्, जसले गर्दा प्रविधितर्फ उनीहरूको रुचि बढ्दै जान्छ,'' उनले भने ।

विद्यालयले आयोजना गर्ने वार्षिकाेत्सव कार्यक्रममा विद्यार्थीले आफूले तयार पारेको रोबोट प्रर्दशनीका लागि राख्न सक्छन् । यसरी विद्यार्थी हरेक वर्ष नयाँ कुरा सिक्न प्रेरित हुने खड्काको विश्वास छ । अहिले ८ ओटा विद्यालयमा सञ्चालन भइरहेको कोर्ष तिहारपछि विस्तार गर्दै लग्ने कम्पनीकाे योजना छ ।

पछिल्लो अध्यावधिक: असोज २९, २०७९ २१:२७