close

अनलाइन गेम खेल्दा के के हुन्छ फाइदा ?

टेकपाना टेकपाना

असोज ३०, २०७९ ११:१४

अनलाइन गेम खेल्दा के के हुन्छ फाइदा ?

काठमाडाैं । भिडिओ गेम खेल्दा बेफाइदा मात्र होइन, फाइदा पनि हुन्छ भनेर बताउँदा अपत्यारिलो लाग्न सक्छ । तर यो कुरा साँचो हो ।

भिडिओ गेमलाई लिएर गरिएका खोज तथा अनुसन्धानहरूले यो कुरा प्रमाणित गरिसकेका छन् । त्यसैले आज हामी गेम खेल्दा के के फाइदा हुन्छन् त भन्नेबारे कुरा गर्दै छौँ । 

 

१. बौद्धिक सचेतनामा वृद्धि

भिडिओ गेमले बौद्धिक सचेतनाको वृद्धि विकासमा मद्दत पुर्‍याउँछ । विशेषगरी यसले वस्तुहरू र ती वस्तुबीचको सम्बन्धलाई चिन्न र सम्झने क्षमतालाई बढाउँछ ।

यो क्षमता दैनिक कार्यहरू जस्तै ड्राइभिङ गर्दा बाटोहरु पत्ता लगाउन र आफ्नो वरपरका वस्तुहरुलाई दिमागमा भिजुअलाइज गरी सम्झन उपयोगी हुन्छ । भिडिओ गेम खेल्दा गेममा मात्र ध्यान हुने हुँदा एकाग्रतामा समेत वृद्धि हुन्छ ।

 

२. समस्या समाधान गर्ने क्षमता तथा तार्किक क्षमतामा अभिवृद्धि

अष्ट्रेलिया र चिनियाँ अनुसन्धान टोलीहरूबाट सन् २०१५ मा गरिएको अध्ययनले गेमिङले समस्या समाधान गर्ने सीप र तार्किक क्षमतामा सुधार गर्छ भनेर देखाएको छ ।

पब्जी जस्ता गेम खेल्दा कहाँ उत्रने, कसरी बाँच्ने , कताबाट जाँदा सुरक्षित भइन्छ भन्ने कुरामा आफ्नो तार्किक क्षमता प्रयोग गरिरहेका हुन्छन् । सँगै गेम भित्र आउने समस्याहरु समाधान गर्दै खेलिरहेका हुन्छन् । जसले वास्तविक जीवनमा पनि सकरात्मक प्रभाव देखाउँछ । 

३. हात र आँखाको राम्रो समन्वय

गेमरहरुले गेम खेल्दा हात र आँखा सँगै चलिरहेको हुन्छ, जसले गर्दा दैनिक जीवनमा हात र आँखाले एक साथ गर्नुपर्ने काममा सामान्य मानिस भन्दा केही अगाडि हुन्छन् ।

हात र आँखाको समन्वय राम्रो हुनाले गर्दा टाइपिङ गर्न, बाइक ड्राइभिङ गर्न सिक्न अरुलाई भन्दा सहज हुन्छ । 

४. धेरै काम एकैसाथ गर्नसक्ने क्षमतामा वृद्धि

 गेमले धेरै कामलाई एकैसाथ गर्नै क्षमताको विकासमा मद्दत गर्छ । जसले गर्दा एकै समयमा धेरै काम छिटो सक्काउन सकिन्छ । गेमहरुले गेम खेल्दा धेरै कुरा एकसाथ गरिरहेका हुन्छन् ।

उदाहरणको लागि कोही पब्जी खेल्छ भने उसले एनिमी सँग फाइट गर्दा गर्दा मेडिकिट पनि गरिसकेको हुन्छ । साथमा कति गोली बाँकी छ, दुश्मन कता छ, कताबाट गोली आइरहेको छ जस्ता कुरा पनि याद गरिरहेको हुन्छ र त्यहीअनुसार गेम खेलिरहेको हुन्छ । 

५. छिटो र ठिक निर्णय लिन सक्नु

गेमरहरु जो विशेषगरी पब्जी, फ्रिफायर, एपेक्स लेजेन्ड जस्ता गेम खेल्छन् । उनीहरुमा गेम नखेल्ने मानिसहरुको तुलनामा छिटो निर्णय लिनसक्ने क्षमता हुन्छ ।

रोचेस्टर विश्वविद्यालयका अन्वेषकहरूले गेम खेल्ने र गेम नखेल्ने मानिसहरुको बीचमा गरेको एउटा अध्ययनले गेमहरुले निर्णय लिने कुरामा अरुको भन्दा २५ प्रतिशत छिटो हुने निष्कर्ष निकालेका थिए । साथै उनीहरुकाे निर्णय अरुको भन्दा बढी सही पनि थिए । 

६. आँखाको हेराइ राम्रो हुन्छ

टिमोथी जे राइट र ड्यानियल पी ब्लेकलीले केही वर्ष पहिले गरेको एक अध्ययनबाट गेम खेल्ने मानिसहरुको आँखाको हेराइ राम्रो हुने कुरा पत्ता लगाए ।

विशेषगरी ब्याटल रोयल गेम खेल्ने मानिसहरुले एकै पटक धेरै कुराहरु हेरिरहेका हुन्छन् । जसले गर्दा वास्तविक जीवनमा बाइक ड्राइभ गर्दा वा भीडमा कसैलाई खोज्दा केही मद्दत मिल्छ ।

तर यो भन्दैमा गेममात्र खेलिरहन भने भएन । बिना विश्राम गेम खेल्दा आँखालाई असर गर्छ । त्यसैले गेम खेल्दा केही समय विश्राम लिने गर्नुपर्छ । 

 

७. शारीरिक गतिविधि

नयाँ प्रविधिमा आधारित भएर आएका भीआर गेमहरुले शरीरलाई तन्दुरुस्त राख्नलाई पनि मद्दत गर्छन् । यस्ता गेममा आफैँ खेलिरहेको महसुस हुन्छ । जसले गर्दा गेम खेलिरहे पनि बाहिर गेममा नै गरिरहेको क्रियाकलाप भइरहेको हुन्छ ।

उदाहरणका लागि भीआरमा यदि कसैले बक्सिङ खेलिरहेको छ भने उसले वास्तवमा नै हात चलाइरहेको हुन्छ । त्यसैले घरभित्रै बसेर गेम खेल्ने बानी परेको छ भने शारीरिक तन्दुरुस्तीमा पनि गेमले मद्दत गर्छ । 

८. मानसिक तनावमा कमी 

दिनभर काम गरेर आएको मानिसलाई गेमले आराम दिन्छ । साथीभाइ वा मिल्ने मान्छैसँग गेम खेल्दा दिनको तनावलाई सजिलै भुलाइदिन्छ । यसबाहेक गेम खेल्नुका अन्य थुप्रै फाइदा छन् ।

कोही कुलतमा फसेको छ भने उसलाई गेमबाट केही हदसम्म छुटाउन सकिन्छ । साथै गेम एक्लोपनको साथी पनि बन्न सक्छ । यी त भए गेमका फाइदाहरु । गेमका थुप्रै बेफाइदा पनि छन् ।

दिनमा केही समय मात्र गेम खेल्यो भने यसले थुप्रै फाइदा गर्छ, तर धेरै समय गेमतिर नै बिताउन थालियो भने भविष्य अन्धकार पनि हुन सक्छ ।

पछिल्लो अध्यावधिक: असोज ३०, २०७९ ११:१४