close

भन्सार कार्यालयमा गाडी जाँच गर्न स्क्यानर राखिँदै

टेकपाना टेकपाना

असोज ३१, २०७९ १३:४८

भन्सार कार्यालयमा गाडी जाँच गर्न स्क्यानर राखिँदै

काठमाडौं । विदेशबाट आयात हुने गाडीहरूको जाँचका लागि भन्सार कार्यालयहरूमा ‘भेहिकल स्क्यानर’ राखिने भएको छ । नेपाल भित्रिने गाडी तोकिएको मापदण्ड अनुसारका भए/नभएको जाँच गर्न भन्सार विभागले प्रविधि प्रयोग गर्न लागेको हो ।

त्यसका लागि विभागले गत असोज १ गते स्क्यानर खरिदका लागि अन्तर्राष्ट्रिय रुपमा आह्वान पत्रमा माग गरेको थियो । त्यसका आधारमा अन्तिम दिन अर्थात् आइतबारसम्म पाँच कम्पनीले आह्वान पत्र बुझाएका छन् ।

विभागका अनुसार विदेशबाट आयात हुने गाडी तोकिएको मापदण्डअनुसार छ वा छैन भन्ने विषयको यकिनका लागि यो प्रणाली जडान गर्न लागिएको हो । हालसम्म 'म्यानुअल' रुपमा भन्सार कार्यालयमा कार्यरत कर्मचारी आफैंले गाडीको परीक्षण गर्नुपर्ने बाध्यता छ ।

त्यसलाई अन्त्य गर्दै सोझै प्रणालीले गाडीको पूर्ण स्क्यान गरी गाडीभित्र भएको सम्पूर्ण जानकारी लिनेछ । त्यो हुँदा भन्सार पासको प्रक्रिया पनि सहज हुने विभागले जनाएको छ । विभागका अनुसार प्रारम्भिक छलफलमा यो सेवा तीनदेखि पाँच ओटा भन्सार कार्यालयमा राख्ने योजना भएको छ । तर, यस विषयमा हालसम्म कुनै निर्णय भने भइसकेको छैन ।

एउटै कार्यालयमा प्रणाली जडान गरी सेवा लिन करोडौं खर्च हुनेहुँदा कति ओटा कार्यालयमा राख्ने भन्ने विषय निर्धारण हुने विभागले जनाएको छ ।

छनोट हुने कम्पनीले उसको सिस्टम ल्याएर भन्सारमा राख्नेछ र त्यसको सञ्चालन तथा व्यवस्थापन पनि गर्नेछ । साथै आवश्यकता अनुसार गाडीको स्क्यान गर्ने कार्यालयलाई सेवा उपलब्ध गराउने जनाएको छ ।

यो सेवा सबै भन्सार कार्यालयमा सञ्चालनमा आउन थोरैमा पनि डेढ वर्ष लाग्ने अनुमान गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज ३१, २०७९ १४:४