close

सरकारी सेवाको जानकारी दिन एआई च्याटबट प्रयोग गर्दैछौं: प्रधानमन्त्री प्रचण्ड

टेकपाना टेकपाना

फागुन २०, २०८० १२:३९

सरकारी सेवाको जानकारी दिन एआई च्याटबट प्रयोग गर्दैछौं: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारी निकायले दिने सेवाको जानकारीका लागि एआईमा आधारित च्याटबट प्रयोग गरिने बताएका छन् । एआईले नवप्रवर्तन तथा उत्पादकत्व क्षेत्रमा नवयुगको आरम्भ गरेको बताउँदै आइतबार भएको ‘समृद्ध नेपालका लागि कृत्रिम बौद्धिकता रोजगारीको अवसर’ कार्यक्रममा प्रधानमन्त्री दाहालले सूचना प्रवाहका लागि एआई च्याटबट प्रयोग गरिने बताएका हुन् ।

“सूचना प्रविधि क्षेत्रमा उदाइरहेको एआईले विश्वलाई तरङ्गित तुल्याएको छ । भविष्यमा एआई सबै क्षेत्रमा अपरिहार्य हुनेछ,” प्रधानमन्त्री प्रचण्डले भने, “मानिसले गर्ने नियमित गर्ने कार्यहरू वा धेरै समय लगाएर गर्ने कामहरू तथा नवप्रवर्तन तथा उत्पादकत्वमा एआई उपयोगी रहन्छ ।”

“दक्षिण एसियाका सबैजसो देशहरू एआई सम्बन्धी नीति तथा रणनीति तर्जुमा गरी यसको विकास र उपयोगमा लागिरहेका छन् । नेपालमा समेत एआई सम्बन्धी क्रियाकलाप व्यवस्थित तुल्याउन र आईटीको क्षेत्रमा सार्थक हस्तक्षेपका निम्ति नीतिगत प्रबन्ध र व्यवस्थापकीय विषयमा जोड दिन जरुरी भइसकेको छ ।” 

त्यस्तै उनले अबको दुनियाँमा पेपरलेस र फेसलेस प्रणालीबाट सेवा प्रवाह गरेर मात्र सुशासनको प्राथमिकतालाई सार्थक रूप दिन सकिने बताए । 

सरकारले कम्प्युटर प्रविधि, रोबोटिक प्रविधि, डेटा साइन्स,  मसिन लर्निङ, इन्टरनेट अफ थिङ्स, कम्प्युटेसन पूर्वाधार विकासका लागि आफ्नो तर्फबाट गर्नुपर्ने कार्यमा आवश्यक पहल गरिरहेको उनको भनाइ छ ।

त्यस्तै नेपालमा बन्ने एआई सम्बन्धी नीतिलाई राष्ट्रिय विज्ञान तथा प्रविधि नवप्रवर्तन नीति २०७६ तथा डिजिटल नेपाल फ्रेमवर्कसँग समन्वय गर्ने पनि उनले उल्लेख गरे । सरकारले हाल उदयमान प्रविधिका क्षेत्रहरू पारमाणविक प्रविधि, भूउपग्रह प्रविधि, जैविक प्रविधि, ड्रोन प्रविधि आदिमा विभिन्न अध्ययन तथा अनुसन्धानका कामहरू अघि बढाइरहेको उनको भनाइ छ । 

त्यस्तै उनले विज्ञान तथा प्रविधि नवप्रवर्तन कोष निर्माणका लागि बजेट विनियोजन गरिसकेको बताए । अब त्यस कोषलाई पूर्ण कार्यान्वयनमा लगेर प्रविधिको क्षेत्रमा आत्मनिर्भरता सिर्जना गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई उनले आग्रह समेत गरे । 

त्यस्तै आगामी वर्षको नीति कार्यक्रम बजेट प्रस्तावमा विज्ञान प्रविधि अनुसन्धान र नवप्रवर्तनलाई विशेष महत्त्व दिइने उनको भनाइ छ । साथै प्रस्तावित १६ औं आवधिक योजनामा समेत यस क्षेत्रलाई महत्वका साथ समावेश गरिने उनले जनाए । नवप्रवर्तन तथा उत्पादकत्व वृद्धिको सवालमा आगामी वर्षदेखि सरकारी निकायहरूले एआईको भूमिका बढाउने परियोजनाको विकासमा जोड दिने समेत सुनाए । 

सूचना प्रविधिको क्षेत्रमा क्रियाशील युवा वैज्ञानिकहरूले आफ्नै वैयक्तिक पहलमा नेपालमा ठूलो रकम भित्र्याएको प्रधानमन्त्री प्रचण्डले प्रशंसा गरे ।

राज्यको प्राथमिकता र प्रोत्साहन बिना नै  युवा वैज्ञानिकले गरेको प्रयास तथा सफलता सबैका लागि सकारात्मक प्रेरणा बनेको उनको भनाइ थियो । यसले सूचना प्रविधि विशेष सम्भावनायुक्त क्षेत्र भएको यथार्थलाई प्रमाणित गरेको र युवा वैज्ञानिकलाई प्रोत्साहित गर्नु राज्यको आधारभूत दायित्व भएको कुरालाई उजागर गरेको उनले उल्लेख गरे । 

त्यस्तै नेपालको निर्यातजन्य सेवाका रुपमा आईटी उदाउँदो क्षेत्र भएर आइरहेको र बढ्दो व्यापार घाटा र बेरोजगार समस्यालाई समाधान गर्न आईटी प्रमुख माध्यम हुनसक्ने पनि उनले बताए । यसका लागि नीतिगत तथा प्रणालीगत  सुधार आवश्यक भएको तथा आयातित प्रविधिको उपभोग गर्ने मात्र नभएर नेपालमै नयाँ प्रविधि विकास गर्ने तर्फ सचेत भएर लाग्न पर्ने उनले जनाए ।

“देशको सार्वभौमसत्ता, अखण्ड, सम्प्रभुता, आन्तरिक एकता र सद्भाव जस्ता पक्षहरूको केन्द्रमा सूचना प्रविधि रहन आइपुगेको छ । देशभित्रै सूचना प्रविधिको गुणात्मक विकास र साइबर सुरक्षाले नै देशको स्वाधीनता र स्वाभिमानको रक्षा गर्ने ठाउँमा सिङ्गो विश्व आइसकेको छ,” उनले भने ।

पछिल्लो अध्यावधिक: फागुन २१, २०८० १७:२०