close

जब बेसिन लिएर एलन मस्क ट्वीटर हेडक्वाटर पुगे !

टेकपाना टेकपाना

कात्तिक १०, २०७९ ८:५६

जब बेसिन लिएर एलन मस्क ट्वीटर हेडक्वाटर पुगे !

काठमाडौं । टेस्ला तथा स्पेस एक्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्क ४४ अर्ब डलरमा ट्वीटर खरिदको सम्झौता गर्ने तयारीमा छन् । ट्वीटर खरिद गर्ने अन्तिम दिन नजिकिँदै गर्दा मस्क सान फ्रान्सिस्कोस्थित ट्वीटरको मुख्यालयमा पुगेका हुन् ।

उनले सामाजिक सञ्जाल ट्वीटरमा नौ सेकेन्डको भिडिओ अपलोड गरेका छन् । जसमा उनी प्रोसेलिन सिङ्क (बेसिन) लिएर त्यहाँ पुगेको देखिन्छन् । उनले ट्वीटरमा लेखेका छन्, "ट्वीटरको मुख्यालयमा प्रवेश गर्दै, -यसलाई भित्र डुब्न दिनुहोस् ।"

ट्वीटर र मस्कबीचको सम्झौताको विवाद यतिखेर अदालतमा विचाराधीन अवस्थामा छ । उनीहरूबीचको असमझदारी शुक्रबार टुङ्गोमा पुग्न सक्ने अपेक्षा गरिएको छ । ट्वीटरका कर्मचारीका अनुसार मस्कले यस हप्ता सामाजिक सञ्जाल कम्पनीका विभिन्न बैठकहरूमा सहभागी हुनेछन् ।

उनले शुक्रबार ट्वीटरका कर्मचारीलाई सम्बोधन गर्ने तयारी गरेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् । केही समयअघि आफ्नो ट्वीटरको बायोमा 'पर्फ्युम सेल्सम्यान' राखेका मस्कले अहिले चिफ ट्वीट अर्थात् ट्वीटरको प्रमुख राखेका छन् भने आफ्नो लोकेसन पनि ट्वीटर हेडक्वार राखेका छन् ।

मस्कले ट्वीटर खरिदको विषयलाई यसरी देखाइरहँदा ट्वीटरका प्रवक्ताले भने यसबारे केही जानकारी दिएका छैनन् । मस्कको ट्वीटर मुख्यालय भ्रमण, उनले ट्वीटर ह्याण्डलमा गरेका परिवर्तनलाई हेर्न हो भने उनी उक्त प्लेटफर्म खरिदको नजिक पुगेको अनुमान लगाउन सकिन्छ ।

यो सङ्केतले मस्क ट्वीटर खरिदको निकै नजिक रहेको अपेक्षा गरिए पनि त्यो पूर्ण नहुन सक्छ । गत अप्रिलमा पनि मस्कले ट्वीटर खरीद गर्ने विषयमा सर्वसाधारणलाई यसरी नै विश्वस्त बनाएका थिए । पछि ट्वीटरमा बटको सङ्ख्या पारदर्शी नभएको भन्दै उनी पछि हटेका थिए ।

त्यसपछि ट्वीटरले यही विषयलाई लिएर मस्क विरुद्ध अदालतमा मुद्दा हालेको थियो । जसको सुनवाई भोलि शुक्रबार हुँदैछ । अहिले भने मस्कले आफ्नो निर्णयबाट पछि हट्दै पुनः ट्वीटर खरिद गर्न अघि बढेका छन् ।

मस्कले ट्वीटरलाई आफ्नो स्वामित्वमा लिएर त्यसलाई नयाँ स्वरूप दिने प्रतिवद्धता जनाएका थिए । आफूलाई स्वतन्त्र अभिव्यक्ति निरपेक्षवादीका रूपमा प्रस्तुत गर्ने मस्कले कन्टेन्ट मोडरेसनका विभिन्न नीति परिवर्तन गर्ने अपेक्षा गरिएको छ । जसले गर्दा ट्वीटरले प्रतिबन्ध लगाएका अमेरिकका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पुनः उक्त प्लेटफर्ममा फिर्ता ल्याउन सक्छ ।

ट्वीटर खरिद गरिसकेपछि मस्कले उक्त कम्पनीका ७५ प्रतिशत कर्मचारी अर्थात करिब ७५०० कर्मचारी कटौती गर्ने संकेत दिएका छन् । ट्वीटरले भने अहिलेको व्यवस्थापन समूहले त्यस्तो केही निर्णय नलिएको जनाएको छ । मस्कले के गर्छन् भन्ने विषयमा कम्पनीलाई पनि केही जानकारी छैन ।
 

पछिल्लो अध्यावधिक: कात्तिक १०, २०७९ ९:४४