close

क्रिकेट खेलमा प्रयोग हुने यी उन्नत प्रविधि, के तपाईँलाई थाहा छ ?

टेकपाना टेकपाना

कात्तिक २४, २०७९ ११:१५

क्रिकेट खेलमा प्रयोग हुने यी उन्नत प्रविधि, के तपाईँलाई थाहा छ ?

काठमाडौं । हाम्रा वरपर हरेक व्यक्तिले भिन्नाभिन्नै खेल खेलिरहेका हुन्छन् । हामीले अहिले ती खेल जसरी खेलिएको देख्छौँ, सुरुवातमा भिन्नै अवस्थामा थियो । भिन्न यस अर्थमा कि, त्यसबेला अहिलेको जस्तो उन्नत प्रविधि प्रयोग भएको थिएन ।

अहिले विश्वस्तरका हरेक खेलमा प्रविधिले अहम् भूमिका निभाएको हुन्छ । प्रविधि नभएको अवस्थामा ती खेललाई सही तरिकाले सम्पन्न गर्न सकिँदैन । आज हामी क्रिकेट खेलमा प्रयोग हुने विभिन्न उन्नत प्रविधिको चर्चा गर्देछौँ ।

विशेषत: के-कस्ता प्रयोजनका लागि क्रिकेटमा कस्ता प्रविधिको प्रयोग भएको हुन्छ भन्ने विषयमा जानकारी दिँदैछौँ । क्रिकेट खेल भइरहँदा त्यस खेलमा कुनै किसिमको शंका भएमा स्लो मोसनमा हेर्न सकिन्छ, रिप्ले गरेर हरेक कोणबाट उक्त भिडिओ हेर्ने र देखाउने गरिन्छ, जसले गर्दा उक्त खेललाई सफलतापूर्वक सम्पन्न गर्न अम्पायरलाई सहज हुन्छ ।

अल्ट्रा एज

बलरले बलिङ गरेको छ र त्यस बलले ब्याटलाई छोएको अम्पायरले देख्न सकेन । तर, बल तीव्र गतिमा पछाडि हुत्तियो । यस्तो अवस्थामा बलले ब्याटलाई छोएको छ वा छैन भनेर हेर्नका लागि अल्ट्रा एजबाट हेर्ने गरिन्छ ।  अब ब्याटले बललाई छोएको छ वा छैन भन्ने कसरी थाहा पाउन सकिन्छ होला त ? यहाँ स्टम्पको पछाडि माइक्रोफोन जोडिएको हुन्छ ।

यदि बलले ब्याटलाई छोएको छ भने त्यो समयमा विशेष किसिमको फ्रिक्वेन्सी निस्कने गर्छ । स्टम्पको पछाडि भएको उक्त माइक्रोफोनले बाहिर सुनिएको फ्रिक्वेन्सीलाई आफूतर्फ खिच्छ । यदि ब्याट र बलले एक आपसलाई छोएको छ भने त्यही फ्रिक्वेन्सीलाई फिल्टर गर्ने गर्छ । त्यसपछि स्लो मोसनको भिडिओ र उक्त फ्रिक्वेन्सी डिस्प्लेमा देखाइन्छ ।

यदि ब्याट र बलले एक अर्कालाई छोएको छ भने फ्रिक्वेन्सीको ग्राफ बढेको देखिन्छ । यदि फ्रिक्वेन्सीको ग्राफ एकनासको छ भने ब्याटलाई बलले छोएको छैन भन्ने बुझिन्छ । यो प्रविधिलाई स्निकोमिटर (Snick-o-meter) भनिन्छ ।

बलिङ स्पिडको कुरा

क्रिकेट खेलमा प्रयोग हुने बलको गति कति हुन सक्छ भन्ने कुरा बलर र ब्याट्सम्यानमा निहित हुन्छ । बलरले कति स्पिडमा बलिङ गरेको छ र ब्याट्सम्यानले ब्याटले हान्दा बल कतिको तेज गतिमा उड्यो भन्ने कुरा केही सेकेन्डमा नै हामी टिभीको स्क्रिन वा मैदानमा राखिएको डिस्प्लेमा हेरेर थाहा हुन्छ । आखिर कसरी त्यति तेज गतिमा उडेको बलको स्पिड नाप्न सम्भव हुन्छ होला ?

यसमा प्रयोग गरिएको र्‍याडारले डप्लर इफेक्टको सहायतामा बलको स्पिड कति थियो भन्ने कुराको जानकारी दिन्छ । त्यस्तै ब्याट्सम्यानले ब्याटले बल छोएको अवस्थामा पनि र्‍याडरले बलको गति पत्ता लगाउँछ ।

हकाई

क्रिकेटको मैदानमा सबैभन्दा बढी प्राविधिक भूमिका ‘हकाई’ (Hawkeye) ले निभाएको हुन्छ । यसले बल एलबीडब्लू भएको छ या छैन भन्ने कुरा छुट्टयाउन मद्दत गर्छ । यो प्रविधिलाई विशेषगरी टिभी अमपायरले बलले स्टम छोएको छ वा छैन भन्ने कुरा पहिचान गर्न प्रयोग गर्छन् ।

हक आई भनेको इमेज प्रोसेसिङ प्रविधि, थ्रीडि मोडेलिङ प्रविधि र भौतिक शास्त्रका केही नियम प्रयोग भइ बनेको हुन्छ । स्टेडियमभित्र रहेका चारदेखि छ ओटा हाई-स्पिड क्यामेराले विभिन्न कोणबाट बल खिचिरहेका हुन्छन् । यही प्रविधि प्रयोग भएको हक आईले बलको दिशा, गती, कोण, उचाइ सबै कुरा पहिचान गर्छ ।

पछि यसलाई कम्प्युटर सफ्टवेयरका माध्यबाट बल कसरी कहाँ गएको थियो भन्ने कुरालाई थ्रीडी डायग्रामबाट देखाउने गरिन्छ ।

हट्सपट

एलबीडब्लू भए नभएको छुट्टयाउने अर्को पद्धति हो, हट्सपट । ब्याटमा लाग्नुभन्दा पहिले बल कहाँ लागेको थियो भन्ने कुरा पहिचान गर्न हट्सपटले सघाएको हुन्छ । यसबाट के हुन्छ भने यदि बल कुनै पनि कुरासँग ठोक्कियो भने त्यसमा ताप उत्पन्न हुन्छ ।

तर, कहाँ कहाँ ताप परेको छ भन्ने कुरा हामी महसुस गर्न सक्दैनौँ । स्टेडियमको विभिन्न भागमा राखिएको इन्फ्रारेड क्यामेराले ताप निस्केको देखाउँछ । जसले गर्दा बल कहाँ ठोक्किएको थियो भन्ने कुरा पहिचान गर्न सहज हुन्छ ।

स्टम्पमा लगाइएको एलईडी बल्ब र बेलबाट निस्किने आवाज

स्टम्प र त्यसमाथि राखिएको बेल (स्टम्पमाथि राखिएको दुई ओटा काठको टुक्रा) निकै नै संवेदनशील हुने गर्छन् । बल लागेर स्टम्पमा भाइब्रेसन भयो भने स्टम्प र बेलमा भएको एलईडी लाइट स्वतः बल्छ र बेलमा प्रयोग भएको स्पिकरबाट हाइ पिचको अडियो बाहिर निस्किन्छ ।

उक्त आवाज हाई पिचको भएकाले त्यस्तो होहल्लामा पनि उक्त आवाज प्रस्ट सुनिन्छ । जसले गर्दा खेलाडी आउट भए/नभएको छुट्याउन सहज हुन्छ । टी-ट्वान्टी विश्वकप २०२२ को क्रिकेट म्याचमा प्रयोग भएको एलईडी स्टम्पको मूल्य करिब ४० हजार डलर (करिब ५१ लाख रुपैयाँ) र बेलको मूल्य करिब ८० हजार रुपैयाँ रहेको छ ।

 

 

पछिल्लो अध्यावधिक: कात्तिक २४, २०७९ ११:१५