close

मौन अवधिमा पनि रोकिएन उम्मेदवारको फेसबुक विज्ञापन

टेकपाना टेकपाना

मंसिर २, २०७९ १२:५६

मौन अवधिमा पनि रोकिएन उम्मेदवारको फेसबुक विज्ञापन

काठमाडौं । आइतबार हुन गइरहेको प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि बिहीबार मध्यरातबाट मौन अवधि सुरु भएको छ । मौन अवधिलाई मध्यनजर गर्दै आयोगले याे समयमा गर्न नहुने कामको सूची सार्वजनिक गरेको छ ।

यसअन्तर्गत राजनीतिक दल तथा उम्मेदवार, दलका भातृ संगठनहरूले सामाजिक सञ्जालमार्फत गरिएका विज्ञापन तथा निर्वाचन प्रचारप्रसारका सामग्री हटाउनुपर्ने विषय पनि उल्लेख छ । तर, मौन अवधिमा  समेत प्रायः उम्मेदवारले फेसबुकमार्फत गरेका विज्ञापन हटाएका छैनन् ।

कतिपय उम्मेदवारले त झन् आफ्ना विज्ञापन थप सक्रिय राखेका छन् । फेसबुकको विज्ञापन रिपोर्टअनुसार नेपाली कांग्रेसका उम्मेदवारहरू प्रकाशमान सिंहको अकाउन्टबाट २० ओटा र प्रदिप पौडेलको अकाउन्टबाट दुई ओटा विज्ञापन बुस्ट भइरहेकाे छ । त्यस्तै स्वतन्त्र उम्मेदवारहरू जगन्नाथ लामिछानेको अकाउन्टबाट ११ ओटा र रञ्जु दर्शनाको अकाउन्टबाट चार ओटा, सिभेन्द्र केसीको अकाउन्टबाट १७ ओटा र स्वतन्त्र उम्मेदवार अनुप बोहोराको अकाउन्टबाट एउटा पाेस्ट बुस्ट भएकाे छ । 

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुलीको अकाउन्टबाट १० ओटा पाेस्ट बुस्ट गरिएकाे छ भने नेपाली काँग्रेसको पेजबाट १० ओटा, नेकपा एमालेका उम्मेदवार राजकुमार गुप्ताकाे अकाउन्टबाट चार ओटा, माओवादी केन्द्रकी उम्मेदवार कल्पना धमलाकाे अकाउन्ट ८ ओटा पाेस्ट बुस्ट गरिएकाे छ ।

त्यस्तैगरी राप्रपाकी उम्मेदवार कुन्ती पोखरेलको अकाउन्टबाट ३ ओटा, स्वतन्त्र उम्मेदवार राममणि न्यौपानेले ५ ओटा, नेपाली कांग्रेसका उम्मेदवार सुनिलकुमार शर्माको अकाउन्टबाट ५ ओटा र नेकपा एमालेका उम्मेदवार महेश बर्तौलाको अकाउन्टबाट तीन ओटा विज्ञापन बुस्ट भइरहेकाे छ ।​

पछिल्लो अध्यावधिक: मंसिर २, २०७९ १३:१३