close

हिउँचितुवाको फोटो फेक भएको पुष्टि भएपछि सामाजिक सञ्जालबाट कितिया गायब !

टेकपाना टेकपाना

मंसिर १०, २०७९ १५:३६

हिउँचितुवाको फोटो फेक भएको पुष्टि भएपछि सामाजिक सञ्जालबाट कितिया गायब !

काठमाडौं । सगरमाथा क्षेत्रमा खिचेको भनिएको हिउँचितुवाको फोटो नक्कली भएको पुष्टि भएपछि उक्त फोटो खिचेको दाबी गर्ने कितिया पावलोस्कि सामाजिक सञ्जालबाट गायब भएकी छन् । आफूले सगरमाथा क्षेत्रमा दुर्लभ हिउँचितुवाको फोटो खिचेको भनेपछि उनी विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यममा छाएकी थिइन् ।

उनले आफ्नो सामाजिक सञ्जालका अकाउन्ट इन्स्टाग्राम र फेसबुकमा राखेका फोटोले राम्रो चर्चा पाएका थिए । तर, शनिबार अल्पाइन इन्टरनेसनल म्यागजिन नामक फ्रान्सेली मिडियाले कितियाले सगरमाथामा खिचेको भनेर दाबी गरेको तस्वीर फोटोशप गरेको पुष्टि गरेपछि उनी पुनः चर्चामा आइन् ।

इन्टरनेटमा आलोचित बनेपछि कितियाले सामाजिक सञ्जालका अकाउन्ट बन्द गरेकी छन् । उनको फेसबुक इन्स्टाग्राम अकाउन्ट अहिले उपलब्ध छैनन् ।

उनको वेबसाइट भने लाइभ छ, जहाँ उनले फोटोशप गरी तयार पारेको हिउँचितुवाको फोटो राखेकी छन् ।

 

कितिया पावलोस्किको फोटो फेक भएको पुष्टि

म्यागजिनमा प्रकाशित 'द फेक स्नो लियोपार्ड: फोटोमोन्टेज स्प्रेड अराउन्ड द वर्ल्ड' नामक एक लेखमा उक्त हिउँचितुवाको तस्वीर नक्कली भएको पुष्टि गरिएको थियो । हिमाल र आरोहीहरूको बारेमा लेख्ने उक्त म्यागजिनमा कितिया वास्तविक फोटोग्राफर पनि होइनन् । तर उनको फोटोशप गर्ने सीप भने उत्कृष्ट रहेको उल्लेख गरेको छ । 

उनी वास्तविक फोटोग्राफर होइनन् भनेर उनको सामाजिक सञ्जालले पनि प्रमाणित गरेको छ । सामाजिक सञ्जालको यो समयमा कुनै पनि फोटोग्राफरले आफ्नो कामहरू सामाजिक सञ्जालमार्फत देखाउन चाहन्छन् ।

तर कितियाको ५० हजार फलोअर भएको इन्स्टाग्राममा भने पाँचओटा मात्र फोटो छन्; एउटा उनको आफ्नै र बाँकी चार उनले खिचेको भनेको हिउँचितुवाको फोटो । उनले खिचेको बताइएको हिउँचितुवाको फोटोमा भने सगरमाथा क्षेत्रको स्थानहरू नै गलत छन् । साथै उनले खिचेको तस्वीरको विवरणको आधार मान्ने हो भने उनले दिएको पृष्ठभूमि र वास्तविक पृष्ठभूमि भने गलत रहेको अल्पाइनको दाबी छ ।

नेपालमा भने यो तस्वीरले निकै चर्चा पाएको थियो । नेपालका सञ्चार माध्यमहरूमा यो फोटो र फोटो खिच्ने अमेरिकी फोटोग्राफरको बारेमा राम्रै चर्चा पनि भएको थियो । यतिमात्र नभएर सामाजिक सञ्जालका प्रयोगकर्ताबीच अमेरिकी फोटोग्राफरले खिचेको तस्वीरमात्र शेयर गर्ने नेपाली फोटोग्राफरले नै खिचेको तस्वीरलाई भने वास्ता नगर्ने भन्ने खालका विवाद पनि उठेको थियो ।

यो विषयले फेसबुक, ट्वीटर, टिकटक सबैतिर स्थान पाएको थियो ।

पछिल्लो अध्यावधिक: मंसिर १०, २०७९ १५:५९