काठमाडौं । फागुन महिनाभित्र सबै सवारी साधनले अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट राख्नुपर्ने भएको छ । एक सूचना जारी गर्दै यातायात व्यवस्था विभागले सरकारी याेजनाअनुसार फागुनसम्ममा सम्पूर्ण सरकारी सवारी साधनमा अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने निर्णय गरेको उल्लेख गरेकाे छ ।
सरकारी सवारीमा इम्बोस्ड नम्बर प्लेट जडानको लागि यातायात व्यवस्था विभागको वेबसाइटमा गई ईम्बोस्ड नम्बर प्लेटका लागि अनलाइन निवेदन दिन सकिन्छ । यसअनुसार नजिकको यातायात व्यवस्था कार्यालयमा गई राजश्व विवरण तिरी इम्बोस्ड नम्बर प्लेट जडान गर्न सकिन्छ ।
काठमाडौं उपत्यकाको हकमा यातायात व्यवस्था कार्यालयमा गई राजस्व बुझाएपछि यातायात व्यवस्था विभाग मिनभवनमा गई नम्बर प्लेट जडान गर्न सकिन्छ ।
उच्च सुरक्षा तथा प्रविधियुक्त इम्बोस्ड नम्बर प्लेट जडानबाट सवारी साधनको चोरी निकासी, राजस्व छली र अपराधिकरण नियन्त्रण हुने विभागको दाबी छ ।