close

नेपाल राष्ट्र बैंकको डिजिटल वित्तीय साक्षरता अभियान सुरु

टेकपाना टेकपाना

पुस ८, २०७९ १६:८

नेपाल राष्ट्र बैंकको डिजिटल वित्तीय साक्षरता अभियान सुरु

काठमाडौं । नेपाल राष्ट्रको बैंकको ‘डिजिटल वित्तीय साक्षरता अभियान’ शुक्रबारदेखि सुरू भएकाे छ । नागरिकलाई डिजिटल काराेबारमा सचेत गराउने उद्देश्यले राष्ट्र बैंकले सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लाबाट याे कार्यक्रमकाे थालनी गरेकाे हाे ।

खलङ्गामा भएकाे अभियानकाे उद्घाटन कार्यक्रममा बाेल्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थव्यवस्थामा डिजिटल कारोबार पारदर्शिताको मेरुदण्ड भएको उल्लेख गरे । गभर्नर अधिकारीले पछिल्लो समयमा विद्युतीय भुक्तानी कारोबारमा उल्लेख्य वृद्धि भएको बताउँदै उनले डिजिटल कारोबारलाई थप प्रवर्द्धन र प्रोत्साहन गर्ने कुरामा जोड दिएका थिए ।

“क्यूआरबाट मात्र एक महिनामा ४२ लाखभन्दा बढी कारोबार भएको पाइएको छ । यो आफैंमा उत्साहजनक अवस्था हो । डिजिटल कारोबारलाई थप प्रोत्साहन गर्न डिजिटल वित्तीय साक्षरता कार्यक्रमको सुरुवात हामीले गरेका हौँ,” उनले भने ।

डिजिटल कारोबारलाई पारदर्शिताको मेरुदण्डको संज्ञा दिँदै गभर्नर अधिकारीले डिजिटल कारोबारबाट भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रवर्द्धनमा समेत टेवा पुग्ने धारणा राखेका थिए । नेपाल सरकारको डिजिटल नेपाल फ्रेमवर्कलाई कार्यान्वयन गर्दै डिजिटल अर्थतन्त्रको विकासको निम्ति विद्युतीय भुक्तानी कारोबारलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकतामा उनले जोड दिए । 

साथै डिजिटल कारोबारमा आउनसक्ने जोखिमप्रति सचेत रहन समेत उनले सबैलाई अनुरोध गरेका थिए । 

कार्यक्रममा सहभागीलाई नेपालमा विद्युतीय भुक्तानी कारोबारको वर्तमान अवस्था र सूचकका बारेमा साथै डिजिटल वित्तीय साक्षरताको सान्दर्भिकता, यसका आधारभूत पक्ष, नेपालमा उपलब्ध डिजिटल वित्तीय सेवा, यसको फाइदा, कारोबारमा अपनाउनुपर्ने सावधानी लगायतका विविध पक्षबारे जानकारी दिइएको थियो ।

विद्युतीय भुक्तानी कारोबारलाई प्रवर्द्धन र प्रोत्साहन गर्ने उद्देश्यका साथ नेपाल राष्ट्र बैंकले पछिल्ला वर्षहरूमा यससम्बन्धी नीतिगत व्यवस्थालाई अवलम्बन गर्दै आएको छ । आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिमा चालू आर्थिक वर्षलाई विद्युतीय भुक्तानी कारोबार प्रवर्द्धन वर्षको रूपमा मनाउन आवश्यक संस्थागत समन्वय गरिनेसमेत उल्लेख गरिएको छ ।

पछिल्लो अध्यावधिक: पुस १२, २०७९ १२:१६