close

फाइभजीमा एसिया अगाडि हुने प्रक्षेपण, ६ वर्षमा प्रयोगकर्ताको संख्या १८० करोड पुग्ने

टेकपाना टेकपाना

फागुन २३, २०७६ ११:४१

फाइभजीमा एसिया अगाडि हुने प्रक्षेपण, ६ वर्षमा प्रयोगकर्ताको संख्या १८० करोड पुग्ने

काठमाडौं । सन् २०२५ सम्म विश्वका एक अर्ब ८० करोड मानिस फाइभजीमा जोडिने एक अध्ययनले देखाएको छ । भर्खरैमात्र सार्वजनिक जीएसएमए मोबाइल ईकोनोमी सिरिज २०२० प्रतिवेदन अनुसार सन् अबको ६ वर्षमा फाइभजीको सबैभन्दा धेरै पहुँच एसियाका विकसित राष्ट्रमा हुनेछ ।

त्यसबेलासम्म एसियाका विकसित राष्ट्रका ५० प्रतिशत मानिस फाइभजीको पहुँचमा रहने प्रक्षेपण गरिएको छ । दोस्रोमा उत्तर अमेरिकी देशहरु रहेका छन् । जहाँ सन् २०२५ सम्म ४८ प्रतिशत जनसंख्या फाइभजी नेटवर्कको पहुँचमा हुनेछ । त्यसपश्चात क्रमशः युरोप, एसियाका विकासशील राष्ट्र, अरब राष्ट्र, रशिया, ल्याटिन अमेरिका रहने उल्लेख गरिएको छ ।

प्रतिवेदनअनुसार सन् २०२५ सम्म वास्तविक मोबाइल प्रयोगकर्ताको संख्या पाँच अर्ब ८० करोड पुग्नेछ । यो संख्या हाल पाँच अर्ब २० करोड रहेको छ । हाल विश्वभर मोबाइल इन्टरनेटका प्रयोगकर्ता तीन अर्ब ८० करोड छन् ।

जुन कुल विश्व जनसंख्याको ४९ प्रतिशत हो । यो संख्या सन् २०२५ सम्म बढेर पाँच अर्बभन्दा बढी हुने प्रक्षेपण गरिएको छ । त्यस्तै एक्टिभ सिमको संख्या सन् २०२५ सम्म ८ अर्ब ८० करोड हुने उल्लेख गरिएको छ । हाल विश्वभर सक्रीय सिमको संख्या ८ अर्ब रहेको छ ।

सन् २०२० देखि सन् २०२५ सम्म टेलिकम पूर्वाधारमा १३३२ खर्ब २० अर्ब ४० करोड रुपैयाँ बराबर लगानी हुने अपेक्षा गरिएको छ । त्यसमा ७८ प्रतिशत लगानी फाइभजी पूर्वाधारमा हुनेछ ।

त्यस्तै सन् २०२५ सम्म २४ अर्ब ६० करोड डिभाइस इन्टरनेटमा जोडिने प्रक्षेपण छ । त्यसमध्ये ८० प्रतिशत स्मार्टफोन हुनेछन् । प्रतिवेदन अनुसार सन् २०२५ सम्म मोबाइल उद्योगले विश्वको राजश्वमा ५७२६ खर्ब १४ अर्ब रुपैंयाको योगदान पुर्‍याउने उल्लेख गरिएको छ ।

प्रतिवेदनको पूर्ण पाठ पढ्न यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०