close

डेटा महंगो हुँदा नेपालमा १० प्रतिशतले मात्रै चलाउँछन् मोबाइल इन्टरनेट

टेकपाना टेकपाना

भदौ १३, २०७७ २०:४६

डेटा महंगो हुँदा नेपालमा १० प्रतिशतले मात्रै चलाउँछन् मोबाइल इन्टरनेट

काठमाडौं । नेपालमा अधिकांश इन्टरनेट प्रयोगकर्ताले इन्टरनेट सेवाप्रदायक (आईएसपी)को इन्टरनेट प्रयोग गर्ने गरेको पाइएको छ । तर ठूला दूरसञ्चार कम्पनी नेपाल टेलिकम र एनसेललको इन्टरनेट प्रयोग गर्नेहरुको संख्या एकदमै न्यून देखिएको हो । 

एसिया प्यासिफिक नेटवर्क इन्फरमेसन सेन्टर (एप्निक) को तथ्याङ्क अनुसार नेपालमा इन्टरनेट सेवाप्रदायकले उपलब्ध गराएको इन्टरनेट प्रयोग गर्नेहरुको संख्या ८० प्रतिशत (सय जनामा ८० जना) रहेको छ । दूरसञ्चार कम्पनीहरुले दिने मोबाइल डेटा तथा इन्टरनेट प्रयोग गर्नेहरुको संख्या केवल २० प्रतिशत मात्रै देखिएको छ । जब कि भारतमा रिलायन्स जियोको बजार हिस्सा ४९ प्रतिशत भन्दा बढी छ ।

apnic

मोबाइल डेटा अत्यधिक महंगो भएका कारण दूरसञ्चार सेवा प्रदायकमा सक्रिय प्रयोग गर्ताको संख्या एकदमै न्यून देखिएको हो । अझ मोबाइल डेटा मात्रे प्रयोग गर्ने प्रयोगकर्ताको संख्या त झन् १० प्रतिशत हाराहारी मात्रै छ । एप्निकको तथ्याङ्कमा सबैभन्दा बढी इन्टरनेटका प्रयोगकर्ता वर्ल्डलिङ्क कम्युनिकेसन लिमिटेमा देखिएका छन् । 

जसमा नेपालका कूल इन्टरनेट प्रयोगकर्ता मध्ये ३५.४३ प्रतिशत अर्थात १८ लाख २० हजार रहेका छन् । एडीएसएल, केवल, एफटीटीएच र मोबाइल डेटा सबै गरी टेलिकमको इन्टरनेट प्रयोग गर्नेहरुको संख्या १३ प्रतिशत अर्थात सात लाख १४ हजार १७० जना देखिन्छ । जुन वर्ल्डलिङ्क पछि नेपालमा धेरै प्रयोग हुने दोस्रो इन्टरनेट हो । 

यसैगरी नेपालमा तेस्रो धेरै प्रयोग हुने इन्टरनेटमा सुबिसु रहेको छ । पाँच लाख ६१ हजार २६७ जना प्रयोगकर्ता देखिएको सुबिसुको बजार हिस्सा १०.९२ प्रतिशत छ ।

चौथो स्थानमा रहेको भायनेटका प्रयोगकर्ता पाँच लाख ४३ हजार ५१४ देखिएका छन्, जुन १०.५८ प्रतिशत हो । नेपालकै धेरै सक्रिय मोबाइल प्रयोगकर्ता रहेको एनसेल भने इन्टरनेट प्रयोगको हिसावले पाचौं स्थानमा छ ।

जसका दुई लाख ८८ हजार २०६ जना मात्रै इन्टरनेट प्रयोगकर्ता छन् । जुन नेपालका सक्रिय इन्टरनेट प्रयोगकर्ताको ५.६१ प्रतिशत मात्रै हो । एनसेलपछि ४.९१ प्रतशत बजार हिस्साका साथ क्लासिकटेक नेपालमा धेरै प्रयोग हुने इन्टरनेटमा पर्छ । 

त्यसपछि सात देखि नवौं स्थानमा क्रमशः टेकमाइन्ड्स नेटवर्क (४.८५ प्रतिशत), वेबसर्फर (३.७७ प्रतिशत) र ब्रोडलिङ्क (२.३४ प्रतिशत) रहेका छन् । बाँकी सेवाप्रदायकको बजार हिस्सा एक प्रतिशतभन्दा कम छ ।

मुलुकको तेस्रो ठूलो दूरसञ्चार कम्पनी स्मार्ट टेलिकम ४२ हजार २०८ सक्रिय प्रयोगकर्ताका साथ ०.८२ प्रतिशत बजार हिस्सामा सीमित छ ।  एप्निकले गूगल एडसँगै विशेष किसिमको ब्राउजिङ कोड पठाएर एनालिटिक्स मार्फत सक्रिय प्रयोगकर्ताको संख्या एकिन गर्दै आएको छ ।

एप्निक ल्याबले अटोनोमस सिस्टम नम्बरमार्फत सेवाप्रदायकको हैसियत मापन गर्दै आएको छ । संस्थाले यसरी संकलित तथ्याङ्कलाई साप्ताहिक रुपमा यो सूचीमा अपडेट गर्ने गरेको छ । 

एप्निक एसिया प्यासिफिक क्षेत्रका लागि आईपी एड्रेस प्रदान गर्ने क्षेत्रिय प्रशासनिक इन्टरनेट रजिस्ट्री हो । जसले विश्वव्यापी रुपमा सक्रिय इन्टरनेट प्रयोगकर्ताको लाइभ स्याम्पलिङ (प्रत्यक्ष रुपमा नमूना संकलन) गर्दै प्रयोगको अवस्था जाँच गर्नेगर्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०