close

काठमाडौं–तराई द्रुतमार्गमा अप्टिकल फाइबर बिछ्याउने तयारी

टेकपाना टेकपाना

भदौ १४, २०७७ ८:०

काठमाडौं–तराई द्रुतमार्गमा अप्टिकल फाइबर बिछ्याउने तयारी

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले निर्माणाधीन काठमाडौँ–तराई/मधेस द्रुतमार्गमा अप्टिकल फाइबर बिछ्याउने भएको छ । सूचना तथा सञ्चार प्रविधिमा आमनागरिकको सहज र भरपर्दो पहुँचका लागि मुलुकको अन्य राजमार्गमा जस्तै निर्माणाधीन काठमाडौँ तराई/मधेस द्रुतमार्गमा समेत अप्टिकल फाइबर बिछ्याउन लागिएको हो ।

नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक तथा प्रवक्ता मीनप्रसाद अर्यालले भने, ‘अरू राजमार्गमा अप्टिकल फाइबर राखेजस्तै द्रुतमार्गमा पनि अब कार्यक्रम अगाडि बढाइने छ । मुलुकमा निर्माणाधीन र भविष्यमा निर्माण हुने मुख्य नयाँ राजमार्गमा अप्टिकल फाइबर विस्तार गर्ने प्राधिकरणको रणनीति रहेको छ ।’ 

द्रुतमार्गमा समेत अप्टिकल फाइबर विस्तार गर्ने कार्यक्रम प्राधिकरणको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा सूचीकृत भई स्वीकृतसमेत भइसकेको जानकारी दिँदै उनले भने, ‘यस कार्यक्रमलाई अगाडि बढाउन चालू आर्थिक वर्षमा १५ करोड रुपियाँ बजेट विनियोजन गरिएको छ ।’

यो आयोजनालाई अगाडि बढाउन चाँडै बोलपत्र आह्वान गर्ने बताउँदै उनले सो मार्ग निर्माणको जिम्मेवारी नेपाली सेनाले लिएको हुुँदा बोलपत्र आह्वानका लागि नेपाली सेनाको स्वीकृति चाहिने र त्यसका लागि प्रक्रिया अगाडि बढेको जानकारी पनि दिए ।

द्रुतमार्ग निर्माणको जिम्मा पाएको नेपाली सेनासँग समन्वय गरी अप्टिकल फाइबर विस्तार कार्य प्रक्रियालाई अगाडि बढाइने उनले स्पष्ट पारे । अनुमतिका लागि नेपाली सेनालाई पत्राचार समेत भइसकेको जानकारी दिँदै उनले सेनाको अनुमति प्राप्त हुनेबित्तिकै द्रुतमार्गमा पाइप ‘डक’ राख्नका लागि सेवा प्रदायक कम्पनी चयन गर्न बोलपत्र आह्वान गरिने जानकारी दिए ।

अप्टिकल फाइबर विस्तार गर्नुभन्दा पहिले ‘डक’ राख्ने गरिन्छ । द्रुतमार्ग निर्माण र फाइबर विस्तार कार्यलाई सँगसँगै अगाडि बढाइएमा सडक पुनः खन्नु नपर्ने तथा लागत पनि कम हुने प्राधिकरणको बुुझाइ छ ।

नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले काठमाडौैँ–तराई द्रुतमार्गमा अप्टिकल फाइबर विस्तार गर्ने सम्बन्धमा नेपाल दूरसञ्चार प्राधिकरणबाट गतहप्ता नेपाली सेनालाई पत्र प्राप्त भएको जानकारी दिए ।

सो पत्र सेनाकै द्रुतमार्ग आयोजनामा पठाइएको र त्यसबारे आवश्यक छलफल भइरहेको बताउँदै उनले यसबारे चाँडै नै निष्कर्षमा पुगिने जानकारी दिए।

-गाेरखापत्र दैनिकबाट साभार

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०