काठमाडौं । इन्टरनेट सेवा प्रदायक क्लासिक टेकले दुलर्भ रोगबाट पीडित १३ महिने एक बालिकाको उपचारको लागि १० लाख रूपैयाँ सहयोग गरेको छ ।
स्पाइनल मस्कुलर एट्रोफी टाइप १ बाट पीडित रहेकी १३ महिनाकी सियोना श्रेष्ठको उपचारमा सहयोग पुर्याउने उद्देश्यले याे रकम सहयोग प्रदान गरेको कम्पनीले बताएकाे छ ।
कम्पनीले उनको उपचारका लागि स्थापना गरिएको बैंक खातामा सिधै अनलाइन पेमेन्टमार्फत रकम प्रदान गरेको जनाएकाे छ । सियोनाको उपचारका लागि क्लासिक टेक र क्लासिक टेकका कर्मचारीहरुले समेत सक्दो सहयोग गरेकाे प्रेस विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।
यसअघि पनि ब्लड क्यान्सरबाट पीडित एक बालकको उपचारको लागि क्यान्सर अस्पताल हरिसिद्धिमा लगेर सम्पूर्ण खर्चसहित उपचार गरेकाे कम्पनीले जनाएकाे छ ।
सियोनाको उपचारको लागि २० करोड रकम खर्च हुने अनुमानका साथ उनका आमा बुबाले विभिन्न फण्डिङमार्फत रकम संकलन गरिरहेका छन् ।
यसको लागि गोफण्डमी डट कम मार्फत रकम संकलन भइरहेको छ भने सिधै उनको नाममा खोलिएको बैंक खातामा समेत रकम जम्मा गर्न सकिने व्यवस्था गरिएको छ ।
यसका साथै उनलाई आर्थिक सहयोग गर्न चाहनेले ईसेवाबाट समेत रकम पठाउन सक्नेछन् । कम्पनीले शियाेनाकाे उपचारका लागि थप सहयाेगकाे अपिल समेत गरेकाे छ ।