close

सामान आयात गर्दा अनलाइन आवेदन दिन सकिने, यस्तो छ तरिका

टेकपाना टेकपाना

कात्तिक १७, २०७७ ९:१४

सामान आयात गर्दा अनलाइन आवेदन दिन सकिने, यस्तो छ तरिका

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सामान आयात गर्दा अनलाइनबाटै आवेदन दिन सकिने व्यवस्था मिलाएको छ ।

विभागबाट प्रदान गरिने सेवालाई विद्युतीय प्रणालीको माध्यमबाट छिटो छरितो बनाउन र विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ को संक्रमणको जोखिमबाट कर्मचारी तथा सेवाग्राहीलाई सुरक्षा प्रदान गर्न यस्तो सुविधा मिलाइएको हो ।

यससँगै विभागमा प्रतितपत्र बाहेक ड्राफ्ट तथा टीटी, बैंक ग्यारेन्टी, डीएपी र डीएएको माध्यमबाट भारतको बन्दरगाह भई तेस्रो मुलुकबाट पैठारी हुने मालवस्तुको लागि स्वीकृति तथा सिफारिसपत्र (नो अब्जेक्सन लेटर) का लागि अनलाइनबाटै आवेदन दिन सकिने भएको छ ।

विभागको वेबसाइटमा गएर सहजै अनलाइन आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ ।

कसरी दिने अनलाइन आवेदन ?

  • वाणिज्य विभागको नो अब्जेक्सन लेटरका लागि आवेदन दिन सुरुमा यहाँ क्लिक गर्नुहोस् ।
  • अब त्यसमा युजर आईडी क्रिएट गर्नुपर्ने हुन्छ । त्यसका लागि पहेँलो रङमा रहेको न्यु युजर (नयाँ युजर) बटनमा दबाउनुहोस् ।
  • ईमेल, पुरा नाम, मोबाइल नम्बर र पासवर्ड राखेर साइनअप गर्नुहोस् ।
  • यति गरेपछि एकछिनमा तपाईंको मोबाइल तथा ईमेलमा एउटा भेरिफिकेसन कोड प्राप्त हुनेछ । त्यसलाई राखेर ३० मिनेटभित्र आफ्नो अकाउन्ट भेरिफाई गर्नुहोस् ।
  • टीटी/डएपी/डीएए/बैंक ग्यारेन्टीको लागि आवेदन दिन बाँयाँतर्फ रहेको एनओसी रिक्वेस्टमा क्लिक गर्नहोस् र त्यहाँ रहेको फारम भर्नुहोस् ।
  • इनभोइस, बी/एल, स्विफ्ट कपी र बिबिनी फारम लगायतका आवश्यक कागजात स्क्यान गरी पीडीएफ फर्म्याटमा सम्बन्धित खण्डमा अपलोड गर्नुहोस् र सेभ गर्नुहोस् ।
  • यति गरेसँगै विभागको सिस्टममा तपाईंको आवेदन दर्ता हुनेछ । स्वीकृत भएको एसएमएस आएपश्चात एनएमबी बैंक वा यहाँ क्लिक गरी राजस्व दस्तुर दाखिला गर्न सक्नुहुनेछ ।
  • आवेदन रिक्वेस्टको अवस्था समेत ट्र्याक गर्न सकिने व्यवस्था विभागले मिलाएको छ । त्यसको जानकारी लिन तथा पासवर्ड परिवर्तन गर्न चेक स्टाटसमा क्लिक गर्नुपर्नेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०