close

‘क्यानलाई स्मार्ट बनाउँछु’

गोपाल साउद गोपाल साउद

कात्तिक २६, २०७६ १४:११

‘क्यानलाई स्मार्ट बनाउँछु’

नेपालको सूचना प्रविधि क्षेत्रको सबैभन्दा ठूलो निजी संगठीत संस्थाको रुपमा रहेको कम्प्युटर एसोसियसन अफ नेपाल (क्यान) फेडेरेशन अर्थात क्यान महासंघको २६ औँ वार्षिक साधारणसभा नजिकिँदै छ । आगामी ७ मंसिरमा हुने साधारणसभाबाट क्यानको भावी नेतृत्वको छिनोफानो समेत हुनेछ । त्यसका लागि वर्तमान कार्यसमितिमा वरिष्ठ उपाध्यक्षको रुपमा रहेका नवराज कुँवर र उपाध्यक्ष सुनैना घिमिरे पाण्डेय नेतृत्वका दुई प्यानल आपसमा भिड्दैछन् ।  खुम्चिँदै गएको क्यानको भुमिका, संस्थाभीत्रको राजनीतिक खिचातानी, नेपालको सूचना प्रविधि क्षेत्रको विकास, नजिकिँदै गरेको साधारणसभाको तयारी र चुनावी एजेन्डाको विषयमा अध्यक्षका प्रत्यासी पाण्डेयसँग टेकपाना डटकमका लागि गोपाल साउदले गरेको कुराकानी ।

आसन्न क्यान चुनावमा तपाई अध्यक्षको प्रत्यासीको रुपमा हुनुहुन्छ । दाबेदारी पछाडिको तपाईंको मूख्य उद्देश्य चाहिँ के हो ?

क्यानलाई भर्सन वान बाट भर्सन टूमा लैजान मैले उम्मेदवारी दिन चाहेको छु । यसमा मेरा विभिन्न भिजनहरु छन् । सूचना प्रविधिको क्षेत्रमा एउटा आईटी बोर्डको एकदमै आवश्यकता छ, आईटी व्यवसायी र सूचना प्रविधिको प्रवर्धन र विकासका लागि । यो टीमबाट हामीले आगामी कार्यकालमा आईटी बोर्ड खडा गर्ने योजना बनाएका छौँ । क्यानभीत्र व्यक्तिगत, संस्थागत र विषयगत सदस्यहरु छन् ।

उहाँहरु सबैको अधिकार समान हुनुपर्छ भन्ने कुरालाई आत्मासाथ गर्दै त्यसलाई टीमको रुपमा सुनिश्चित गरेर जानेछौँ । आज हाम्रा केही कार्ययोजनाहरु काम गर्ने सिलसिलामा अप्ठ्यारोमा परेका छन् । त्यसका लागि विधानमा संसोधन गर्ने हाम्रो सोचाइ छ । प्राज्ञिक र औद्योगिक क्षेत्रमा जति हामीलाई जनशक्ती आवश्यक छ, त्यो जनशक्ती उत्पादन भएता पनि उनीहरुमा एउटा अनुभवको ग्याप हामीले पाउँछौँ ।

त्यो ग्यापलाई कम गर्दै लैजानका लागि र सूचना प्रविधिमा आवश्यक जनशक्तिको पुर्ती गर्नका लागि क्यानले शैक्षिक संस्था, ट्रेनिङ इन्स्टिच्युट विभिन्न संस्थाहरुसँग समन्वय गरेर एउटा फिनिसिङ स्कुलको भुमिका निर्वाह गर्ने योजना पनि बनाएका छौँ । त्यसै गरेर आवश्यक पर्ने जनशक्तिका लागि आईटी जब पोर्टलको व्यवस्था महासंघले मिलाउने छ । सरकारले तयार पारेको डिजिटल नेपाल फ्रेमवर्कको सपना साकार पार्न क्यान महासंघले मन्त्रालयसँग समन्वय गरी सक्रीय भुमिका निर्वाह गर्ने यो टिमको योजना छ ।

वर्तमान कार्यसमितिमा पनि तपाईं महत्वपुर्ण जिम्मेवारीमा नै हुनुहुन्छ । त्यसैले क्यानको अहिलेको सुस्ततामा त तपाईं पनि जिम्मेवारी हुनुहुन्छ नि हैन ?

 विगतको दिनमा जस्तो क्यानको चार्मिङ जुन किसिमले माथि लानुपर्ने हो, त्यो किसिमले नगएको अवस्था हामीले पनि महसुस गरेका छौँ । त्यसमा नेतृत्वमा रहेकाहरुले टिममा रहेर काम गर्न नसकेको जस्तो मलाई लाग्छ । र हामीले कुनै किसिमको नयाँ कार्यक्रम वा योजना पनि केही समय अगाडि देखि नै ल्याउन सकेका छैनौँ । हामीले इन्फोटेक गर्छौ, कन्फ्रेन्स गर्छौँ ।

तर त्यस बाहेकका योजनाहरु व्यवसाय वा व्यक्तिगत सदस्यहरुका लागि, उहाँहरुको हकहितको लागि गर्नुपर्ने कार्यक्रमहरु आउन नसकेको हामी आफैले पनि महसुस गरेका छौँ । आगामी दिनमा यस्ता किसिमका कार्यक्रमलाई अगाडि बढाउने योजना छ । जस्तो हामीले केही समय अगाडि आईटी विधेयकको सन्दर्भमा मन्त्राललाई तीन महले बुझाएका थियौँ ।

त्यसैगरी विकास समितिका अध्यक्ष कल्याणी खड्का म्याडमलाई पनि बुझायौँ । त्यसपछि चाहिँ आईटी बिलमा सुनुवाई पनि भएको छ । आगामी दिनमा पनि सूचना प्रविधिको नीति निर्माण गरेर यो क्षेत्रलाई अझ सहयोग गर्ने प्रतिवद्धता यो टिमले लिएको छ ।

त्यस बाहेक यो क्षेत्रमा जति जनशक्ति उत्पादन हुनुपर्थ्यो , त्यो किसिमको जनशक्ति उत्पादन नभएको, जनशक्तिमा शीपको कमी रहेको, हार्डवेयर आयातमा समस्या आउने, सफ्टवेयर उद्योगलाई नेपालमा पनि राम्रोसँग बजार प्रबर्द्धन गर्न कतिपय कठीनाई आउने जस्ता समस्याहरु छन् ।

नेपालमा उत्पादन भएका सफ्टवेयरलाई अन्तरराष्ट्रिय बजारमा लैजान जुन कसिमिका कार्यक्रमहरु ल्याईनुपर्थ्यो, त्यस्ता कुराहरु विगतमा त्यति आउन सकेका छैनन् । आगामी दिनमा त्यसलाई परिपुर्ति गर्दै लैजाने हाम्रो टिमको प्रतिवद्धता छ ।

केही समय अगाडि मनिटर आपूर्ति गर्दा, त्यसमा एचडीएमआई केबल भएका कारण टीभीको भन्सार सुल्क लगाइयो । त्यसका कारण हाम्रा व्यवसायीहरुलाई छुटाउनुपरेको अवस्था सम्म छ । यस्ता समस्या अन्यत्र पनि छन् । केही समय अगाडि सफ्टवेयर आयात गर्दा पनि पाँच प्रतिशत भन्सार लाग्थ्यो भने पछि सीडी आउन थाल्यो ।

पेपरमा ल्याउँदा खेरी त्यसको भन्सार सूल्क कहिले ३० प्रतिशत कहिले १५ प्रतिशत भनेर व्याख्या गरियो । यस्ता किसिमका समस्या थुप्रै छन् । व्यक्तिगत किसिमका व्यवसायीलाई पर्ने समस्याहरु छन् । त्यसमा व्यवसायीहरुसँग निरन्तर रुपमा नियमित अन्तरक्रिया गरी उहाँहरुको समस्यालाई बुझेर क्यानले लबिङ गरिदिने वातावरण तयार गर्नुपर्ने छ । 

सूचना प्रविधिको क्षेत्रमा काम गर्ने कम्पनीहरुले दक्ष जनशक्तिको अभाव झेलिरहेका छन् । निकै नै मेहेनतपुर्वक तयार पारेका जनशक्ति पनि अर्को कम्पनीमा गइदिने र अझ भनौँ विदेशिने समस्या बिकराल रुपमा छ । यसप्रति तपाईको दृष्टिकोण के छ ?

यो एकदमै समस्याको कुरा छ । तीन महिना, ६ महिना लगाएर इन्टर्नीहरु तयार गर्छौँ । त्यो तयार गरिसकेपछि जब हामीसँग कामको अपेक्ष गर्ने बेला आउँछ, त्यतिबेला उहाँहरु विदेश गइदिने वा अर्को कम्पनीमा गइदिने समस्या हामीले दैनिक रुपमा भोगिरहेका छौँ ।

यसका लागि मलाई लाग्छ, हामी व्यवसायी बीचमा पनि एउटा समझदारी हुनुपर्छ, ता कि मैले कतै कुनै अरु कम्पनीमा काम गरिरहेको कोही व्यक्तिलाई आफ्नो कम्पनीमा जागिर दिदैँ छु भने कस्तो छ, के छ भनेर एक पटक रेफरेन्स लिनुपर्छ । यसरी संस्थाहरबिचमा समन्वय भयो भने पनि एउटा कम्पनीबाट अर्को कम्पनीमा जाने समस्यामा कमी आउँछ ।

लामो समयसम्म एउटै कम्पनीमा सन्तुष्ट भएर बस्न सकिन्छ भन्ने विषयमा पनि हामी व्यवसायीहरुबीचमा बढी छलफल हुँदा सजिलो हुन्थ्यो । त्यस किसिमको समन्वयकारी भुमिकामा पनि कमी आएको देख्छु । हरेक परिवारमा आफ्नो छोरा वा छोरी अमेरिका, अस्ट्रेलिया, लण्डल लगायतका खाडी मुलुक जाने क्रम कल्चरको रुपमा विकास भइरहेको छ ।

यसले पनि जनशक्ति अभाव हुनुमा एकदमै ठूलो भुमिका खेलेको छ । उहाँहरुलाई यहीँ स्वदेशमै टिकाउनका लागि सरकारी तवरबाट मानव संसाधन व्यवस्थापन सम्बन्धि परिपक्व किसिमको नीति आउन आवश्यक छ । हाम्रो तर्फबाट पनि उहाँहरुलाई यही देशमा बसेर राम्रो किसिमको जागिर र राम्रो पैसा कसरी कमाउने सकिन्छ भन्ने सन्दर्भमा प्रशिक्षित गर्न जरुरी छ ।

राजनीतिक खिचातानीले क्यान कमजोर बन्दै गएकोमा स्वयम् क्यानकै सदस्यहरू तथा सरोकारवालाले चिन्ता व्यक्त गर्न थालेका छन् । यस किसिमको अवस्थाबाट क्यानलाई बाहिर ल्याउन तपाईको भुमिका के हुन्छ ?

 सबै किसिमका संघ महासंघहरु गुटबन्दी भनौँ वा राजनीतिक हस्तक्षेपले साच्चिकै पीडित भएको अवस्था छ । क्यानलाई पनि यसले छोइसकेको छ । तर हामी के चाहन्छौँ भने क्यान एउटा निश्पक्ष, र स्वच्छ व्यसायिक संस्था हुनुपर्छ । यसमा कुनै किसिमको राजनीतिक रंग आउनु हुँदैन ।

यसलाई व्यवसायीक संस्थाको रुपमा चिन्ने वातावरण सिर्जना हुनुपर्छ । त्यसैका लागि हामी क्रियाशिल छौँ । आजको दिनसम्म यस संस्थालाई व्यवसायिक संथाको रुपमा जोगाउन सक्षम पनि भएका छौ । त्यति गर्दा गर्दै पनि साथीहरुको नेतृत्वमा कमी भएर हो वा जिल्ला, प्रदेश र केन्द्र बीचमा समान अधिकार नभएको कारणले हो । यसले गर्दा पनि केही असन्तुष्टिहरु टीममा छन्  ।

त्यस्ता असन्तुष्टिलाई हाम्रो कार्यकालमा निराकरण गर्दै लैजान्छौँ । अहिले यस्ता समस्याले गर्दा पनि  क्यानले राम्रो भुमीका निर्बाह गर्न नसकिरहेको अवस्था महसुश गरिरहेका छौँ । त्यसले गर्दा क्यानको छविलाई पनि जस्तो चाहेका हौँ, त्यस किसिमले उजागर गरेर लैजान नसकेको अवस्था हो ।

यसलाई सबैले महसुश गरेर एकताबद्ध टिमको रुपमा कामगर्न आवश्यक छ । हामीले सूचना प्रविधि क्षेत्रका लागि नै काम गर्ने हो । यो भन्दा बाहेक चाहिँ आफ्नो अधिकारको लडाई छ, त्यो लडाई पनि साथसाथै विकासका कुराहरु पनि गर्दै गयौँ भने यो संस्थाले आफ्नो उन्नती र प्रगति अनि मजबुत छवी कायम राख्न सक्छ । 

अन्तिममा क्यानका सदस्य तथा मतदातालाई के भन्न चाहनुहुन्छ ?

क्यानको महाधिवेशन यही ७ मंसिरमा रहेको छ र एकदमै नजिक आइसकेको अवस्था पनि छ । अहिले हाम्रो टिम तयार भई अब चुनावी अभियानमा अगाडि बढिरहेको अवस्था छ । अहिले हाम्रो टिम एउटा मजबुत टीमको रुपमा अगाडि आएको छ ।

सफ्टवेयर उद्योग, हार्डवेयर उद्योग, इन्टरनेट सेवाप्रदायक, प्राज्ञिक क्षेत्रबाट, आईटी इनेबल सर्भिस र अनुसन्धानमा काम गर्नुभएको क्षेत्रबाट सबैको सहभागितामा टीम तयार भएको छ । यसरी विभिन्न क्षेत्रमा काम गरिरहेका हरुलाई समेटेर एउटा मजबुत टिम बनाउन सफल भएका छौँ ।

क्यान महासंघ एउटा आईटीको संस्था मात्र नभएर यसलाई स्मार्ट क्यान महासंघको रुपमा परिणत गर्ने हाम्रो योजना छ । त्यो योजनालाई लागु गर्ने सन्दर्भमा क्यान महासंघका हाम्रा जिल्ला, प्रदेश र केन्द्रका सम्पुर्ण सदस्य ज्युहरुलाई हाम्रो टिमलाई अत्यधिक बहुमतका साथ बिजयी गराई दिन अनुरोध गर्न चाहन्छु । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०