close

एनसीएचएललाई साफा अवार्ड

टेकपाना टेकपाना

पुस ८, २०७७ १९:४३

एनसीएचएललाई साफा अवार्ड

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले साउथ एसियन फेडेरेसन अफ अकाउन्टेन्ट अवार्ड (साफा) हात पारेको छ । कम्पनीले २०१९ का लागि सार्वजनिक क्षेत्रको विधा अन्तर्गत सर्वश्रेष्ठ प्रस्तुत वार्षिक प्रतिवेदनमा दोस्रो रनर अपको रूपमा सम्मान पाएको हो ।

एनसीएचएलले २०७५/०७६ को लागि सार्वजनिक गरेको वार्षिक प्रतिवेदन र यसको वित्तीय तथा कर्पोरेट गभर्नन्ससँग सम्बन्धित मूल्याङ्कनकोे आधारमा उक्त पुरस्कार प्रदान गरिएको हो । उक्त पुरस्कार बुधबार हस्तान्तरण गरिएको थियो ।

श्रीलंकाको इन्स्टिच्युट अफ चार्टर्ड एकाउटेन्ट्स (सीए श्रीलंका) ले आयोजना गरेको भर्चुअल कार्यक्रममा पुरस्कार दिइएको थियो । यस वर्ष इन्स्टिच्युट अफ चार्टर्ड अकाउन्ट्स अफ नेपाल (आईक्यान) द्वारा आयोजना गरिएको आईक्यान बेस्ट प्रिजेन्टेड अवार्ड (बीपीए) २०१९ मा पहिलो स्थान पाएपश्चात एनसीएचएलको केस आईक्यानले साफामा पठाएको थियो ।

एनसीएचएल गत वर्ष समेत साफाको मेरिट सर्टिफिकेटबाट पुरस्कृत भएको थियो । कम्पनीले यस वर्ष दोस्रो रनर अप भएर आफ्नोे प्रदर्शनमा सुधार ल्याएको हो । कर्पोरेट गभर्नेन्स तथा पारदर्शितालाई सधै आत्मसाथ गर्दै आएको एनसीएचएल नेपाल राष्ट्र बैंक तथा बैंक वित्तीय संस्थाहरुद्वारा प्रवर्द्धित कम्पनी हो ।

सर्वसाधारणबीच डिजिटल भुक्तानी कारोबारको क्षेत्रमा विश्वसनीयता कायम गर्न पारदर्शिता निकै महत्वपूर्ण रहेको एनसीएचएलको विश्वास छ । एनसीएचएलले हरेक वर्ष पारदर्शी रुपमा सार्वजनिक गर्दै आएको वार्षिक प्रतिवेदन तथा वित्तीय डिस्क्लोजर तर्फको प्रतिवद्धताको सम्मान स्वरुप उक्त अवार्ड पाएको हो ।

नेपालमा राष्ट्रिय भुक्तानी प्रणाली स्थापना गर्न नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाद्वारा प्रवर्द्धित कम्पनी एनसीएचएलको एनसीएचएल ईसीसी, एनसीएचएल आईपीएस, कनेक्ट आईपीएस ई–पेमेन्ट, कनेक्ट आरटीजीएस, नेसनल पेमेन्ट्स इन्टरफेस (एनपीआई) र कर्पोरेट पे प्रणाली सञ्चालनमा छन् ।

साथै यसले आफ्ना भुक्तानी प्रणालीहरुमा बैंक तथा वित्तीय संस्थाहरू बाहेक विभिन्न इन्स्योरेन्स, रेमिट्यान्स, पीएसपी, पीएसओ, सरकारी तथा अर्ध–सरकारी संस्थाहरुलाई इन्डाइरेक्ट प्राविधिक सदस्यका रुपमा आबद्ध गराई सेवा प्रदान गर्दै आएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०