काठमाडौं । ई-कमर्स तथा अनलाइन डेलिभरी सेवा सञ्चालकहरुको साझा फोरमले पठाओ कार्यालय तोडफोडको घटना प्रति गम्भीर ध्यानाकर्षण जनाएको छ । राइड सेरिङ कम्पनी पठाओको कार्यालयमा भएको तोडफोडले स्टार्टअप क्षेत्रलाई नै दुरुत्साहन गरेको भन्दै संस्थाले आफ्नो धारणा सार्वजनिक गरेको हो ।
कमिसन घटाउनुपर्ने लगायतका आफ्ना माग पुरा नभएको भन्दै राइडरहरुले गत सोमबार पठाओको कार्यालय तोडफोड गरेका थिए । फोरमका संयोजक सागरदेव भट्टले एक विज्ञप्ति जारी गर्दै कुनै पनि समस्या आपसी वार्ता र सहमतिको प्रक्रियाबाट थाल्नुको साटो संस्थामाथि नै आक्रमण तथा तोडफोड गर्नु निकै दुःखद भएको बताए ।
‘पठाओ जस्ता राइड शेयरिङ एपहरुले गर्दा सर्वसाधारण नागरिकहरुको दैनिक यात्रा धेरै हद सम्म सजिलो हुँदै आएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
कोभिड १९ का कारण अर्थतन्त्र नै सिथिल भएको समयमा समेत राइड शेयरिङ सेवामार्फत हजारौंले रोजगारी समेत पाएका छन् । विज्ञप्तिमा अगाडि भनिएको छ, ‘यस्ता घटनाले नेपाली स्टार्ट अप क्षेत्रलाइ नवीनता र आविष्कारको बाटोमा धकेल्नुको साटो उल्टै सूचना प्रविधिको माध्यमबाट नेपाली नागरिकहरुलाइ जीवनयापन गर्न सहज बनाइरहेका सबै संस्थाहरुलाई दुरुत्साहन गरेको महसुस भएको छ।’
यस्ता कार्य जो सुकैबाट भए पनि छिटोभन्दा छिटो छानबिन गरी दोषीहरुमाथि कारबाही गर्न फोरमले नेपाल प्रहरी र गृह मन्त्रालयसँग माग गरेको छ । साथै ‘राइडर’ हरुलाई केही व्यक्तिहरुको लहलहैमा नलागी आफ्ना मागहरु स्पष्ट संवाद र वार्ताका माध्यमबाट समाधान गर्न समेत अनुरोध गरिएको छ ।