close

बैंक र भुक्तानी सेवा प्रदायकलाई एउटै छातामुनि ल्याउन ‘स्मार्ट क्यूआर’

टेकपाना टेकपाना

पुस २३, २०७७ १८:३६

बैंक र भुक्तानी सेवा प्रदायकलाई एउटै छातामुनि ल्याउन ‘स्मार्ट क्यूआर’

काठमाडौं । आजभन्दा २० वर्षअघिको बैंकिङ क्षेत्र र आजको बैंकिङ क्षेत्रलाई दाज्ने हो भने आमूल परिवर्तन भएको छ । कुनै समय बैंकबाट पैसा निकाल्न ‘चेक’ भन्दा हामीसँग अर्को विकल्प थिएन । जसले गर्दा सेवाग्राही बैंकमै पुग्नुपर्ने बाध्यता थियो ।

त्यसको समाधानको रुपमा एटीएमको सुरुवात भयो । जुन सेवाग्राही बैंकमा नगई कारोबार गर्नसक्ने एउटा माध्यम थियो । तर, त्यसमा पनि सुरुमा बैंकअनुसार आ-आफ्नै एटीएम थिए ।

हिमालयन बैंकको आफ्नै, नविल बैंकको आफ्नै एटीएम । त्यो हुँदा पैसा निकाल्न जुन बैंकको कार्ड हो, त्यही बैंकको एटीएममा जानुपर्ने बाध्यता पनि हामीले भोगेका हौं ।

अहिले पनि हामी त्यही एटीएम मेसिन नै प्रयोग गरिरहेका छौं । तर, शैलीमा भने परिवर्तन भएको छ । प्रविधिको विकासले एटीएममा धेरै परिवर्तन आएको छ । अहिले हामी जुनसुकै बैंकको कार्ड भएता पनि कुनै पनि एटीएम मेसिनमा प्रयोग गर्न सक्छौं ।

होला, त्यसका लागि हामीले केही शुल्क ब्यहोर्नुपर्छ । तर, त्यो सानो शुल्कभन्दा पनि हाम्रो लागि सहजता महत्वपूर्ण भयो ।

अझ विस्तारै एटीएममा बिना कार्ड कारोबार गर्न सकिने सुविधा नेपालमा केही बैंकले उपलब्ध गराइसकेका छन् । त्योभन्दा पनि आज हामी बैंकमै नपुगी पैसाको कारोबार गर्न सक्ने मोबाइल बैंकिङ प्रविधि, अनलाइनबाटै भुक्तानीको लागि मोबाइल वालेटको विकास भइसकेको छ ।

त्यतिले मात्र भएन, आज एउटा क्यूआर कोड स्क्यान गरेको भरमा हामीले सहजै कुनै सेवाको शुुल्क बुझाउन सकिनेसम्म भइसकेको छ । यी सबै प्रविधिको विकाससँग स्मार्ट च्वाइस टेक्नोलोजी (एससीटी) ले सधैं हातेमालो गर्दै आएको हो ।

‘हामीले सन् २००३ बाट सेवा सुरु गरेको थियौं,’ कम्पनीका असिस्टेन्ट म्यानेजर हरि अर्याल भन्छन, ‘एससीटीले त्यतिबेला एउटा बैंकको ग्राहकले अर्को बैंकको एटीएममा गएर कार्ड प्रयोग गरी पैसा झिक्न सक्ने बनाएको थियो ।’

अर्याल दावी गर्दै भन्छन, ‘यसरी एटीएममा एकीकृत सेवा नेपालमा सुरु गर्ने काम नै एससीटीले गरेको हो । विस्तारै अन्य कम्पनी थपिँदै आए । आज बजारमा हामीसँगै अन्य दुई कम्पनीले पनि यस्तै सेवा दिइरहेका छन् ।’

यसरी बैंकको एटीएमलाई एकीकृत गरेको एससीटीले बैंकिङ क्षेत्रमा आएको परिवर्तनसँगै आफूलाई पनि परिमार्जन गर्दै जानु स्वभाविक नै हो । अहिले हरेक बैंकको आफ्नै मोबाइल बैंकिङ एप छ ।

अनलाइन पेमेन्टका लागि पीएसपी अर्थात् ईसेवा, खल्ती, प्रभु पे, आईएमई पे लगायतका वालेट बजारमा छन् । यतिसम्म कि, सहकारी संस्थाहरुले पनि मोबाइल एप आफ्ना ग्राहकलाई उपलब्ध गराउन थालेका छन् । र यही नयाँ विकास बैंकिङ क्षेत्रको नयाँ बाटो हो ।

‘तर, यी सेवा एकीकृत नहुँदा हामी फेरि सन् २००१ मा फर्किएका छौं,’ अर्याल भन्छन, ‘पहिले जसरी हामीसँग जुन बैंकको एटीएम कार्ड छ, त्यही बैंकको एटीएममा जानुपर्थ्याे, त्यसरी नै अहिले हामीसँग जुन बैंकको एप छ त्यही बैंकको मात्रै कारोबार गर्न सक्छौं ।

त्यस्तै पीएसपीतर्फ पनि त्यस्तै खालको अवस्था छ । जस्तो आईएमई पेको कुनै मर्चेन्ट छ भने उक्त मर्चेन्टमा आईएमई पे मार्फतमात्रै भुक्तानी गर्नुपर्ने अवस्था छ ।’

त्यसैले ठ्याक्कै हामी सन् २००१ को युगमा फर्किएका छौं । तर, यसको अर्थ हामी पुरानो प्रविधिमै फर्किएको भने हैन । अर्याल भन्छन, ‘त्यतिबेला एटीएमलाई एकिकृत गर्नु हाम्रा लागि माइलस्टोन थियो भने अहिले डिजिटल कारोबारका लागि क्विक रिस्पोन्स कोड ‘क्यूआर कोड’ लाई एकीकृत गर्न अघि बढेका छौं । त्यही परिकल्पाना अनुसार एससीटीले ‘स्मार्ट क्यूआर’ सुरु गरेको हो ।’

नेपालको पहिलो एकीकृत क्यूआर सिस्टमको रुपमा यसरी अघि बढ्नुको पहिलो उद्देश्य बैंक तथा पीएसपीका लागि पुल बन्नु नै हो,’ उनी भन्छन, ‘हामी हाम्रा मर्चेन्ट र प्रयोगकर्ताका लागि सहज, सुरक्षित र सहुलियत पूर्ण सेवा दिनका लागि नै काम गर्नेछौं ।’

के हो स्मार्ट क्युआर ?

युपीआई मापदण्डमा आधारित भएर एससीटीले अहिले स्मार्ट क्युआरको अवधारण अघि सारेको हो । जसको उद्देश्य सबै बैंक तथा पीएसपीलाई एउटा छाताभित्र ल्याएर सेवा दिनु हो । यसको सुरुवात गत असोजबाटै भएको उनी बताउँछन् ।

भन्छन, ‘तर यसको सार्वजनिक भने एक हप्ताअघिमात्रै भएको छ । योसँगै यदि तपाईं आईएमई पेको प्रयोगकर्ता हो र तपाईं प्रभु पेको कुनै मर्चेन्टमा पुग्नुभयो भने अब तपाईंले त्यहाँ सहजै क्यूआर स्क्यान गरी भुक्तानी गर्न सक्नुहुन्छ ।’

उनका अनुसार हाल स्मार्ट क्यूआरको छाताभित्र आईएमई पे, प्रभु पे, क्यू पे जस्ता स्वदेशी भुक्तानी सेवा प्रदायक र अन्तर्राष्ट्रिय संस्था यूनियन पे इन्टरनेशनल जोडिएका छन् । साथै यूनियन पे इन्टरनेशनलसँग आबद्ध खल्ती, मो–बैंकबाट पनि स्मार्ट क्युआरमा स्क्यान गरी भुक्तानी गर्न सकिन्छ ।

यसको अर्थ अब स्मार्ट क्युआरमा जोडिएका संस्थाहरुको २५ हजारभन्दा बढी मर्चेन्टमा एकअर्काबाट सहजै कारोबार गर्न सकिने भएको छ । विस्तारै यसमा बैंकहरु पनि जोडिँदै जाने अर्याल बताउँछन् ।

कसरी काम गर्छ स्मार्ट क्यूआरले ?

यसका लागि कम्पनीले स्मार्ट क्युआरको एन्ड्रोइड र आईओएस दुबै एप निमार्ण गरिएको छ । जुन एप अब बैंक तथा पीएसपीका सबै मर्चेन्टले प्रयोग गर्नसक्छन् । यदि अहिले बजारमा प्रभुको मर्चेन्ट, आईएमई पेको मर्चेन्ट छन भने उनिहरुका मर्चेन्टमा स्मार्ट क्यूआरले प्रतिस्थिापन गरिनेछ । र उक्त मर्चेन्टलाई उक्त एपमार्फत कनेक्ट गराइनेछ ।

जसमार्फत उक्त मर्चेन्टले सजिलैसँग सबै कारोबारको विवरण एकै ठाँउमा हेर्न र व्यवस्थापन गर्न सक्नेछन् । साथै, व्यापारीले प्राप्त गर्ने रकमलाई यसै एप मार्फत सिधै बैंकमा जम्मा गर्न पनि सक्नेछन् ।

‘यस्तो प्रक्रिया सुन्दा अब मर्चेन्ट नै स्मार्ट क्युआरको हो जस्तै लाग्न पनि सक्ला,’ अर्याल भन्छन, ‘तर, मर्चेन्टसँधै बैंक तथा पीएसपीकै हुने हो । उनीहरुको माथि स्मार्ट क्यूआर रहने हो । त्यो हुँदा स्मार्ट क्यूआरमा जोडिएका सबैले उक्त मर्चेन्टमा गएर भुक्तानी गर्न सक्छन् ।’

यो सिस्टमले स्ट्याटिक (यदि तपाईं आफूले भुक्तानी गर्नुपर्ने रकम मर्चेन्टको डेक्समा भएको क्यूआर स्क्यान गरी रकम आफैं तिर्नुहुन्छ भने त्यो स्ट्याटिक्स क्यूआर) र डाइनामिक (यदि मर्चेन्ट आफैले पैसा हालेर अन्त्यमा पैसा काट्ने गरी तपाईंलाई स्क्यान गर्न लगाउँछ भने त्यो डाइनामिक क्यूआर) दुवै क्यूआर कोड सर्पोट गर्ने अर्याल बताउँछन् ।

अर्यालका अनुसार यो हुँदा एउटा पसलमा धेरै कम्पनीको छुट्टाछुट्टै क्यूआर राख्नुपर्ने झन्झटको अन्त्य भएको उनी बताउँछन् । भन्छन, ‘अर्कोतर्फ हामीले स्मार्ट क्यूआरसँग जोडिएको एउटा कम्पनीले मर्चेन्ट बनाइसकेको स्थानमा अर्को कम्पनीले सोही ठाउँमा गएर मर्चेन्ट बनाउन नपाउने बनाएका छौं । त्यसको नियन्त्रण सिस्टमबाटै हुनेछ ।’

कम्पनीको आगामी योजना

कम्पनीको योजना ग्राहकको आवश्यकता अनुसार नै परिमार्जन हुँदै जाने हो । अहिले मर्चेन्टलाई मात्र यो एप उपलब्ध भएतापनि केही समयपछि साधारण प्रयोगतर्कालाई स्मार्ट क्यूआरको एप उपलब्ध गराइने छ । जसमा प्रयोगकर्ताले विभिन्न अफर, तथा छुट उपभोग गर्न पाउनेछन् । भने, चाँडै यसको वेब भर्सन पनि सार्वजनिक गर्ने योजना कम्पनीले बनाएको छ ।

ग्राहकका लागि अफर

कम्पनीका अनुसार सेवा सुरुवातको अवसरमा कम्पनीले एक सय ३० वटा मर्चेन्टसँगको सहकार्यमा प्रयोगकार्तालाई ठूलोमात्रामा छुट उपलब्ध गराइरहेको छ । जसमा मल, डिपार्टमेन्ट स्टोर र रेष्टुरेण्टहरुमा १५ प्रतिशतसम्मको छुट रहेको छ ।

वालेट प्रयोगकर्ताले सेल्सबेरी, डेली ग्रोसरी, न्यू मार्ट जस्ता डिपार्टमेन्ट स्टोर र ग्यापु, मुञ्चा, इन्फिस्टोर जस्ता अनलाइन स्टोरबाट १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । त्यस्तै काठमाडौं उपत्यकाभित्रका ५० भन्दा बढी रेष्टुराँमा समेत वालेट प्रयोगकर्तालाई १० प्रतिशत छुट पाउने सुविधा रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१