close

के सम्भव छ त टाइम ट्राभल ?

टेकपाना टेकपाना

माघ १४, २०७७ १७:२७

के सम्भव छ त टाइम ट्राभल ?

तपाईंलाई लाग्ला टाइम ट्राभल प्राचीनकालिन अवधारणा होला । युनानी मिथक र सेक्सपियरको नाटकमा यो उल्लेख होला । तर त्यस्तो केही पनि होइन । वास्तवमा ‘द टाइम मसिन’ उपन्यासबाट एच जी वेल्सले १८९५ मा पहिलोपटक यसलाई उल्लेख गरेका थिए ।  

विज्ञान तथा प्रविधिका अनुसन्धानकर्मी जेम्स ग्लिकले ट्राइम ट्राभलमाथि ‘टाइम ट्राभल अर हिस्ट्री’ नामको पुस्तक लेखेका छन् । 

एच जी वेल्सको पुस्तक खुब बिक्यो । चर्चा पनि त्यत्तिकै पायो । टाइम मसिनबाट विगतमा गएर ऐतिहासिक व्यक्तिहरुलाई भेट्ने, गल्तीहरुलाई सुधार्ने जस्ता कल्पनाहरु ती पुस्तकमा समेटिएका थिए ।

किताब र फिल्महरुमा जसरी बताइन्छ त्यसैगरी समय यात्रा सम्भव छ त ?

यस विषयमा जेम्स ग्लिक भन्छन्, ‘यदि तपाईंले यस सम्बन्धी लेखिएका तमाम पुस्तकहरु हेर्नुभयो भने समय यात्राको अवधारणालाई ती पुस्तकहरुमा फेन्टासीको रुपमा उल्लेख गरिएको छ । यो एउटा मनोवैज्ञानिक तथ्य भएकाले हुनसक्छ, यदि तपाईं यसमाथि काम गरिरहेका सयौं मानिसहरुसँग यसको सम्भावनालाई लिएर सोध्नुहुन्छ भने उनीहरुले यसको सम्भावनालाई अस्वीकार गर्दैनन् ।’

समयको गति 

कर्टिन विश्वविद्यालयकी खगोलविद् डा. नताशा हर्ले वाँकर भन्छिन्, ‘कुनै पनि साइन्स फिक्सन अनुसार ब्रह्माण्ड एकदमै अचम्मको छ ।’

घटनाहरु एउटा विशेषक्रममा हुन्छन्, त्यो हामीलाई थाहा छ । सयमको आफ्नै एउटा आयाम हुन्छ भन्ने कुरामा वैज्ञानिकरुको एकमत छ । तर यो सोचको आफ्नै समस्या छ । जसको कारण हो ‘प्रकाश’ । 

‘यदि हामी कतै तटस्थ उभिनुको सट्टा प्रकाशको गतिसँगै हिड्यौं भने प्रकाशले हामीलाई उछिनेर अगाडि बढ्छ भन्ने कुरा हामी सजिलै स्वीकार गर्छौं । तर यो सत्य होइन मानिसहरु कयौं दशकदेखि यसमाथि प्रयोग गरिरहेका छन् तर उनीहरुले प्रकाशको गतिमा कुनै परिवर्तन पाएका छैनन् । यसैले ब्रह्माण्डमा अनौंठो निरन्तरता छ, जुन समयको होइन गतिको हो ।’  

तपाईंले विद्यालयमा चाल बराबर दूरी र समयको भागको समिकरण पढ्नुभएको होला । यो साधारण समिकरणले समय कसरी काम गर्छ भनेर बताएको छ । किनभने प्रकाशको चाल वा गति सधै एउटै हुन्छ । चाहे तपाईं हातमा टर्च राखेर नै किन नकुद्नुहोस् । 

उदाहरणका लागि यदि तपाईंको हातमा एउटा घडी छ र तपाईं स्थिर हुनुहुन्छ । तब तपाईं कुद्न सुरु गर्नुभयो र विस्तारै प्रकाशको गतिमा कु्द्न थाल्नुभयो भने तपाईंको घडीमा केही अनौंठो हुन्छ । घडीको रफ्तार सुस्त हुन थालेको आभाष हुन्छ । तपाईं जति तीव्र गतिमा कुद्नुहुन्छ, त्यति नै विस्तारै तपाईंको घडी चल्न थाल्छ ।   

फोटोन प्रकाशको कण हो, जुन प्रकाशको गतिभन्दा तीव्र गतिमा हिँड्छ । घडी एकदमै सुस्त बनिदिन्छ । फोटोनका लागि यस्तो एकपटक मात्र हुन्छ । फोटोनहरु ताराको सतहबाट अलग हुन्छन् र आकाशबाट हुँदै धर्तीमा आइपुग्छन् ।  यसले दिमागलाई नै चक्राइ दिन्छ । 

नताशाका अनुसार चालले मात्र समयलाई मापन गर्दैन । यसको साथमा मास अर्थात् पिण्ड पनि हुन्छ । साथै ग्रह वा ब्ल्याक होल जस्ता ठूला पिण्ड पनि हुन्छन् जसले स्पेस टाइमलाई बदली दिन्छन् । जसरी हामी ट्रेम्पोलिनमा तौल राख्छौं । 

हामी धर्तीकाे वरिपरी स्याटेलाइट कम्युनिकेसनको प्रयोग गर्छौं । स्याटेलाइट १४ हजार प्रति घण्टाको गतिमा हिँड्छ ।  जीपीएस स्याटेलाइट प्रविधिलाई नै हेर्नुहोस् न । त्यसले स्मार्टफोनको माध्यमबाट तपाईं धरतीमा कहाँ हुनुहुन्छ भनेर पत्ता लगाउँछ ।  

हामीले त्यो स्याटेलाइट कता छ भनेर पत्ता लगाउनुपर्छ । यदि कुनै विशेष समयमा त्यसको घडीले अलग्गै तरिकाले काम गर्छ भने यसो गर्नु सजिलो हुँदैन । 

गतिको असर हरेक दिन सात माइक्रोसेकेण्ड र गुरुत्वाकर्षणको प्रभाव हर दिन ४५ माइक्रोसेकेण्डको अन्तर लाग्छ । यस्तोमा हरेक दोस्रो मिनेट जीपीएस स्याटेलाइटको समयलाई उस्तै बनाउनुपर्छ । अन्यथा सबै नेभिगेसन प्रणाली ठप्प हुन्छ । 

समयको चाल सबैका लागि एउटै हुँदैन । आफ्नै वरिपरीको विश्वमा हामी यसलाई देखिरहेका हुन्छौं । के यसको फाइदा लिएर हामी भविष्यमा जान सक्छौं ?

फास्ट फवर्ड 

एस्ट्रो फिजिस्ट प्राध्यापक केटी म्याक भन्छिन्, ‘मैले टेलिकेनेसिस बनाउने प्रयास गरें । मलाई लाग्दैन कि त्यो कुनै टाइम मसिन बनाउने प्रयास थियो । जुनसुकै कुराहरुलाई आफ्नो सोच अनुसार चलाउनु राम्रो कुरा होला जस्तो मलाई लाग्छ । तर कति प्रयास गर्दा पनि म सफल हुन सकिनँ ।’

अमेरिकाको नर्थ क्यारोलिनामा एस्ट्रो फिजिक्सकी प्राध्यापक केटी म्याकले सानो उमेरमै आफ्नो लागि निकै महत्वकांक्षी लक्ष्य तय गरेकी थिइन् ।

हामी एउटा प्रश्नमा बहस गर्न सक्छौं । यदि जीपीएस स्याटेलाइटका लागि समयको चाल फरक छ भने मानिसका लागि पनि यसको चाल फरक हुनसक्छ त ?

उदाहरणका लागि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन आईएसएसमा बस्ने अन्तरिक्षयात्रीहरु धर्तीभन्दा धेरै टाढा गएर बस्ने गर्छन् । उनीहरु एकदमै तेज रफ्तारमा धर्तीकाे परिक्रमा गर्छन् । यसरी उनीहरुको उमेर बढ्दा उनीहरुमाथि कुनै असर हुन्छ त ? 

प्राध्यापक केटी भन्छिन्, ‘यदि सैद्धान्तिक हिसाबले भन्ने हो भने यसको असर हुन्छ । त्यहाँको समयको चाल हाम्रो यहाँको समयको चालभन्दा सुस्त हुन्छ ।  तर यदि तपाईं आईएसएसमा एक वर्षको लागि बस्नुहुन्छ भने धर्तीको तुलनामा त्यहाँ केही सेकेण्डको मात्र फरक हुन्छ ।’

हाम्रो उद्देश्य भनेको भविष्यमा धेरै वर्ष अघिको यात्रा गर्नु हो । यो सेकेण्डभित्रको सानो भागको कुरा होइन । यो कसरी सम्भव छ त ?   

केटी भन्छिन्, ‘अहिले हामीसँग जुन रकेट छ त्यसलाई हेर्दा हाम्रो र धर्तीकाे बीचमा ठूलो समय अन्तर हुने स्थिति छैन । यदि हामी अहिले सूर्य बाहेक हामी नजिकको अर्को तारा भएको ठाउँमा पुग्न चाहान्छौं भने हामीसँग भएको अहिलेको प्रविधिको मद्दतबाट हामीलाई एक लाख वर्ष लाग्दछ ।’

यो एकदमै लामो समय हो । आफ्नो साथीहरुभन्दा आफू जवान छु भनेर फर्केर देखाउन तपाईंका लागि सम्भव हुँदैन । यदि हामीले अन्तरिक्ष यात्राका लागि सुपरफास्ट यन्त्र बनायौं भने पनि यो यात्रा जोखमपूर्ण हुन्छ । यदि तपाईं सुपरफास्ट विमानमा चढेर एक लाख वर्षको यात्रा गर्न चाहनुहुन्न भने तपाईंसँग भविष्यको यात्रा गरेर समयभन्दा अगाडि जानलाई अर्को पनि उपाय छ । 

यदि कोही समयको चाल बदल्न चाहन्छ भने उसको गति तीव्र हुनुपर्छ अन्यथा उ गुरुत्वक्षेत्रनजिक बस्नुपर्छ । यसो गर्दा पनि तपाईं भविष्यको यात्रा मात्र गर्न सक्नुहुन्छ । अतितमा जाने हामीसँग कुनै बाटो हुँदैन । यसलाई केटी असम्भव भन्छिन् । 

सर्ट कट 

एडिनबरा विश्वविद्यालयका भौतिकशास्त्री डा. ल्यूक बुचर भन्छन्, ‘समय यात्रालाई लिएर मसँग बाल्यकालका धेरै स्मृतिहरु छन् ।’ 

अतितको यात्रामाथि ल्युक अध्ययन गर्छन् । ल्युक जस्ता धेरै भौतिकशास्त्रीहरु यसैमाथि अध्ययन गर्छन् । स्पेस टाइम बदल्यो भने के यो सम्भव छ त ? यसले केही सजिलो हुन्छ । 

यसैका लागि भौतिकशास्त्रीहरु गणितका समिकरण लेख्छन् । आफ्नो सिद्धान्तको परीक्षण गर्छन् । यसका लागि ल्युकले वार्महोलको समिकरण बनाएका छन् । यसको कल्पना १९३० को दशकमा अल्बर्ट आइन्सटाइन र न्याथेन रोजेनले गरेका थिए ।  

वार्महोल विशेषगरी स्पेस टाइमको एउटा ट्युब हो, जसले दुई सिरालाई जोड्छ । यसले जुन दुई सिरालाई जोड्छ, त्यो एकअर्कासँग टाढा हुन्छ र त्यो अलग्गै समयको दुई सिरा पनि हुनसक्छ । यसलाई एउटा समयको स्थानदेखि अर्को समयमा पुग्ने सर्टकट पनि भन्न सकिन्छ । 

स्टार ट्र्याक जस्ता साइन्स फिक्सनमा वार्महोलको चर्चा धेरैपटक गरिएको छ । यद्यपि यसको उपस्थितिको कुनै पनि प्रमाण हामीसँग छैन । 

जब तपाईं कुनै समिकरण लेख्नुहुन्छ र त्यसलाई हल गर्ने प्रयास गर्नुहुन्छ, तब एउटा प्रमुख अवरोध आउँछ कि यो वार्म होल होस् र त्यो खुल्ला पनि होस् । तर स्पेस टाइमलाई नेगेटिभ एनर्जीको आवश्यक पर्दछ । सटिक शब्दमा भौतिकशास्त्रीहरुको भाषामा त्यो न्यूनतम उर्जा जसको तपाईं कल्पनासम्म गर्न सक्नुहुन्छ । यदि ल्युकले त्यो गर्नसके भने वार्महोलले प्रकाशको गति हासिल गर्दछ, जसलाई पार गर्न मानिसमा क्षमता छैन । 

तपाई पछाडी फर्केर आफूलाई केही घण्टा अगाडी हेर्न चाहानुहुन्छ भने यो भौतिकशास्त्रमा सम्भव छैन तर गणितमा यसलाई अस्विकार गर्न पनि सकिदैँन । यसर्थमा यो सम्भावनाशिल प्रश्न हो । इतिहासले हामीलाई के सिकाएको छ भने यस्ता आधारभूत प्रश्नबाट धेरै कुरा हासिल हुनसक्छ ।   

२०औं शताब्दीको सुरुवातमा हामी क्वान्टम मेकानिक्सको वरिपरी घुमिरहेका थियौं । ती रोचक सैदान्तिक प्रश्नहरु थिए । तब आज हामीले पाइरहेको फाइदाको बारेमा हामीलाई जानकारी थिएन । त्यसमा कम्प्युटर र ट्रान्जिस्टर जस्ता प्रविधिको आविष्कार रहेका छन् ।

फेरि पनि प्रश्न जहाँको त्यहीँ छ कि के हामी वास्तवमै समयभन्दा पर गएर यात्रा गर्न सक्छौं त ? वास्तवमा हामीसँग त्यस्तो कुनै जादुमयी बटन छैन जसलाई थिचेर हामी समयभन्दा अगाडी जान सकौं ।

तर भौतिकशास्त्रको अनुसार हामी जहाँ छौं र जसरी अगाडी बढिरहेका छौं  सयम त्यसको सापेक्षित अगाडी बढ्छ । यदि हामी जोखिम उठाउन तयार छौं भने हामी अगाडी जान सक्छौं । तर जुन समय गुज्रिसकेको छ त्यसमा फर्किएर जान असम्भव छ । वा यो कहिले सम्भव पनि हुनसक्छ । 

तर ट्राइम ट्राभललाई लिएर हामीले जति जानकारी जुटाउँछौं त्यसले ब्रह्माण्डलाई लिएर हाम्रो बुझाईलाई अझ धेरै व्यापक बनाएको छ । 

-बीबीसीकाे सहयाेगमा

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४