काठमाडाैं । विस्तारै एप्पलले आफ्नो आईफोनमा एन्ड्रोइडका फिचरहरु दिन थालेको छ । हालै मात्र आईफोनमा विजेट्स ल्याइएको थियो । यसअघि कन्ट्रोल सेन्टरलाई समेत एन्ड्रोइडको जस्तै बनाइयो ।
आईओएस १४ मा कयौं यस्ता फिचरहरु छन्, जो एन्ड्रोइडबाट प्रेरित भएको जस्तो लाग्ने गर्छ । सफ्टवेयरको मामिलामा मात्र होइन, हार्डवेयरमा समेत त्यस्तै लाग्छ । सोलोडोलो रुपमा भन्ने हो भने पछिल्ला केही वर्षमा आईफोनमा कुनै त्यस्तो ग्राउण्ड ब्रेकिङ वाव क्रान्तिकारी परिवर्तन खासै देखिएको छैन ।
तपाईं आईफोनको फ्यान हो भने असहमत पनि हुन सक्नुहुन्छ । तर वास्तविकता भने तपाईं नकार्न सक्नुहुन्न । उदाहरणका लागि आईफोन ट्वेल्भ सिरिजलाई नै लिउँ । आईफोन ट्वेल्भ एउटा आकर्षक स्मार्टफोन हो । तर यसमा तपाईंले त्यस्तो के पाउनुहुन्छ, जुन एन्ड्रोइडमा छैन ?
हामी यहाँ एप्पलको प्राइभेसी, सफ्टवेयर एक्सपिरियन्स र एप्पलको इको सिस्टमको कुरा गरिरहेका छैनौं । न त यहाँ एप्पलको चिपसेटको नै कुरा भइरहेको छ । निश्चित रुपमा एप्पलको नयाँ चिपसेट निकै फास्ट छ ।
प्राइभेसीको मामिलामा पनि एप्पल कुनै पनि हिसाबले पछाडि देखिँदैन । खासमा हामी यहाँ त्यो विषयमा चर्चा गर्दै छौं, नयाँ आईफोनमा त्यस्तो क्रान्तिकारी चर्चामा रहने प्रविधि के आएको छ, जुन पहिला पहिला हुने गर्दथ्यो ।
पछिल्लो समय खबर आइरहेको छ कि सन् २०२३ मा आईफोनमा अल्वेज अन डिस्प्ले दिइनेछ । तर तपाईंलाई थाहै होला एन्ड्रोइडमा यो फिचर कयौं वर्षदेखि उपलब्ध छ र यो निकै पुरानो भइसकेको छ ।
अर्को रिपोर्ट अनुसार एप्पलले सन् २०२३ सम्म फोल्डेबल आईफोन ल्याउने चर्चा छ । तर यो कन्सेप्ट पनि अब पुरानो भइसकेको छ । सामसङदेखि मोटोरोला र ह्वावेजस्ता कम्पनीले समेत फोल्डेबल स्मार्टफोन सार्वजनिक गरिसकेका छन् ।
त्यस्तै आईफोन १३ मा हाई रिफ्रेश रेट हुने खबर समेत आइरहेका छन् । एन्ड्रोइडमा पछिल्ला वर्षहरुमा यो एउटा ट्रेन्ड नै बनिसकेको छ ।
आईफोनलाई मात दिनेगरी एन्ड्रोइड फोनहरुमा उच्च रिफ्रेश रेट पाउने सकिने भइसकेको छ । यो मामिलामा पनि आईफोनको उच्च रिफ्रेश रेट कुनै नौलो प्रयोग वा विषय रहेन ।
गत महिनादेखि तपाईंले आगामी आईफोनको बारेमा अनेक लिक्स तथा रिपोर्टहरु पढ्दै आउनु भएको छ । तर त्यसमा अहिलेसम्म यस्तो खबर आएको छैन कि जुन स्मार्टफोनमै नयाँ प्रयोग होस् र अन्य स्मार्टफोनमा नपाइयोस् ।
त्यसो त एप्पल इनोभेसन अर्थात आविष्कारको लागि परिचित कम्पनी हो । आईफोन एक्समा कम्पनीले नच ल्याएर आएको थियो । फेस आईडी ल्यायो । जसलाई क्रमशः अन्य साना कम्पनीले समेत त्यसको नक्कल गर्न थाले ।
आईफोन एक्सबाट नै कम्पनीले आईफोनको डिजाइन नै पूर्णतः परिवर्तन गरिदिएको थियो । यस पटक आईफोन ट्वेल्भका साथ भलै कम्पनीले आईफोन फोरको जस्तै बक्स डिजाइन पुनः प्रयोगमा ल्याएको छ । तर यो पुरानो डिजाइनबाट कतिपय आईफोन फ्यानहरु निराश समेत देखिन्छन् ।
नोस्टाल्जिया फ्याक्टरले लामो समय साथ दिन सक्दैन । यसको उदाहरण नोकिया हो । नोकिया मोबाइल एक समयमा बजारको राजा थियो । नोकिया फर्केर पनि आयो । बजारमा नोकियाका फोनको बिक्री पनि भइरहेकै छ । तर के नोकियाको बजार पहिले जस्तै छ ?
यसको जवाफ तपाईंले पनि सहजै दिन सक्नुहुन्छ । नोकियाले नोस्टाल्जियामा खेल्ने प्रयास त भरमग्दुर रुपमा गरिरहेकै छ । आगामी केही महिनामा नयाँ आईफोन सार्वजनिक हुने सम्भावना छ । जसको साथमा कम्पनीले एयर ट्याग समेत सार्वजनिक गर्ने तयारी गरेको छ ।
एयर ट्याग एउटा सानो डिभाइस हुनेछ । जसलाई एप्पलका प्रडक्टको साथमा लगाएर त्यसको लोकेसन ट्र्याक गर्न सकिनेछ । हालै मात्र सामसङले एयर ट्याग जस्तै एउटा उत्पादन बजारमा ल्याएको छ ।
अब यो कुरा रोचक हुनेछ कि एप्पलले आउँदो केही महिनामा आईफोनको साथमा ल्याउने उत्पादनमा नयाँ के हुनेछ । प्रविधि छिटो छिटो विकास र परिवर्तन भइरहेको छ । हरेक वर्ष केही न केही नयाँ कुरा देख्न पाइएकै छ ।
बजारमा राम्रा राम्रा स्मार्टफोन अब सस्तो मूल्यमै पाउन सकिने भएको छ । यस्तोमा एप्पलमाथि पनि त्यसको दबाव पर्दै गएको छ । एप्पलमाथि धेरै भन्दा धेरै स्मार्टफोन सार्वजनिक गर्नुपर्ने दबाव पनि छ । के यही दबाबका कारण एप्पलले इनोभेसनमा कम ध्यान दिएकाे हाे त ?