close

अमेजनले गोप्य रूपमा यसरी नियन्त्रण गर्छ इन्टरनेट

टेकपाना टेकपाना

चैत ४, २०७७ १७:१८

अमेजनले गोप्य रूपमा यसरी नियन्त्रण गर्छ इन्टरनेट

काठमाडौं । के तपाईंलाई थाहा छ वर्ल्ड वाइड वेबमा बन्ने दैनिक ट्राफिकलाई अमेजनले नियन्त्रण गर्छ ।  तपाईंले हेर्ने नेटफ्लिक्स, पढ्ने बीबीसी, डिज्नीदेखि प्रयोग गर्ने जुम एपसम्म सबै विश्वकै धनाढ्य व्यक्ति जेफ बेजोसको प्रत्यक्ष नियन्त्रणमा रहेको प्राविधिक पूर्वाधारमा निर्भर छन् ।   

आज हामी तपाईंलाई यसको बारेमा विस्तृत रुपमा बताउँदै छौं । यो सब सन् २००२ देखि सुरु भएको हो, जब अमेजन वेब सर्भिस अर्थात् एडब्लुएस (AWS) लाई अमेजनभित्रको एउटा विभागको रुपमा पहिलोपटक निर्माण गरिएको थियो ।

यसलाई जेफ बेजोसको नेतृत्वमा एउटा सानो भवनमा एकदमै कम आन्तरिक प्राविधिक पूर्वाधारको सहयोगमा सुरु गरिएको थियो । जेफ बेजोसलाई विश्वले मात्र एउटा सामान्य अनलाइन बुक खुद्रा बिक्रेताको रुपमा चिन्दथ्यो ।

तर अर्को वर्ष २००३ मा एडब्लुएसका दुई इन्जिनियरहरु क्रिस पिङ्काम र बेन्जामिन ब्ल्याकले निर्माण गरेको स्लिक न्यू सर्भर सेवाले उनीहरुको कम्पनीलाई शक्तिशाली र तीव्र विकासमा सघाउने मात्र नभएर यसलाई अन्य थर्ड पार्टी कम्पनीलाई सेवाको रुपमा समेत बिक्री गर्न सकिने सुझाव प्रस्ताव राखे ।

यसले अमेजनका लागि अतिरिक्त आएको बाटो खुलाउनुका साथै २०२० को तेस्रो त्रैमासिकमा ११ अर्ब ६० करोड डलरको आम्दानीसमेत दिएको थियो ।  यो अमेजन ग्रुपको समग्र नाफाको करिब तीन चाैथाइ नजिक थियो । 

How to Create and Deploy Java Web Application in AWS Cloud | Edureka

अमेजनको वेब सर्भिस (एडब्लुएस) ले वास्तवमा के गर्छ त ?

कल्पना गर्नुहोस् तपाईं एउटा अनलाइन स्टार्टअप हुनुहुन्छ । ती दिनमा तपाईंले जन्माउनु भएको किलर एप आइडिया र त्यसको ब्याकिङका लागि सेवामा भारी लगानीको खाँचो पर्दथ्यो । यदि तपाईं महत्वकांक्षी हुनुहुन्थ्यो भने बजारमा तपाईंलाई धेरै सर्भरको खाँचो पनि पर्दथ्यो ।

सर्भरजस्तो हार्डवेयर त्यसबेला सस्तो मूल्यमा उपलब्ध हुँदैन थियो । साथै सर्भरको व्यवस्थापन र विस्तार गर्ने श्रम र जनशक्ति र अन्य खर्च पनि सस्तो थिएन ।

त्यस्तो समयमा एडब्लुएसले एकदमै सस्तो दरमा अमेजनको व्यापक अन्तराष्ट्रिय नेटवर्क सेवामा सेवाग्राहीहरुलाई एक्सेस र क्षमता प्रदान गर्‍यो । साथै अमेजनले आफ्नो भिमकाय अपरेसनलाई आकर्षक बनाउन र बढाउन सम्भावित उत्कृष्ट पूर्वाधारहरु पत्ता लगायो । साथै त्यो पूर्वाधार अरुलाई समेत प्रयोग गर्न भाडामा दिने उसले निर्णय गर्‍यो ।

भनिन्छ जब तपाईं कुनै डेटा क्लाउडमा अपलोड गर्नुहुन्छ, तब त्यो क्लाउडमा नभएर अरु कसैको कम्प्युटरमा गएर बस्दछ । त्यो धेरै हदसम्म सही पनि हो । धेरैजसो तपाईंका सामग्री भएको कम्प्युटर भनेकै जेफ बेजोसको हो ।

केही तथ्यांकअनुसार अमेजनले  आधाभन्दा धेरै क्लाउड कम्प्युटिङ क्षेत्रलाई नियन्त्रण गर्दछ । तपाईं हामीजस्ता प्रयाेगकर्ताले जुनसुकै अनलाइन सेवा प्रयोग गरौं ।

चाहे नेटफ्लिक्समा कुनै फिल्म हेरौं वा उबरको प्रयोग गरौं, बीबीसीमा समाचार हेरौं वा जुममा आफ्ना प्रियजनसँग भिडियो कल गरौं । ती सबै डेटा कहिँ न कहिँ अमेजनले नियन्त्रण गरेको सर्भरबाट चलिरहेका हुन्छन् ।

यस्तो बेला तपाईंको मनमा प्रश्न उठ्न सक्ला कि आफ्नै सर्भर पूर्वाधार राख्नसक्ने ठूला कम्पनीले किन एडब्लुएसको प्रयोग गर्छन् त ?

वास्तवमा सर्भरको विश्वमा स्केलबिलिटी निकै ठूलो कारक तत्व हो । यदि नेटफ्लिक्सले कुनै नयाँ शाे लन्च गर्दैछ र धेरैभन्दा धेरै भ्यूअरसिपको अपेक्षा गर्दैछ भने उसले एउटा बटन थिचेको भरमा एडब्लुएसमा अस्थायी समयका लागि क्षमता अभिवृद्धि गर्न सक्छ ।

पछि जब ट्राफिक घट्छ, तब उसले बढाएको सर्भर क्षमतालाई घटाउन सक्छ । जुन आफ्नै नयाँ सर्भर राख्दा सम्भव हुँदैन ।

अमेजनकै प्राइम भिडियो स्ट्रिमिङ सेवाको प्रतिस्पर्धी नेटफ्लिक्सले समेत एडब्लुएसमा स्थानन्तरण भएदेखि आफ्नो सञ्चालन खर्च व्यापकरुपमा घटेको बताएको छ । 

सन् २०१३ मा अमेजन वेब सर्भिसलाई अमेरिकी गुप्तचर निकाय (सीआईए) ले ६० करोड डलरको कन्ट्रयाक्ट प्रदान गरेको खुलासा भएको थियो । साथै २०१९ मा अमेरिकाको जलसेनाले आफ्नो सैन्य सम्बन्धी डेटालाई अमेजनको क्लाउडमा स्थानतरण गरेको घोषणा गरेको थियो ।

अमेजन र यी सरकारी निकायबीचको न्यानाे सम्बन्ध वास्तवमा एउटा लेनदेनको पारस्पिरक सम्बन्ध हो । अमेरिकी सरकारसँगको अमेजनको सम्झौताको समय सीमा पुरा भएपछि ओबामा प्रशासनकी शीर्ष अधिकारी एन्नी रङसमेत लगत्तै अमेजनमा आबद्ध भएकी थिइन् । 

यदि एडब्लुएसका यी कामहरु तपाईंलाई कुनै अमूर्त सफ्टवेयर प्रविधि, जसको छाप भर्चुअल विश्वमा मात्र छ जस्तो लाग्दैछ भने थाहा पाइरहनुहोस् । अमेजनले वास्तवमा विश्वलाई भौतिकरुपमा पनि परिवर्तन गर्दै इन्टरनेटलाई समेत नियन्त्रण गर्दैछ । 

अहिले एडब्लुएस समुद्रमा आफ्नो सबमरिन केबल समेत बिच्छ्याउन व्यस्त छ । उसले अहिले १४ हजार किलोमिटरको केबललाई सिड्नी अष्ट्रेलियादेखि पश्चिमी अमेरिकाको ओरेगनसम्म न्यूजिल्याण्ड हुँदै बिच्छ्याउँदै छ । 

२०२० मा अमेजनले स्वीडेनमा आफ्नै विण्ड फार्महरु निर्माण गर्‍यो, जसले अत्याधिक उर्जा खपत गर्ने युरोपेली डेटा सेन्टरलाई उर्जा प्रदान गर्दथ्यो । अमेजनको यस्तै प्रकारको विण्ड फार्म सन् २०१७ देखि टेक्सासमा पनि सञ्चालनमा छ । 

अमेजनले २०२५ देखि सय प्रतिशत नै नवीकरणीय उर्जामा आफ्नो सेवा सञ्चालन गर्ने योजना बनाएको छ । 

एडब्लुएसको डेटा सेन्टरहरुले अहिले सेवाग्राहीहरुलाई उर्जाको ब्याकअप पनि आपूर्ति गरिरहेको छ । अमेनजले साउथ डब्लिनस्थित थालसमा रहेको आफ्नो नयाँ डेटा सेन्टरको बजिरहने सर्भरबाट आउने अत्याधिक तापलाई समेत रिसाइकल गरेर न्यून खर्चको न्यून कार्बन हिटिङ र हट वाटर सप्लाईमा परिणत गर्न खोज्दैछ । जुन  घरेलु सार्वजनिक क्षेत्र तथा व्यवसायिक सेवाग्राहीहरुका लागि उपयोगी हुने देखिन्छ । 

मनमा अर्को प्रश्न उठ्न सक्छ । यदि जेफ बेजोस विश्वको आधा इन्टरनेटलाई नियन्त्रण गर्दछन् भने त्यो सही हो कि गलत ?

त्यसो त अमेजन वेब सर्भिस सधै एकाधिकार अभ्यासका मामिलामा आरोपित हुँदै आइरहेको छ । यो वास्तवमा पूर्ण सत्य भने होइन । गुगल, माइक्रोसफ्टले पनि आफ्ना क्लाउड सर्भिसहरु सञ्चालन गर्दै आइरहेका छन् । यद्यपि तुलनात्मकरुपमा भने सानो छ ।

तर एडब्लुएसले भने निरन्तर स्वास्थकर नाफा कमाउँदै आइरहेको छ । जुन अमेजनको कम नाफामूलक व्यवसायिक भेन्चरबाट आउने गरेको छ । 

केही ठूला कम्पनीहरुले अवश्य पनि एडब्लुएसलाई नकार्न लाइन लिएका छन् । यीमध्ये वालमार्ट पनि एउटा कम्पनी हो, जसले कम्पनीको केही सञ्चालन खर्च जोगाउने नाममा कम्पनीका भित्री गोप्य कुराहरुलाई अरुको कम्प्युटरमा सुरक्षित राख्नु मुर्खता भएको बताउने गरेको छ । 

तर अमेजनको एडब्लुएसका केही यस्ता तिता घटनाहरु पनि छन् । २०१२ को क्रिष्टमस इभमा एडब्लुएसको सर्भर फेल हुँदा नेटफ्लिक्स डाउनलाेड भएको थियो । जसले नेटफ्लिक्सका धेरै फेस्टिभ अफर र रमाइला सेसनलाई भङ्ग गरेको थियो ।  

यस्तै २०१७ मा एउटा सानो टाइपो त्रुटिले चार घण्टासम्म एडब्लुएस सर्भर अवरुद्ध हुँदा अमेरिकाका वित्तीय कम्पनीहरुको करिब १६ करोड डलरले मूल्य ओरालो लागेको थियो ।

तर यसका बावजुद पनि एडब्लुएसले डेभलपर तथा स्टार्टअपहरुलाई न्यून शुल्क र जोखिममा नवप्रवर्तित हुने र विकास गर्ने सुविधा दिएको छ, त्यो सकारात्मक कुरा हो । तर अमेजनको एडब्लुएसको यो एउटा सुरुवात मात्र हो । 

उसले निकट भविष्यमा ल्याउन लागेको काइपुर स्याटेलाइट प्रोग्रामअन्तर्गत पृथ्वीको अर्बिटमा तीन हजार दुई सय ३६ वटा भूउपग्रह राख्ने र दूरदराजका भूभागमा उच्च गतिको इन्टरनेट सुविधा उपलब्ध गराउने उद्देश्य लिएको छ ।  

टेक भिजन युट्युब च्यानलबाट ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१