close

नेपालमा टुजी र थ्रिजी बन्द होला ?

टेकपाना टेकपाना

चैत ७, २०७७ १०:४८

नेपालमा टुजी र थ्रिजी बन्द होला ?

काठमाडौं । अहिले विश्व बजारमा फाइभजीको चर्चा चलिरहेको छ । कतिपय देशले यसको व्यवसायिक सुरुवात नै गरिसकेका छन् भने कतिपय देश परीक्षणको तयारीमा छन् । नेपालमा पनि पछिल्लो सयम फाइभजी परीक्षणको विषय चलिरहेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत रहेको रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिले फाइभजी परीक्षणका लागि नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) लाई अनुमति दिने निर्णय गरिसकेको छ ।

टेलिकमले आफूसँग उपलब्ध फ्रिक्वेन्सीबाट फाइभजी परीक्षण गर्नसक्ने गरी सम्पूर्ण फ्रिक्वेन्सीलाई समितिले प्रविधि तटस्थता कायम गरेको छ । यसको अर्थ सेवाप्रदायकले चाहेको खण्डमा आफूसँग भएको फ्रिक्वेन्सीमार्फत जुनसुकै फ्रिक्वेन्सीमा सेवा दिनसक्ने समेत बनाइएको छ ।

प्राधिकरणका निर्देशक अम्बर स्थापितका अनुसार सरकारको यो निर्णयसँगै टेलिकमले आफूसँग भएको फ्रिक्वेन्सीबाटै पनि अब फाइभजी परीक्षण गर्न सकिन्छ ।

तर, त्यसका लागि प्राधिकरण बोर्डले सुरुमा टेलिकमलाई फाइभजी परीक्षण गर्न स्वीकृति प्रदान गर्नुपर्ने हुन्छ । यसको अर्थ नेपालमा पनि फाइभजी परीक्षणको प्रक्रिया अघि बढेको छ ।

अर्काेतर्फ फोरजी विस्तारको क्रममा रहेको छ । यस्तो अवस्थामा पुरानो प्रविधिको रुपमा रहेको टुजी र थ्रिजी अब के हुन्छ त ?

यदि टुजी र थ्रिजी सेवालाई बन्द गरेको खण्डमा त्यसमा प्रयोग भएको फ्रिक्वेन्सी फोरजी र फाइभजी विस्तार र गुणस्तरका लागि प्रयोग गर्न सकिने छ ।

यस्तोमा के सेवाप्रदायकले टुजी र थ्रिजी बन्द गर्छन् त ? नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अघिकारी भन्छन, ‘हाम्रो भ्वाइस कल नै सबै टुजी र थ्रिजीमा हुने भएकाले प्रत्यके दिन ३५ लाखभन्दा बढी अर्लाङ क्षमताको भ्वाइस कल हुन्छ । यो सबै टुजी र थ्रिजीले कभर गर्छ ।’

यस्तोमा टुजी र थ्रीजी सेवा तत्कालै बन्द गर्नसक्ने अवस्था रहँदैन । तर, यदि नियामक निकायले बजारमा फोरजीमा पनि भ्वाइस ओभर एलटीई सपोर्ट गर्ने सेटलाई मात्रै स्वीकृत दिने हो भने विस्तारै टुजी र थ्रिजीको ट्राफिक भोएलटीई ट्रान्सफर हुन्छ ।

त्यो हुँदा टुजी र थ्रिजीलाई बन्द गर्न सकिन्छ । अनि त्यसमा प्रयोग भएको फ्रिक्वेन्सी हामीले अन्त प्रयोग गर्न सक्छाैं । त्यसका लागि ह्याण्डसेटको इकोसिस्टम निमार्ण हुन आवश्यक छ । जुन कुरा तत्काल सम्भव नरहेकाे अधिकारी बताउँछन् ।

त्यसका लागि नियामक निकायले पनि योजना बनाउन आवश्यक छ । अधिकारी भन्छन, ‘नियामक निकायले २०२४ देखि अथवा यो समयबाट नेपालमा टुजी र थ्रिजी बन्द गर्ने भनेर योजना बनाउनुपर्‍यो । त्योसँगै टुजी, थ्रिजी नभएर भ्वाइस ओभर एलटीई सपोर्ट गर्नेमात्रै मोबाइल सेटको लागि स्वीकृति दिनुपर्‍यो । जब बजारमा भोएलटीई चल्ने मात्रै ह्याण्डसेट सबैतिर पुग्नेछ, तब मात्रै टुजी शटडाउन गर्न सकिन्छ ।’

जबसम्म टुजीमा ट्राफिक रहन्छ, तबसम्म त टुजी बन्द गर्न सक्ने अवस्था रहँदैन । उनी भन्छन, ‘जबसम्म विकल्प हुँदैन, तबसम्म बन्द गर्ने भन्ने हुँदैन । यो विषयमा प्राधिकरणले एउटा रोडम्याप बनाउनुपर्‍यो भनेर हामीले नियामकलाई भनेको छौं ।

हामीले फोरजीको सेटमात्रै भित्र्याउन स्वीकृति दिनुपर्ने भनेर लिखित रुपमै पनि आग्रह गरेका छौं । यदि यो भएको खण्डमा विस्तार टुजी र थ्रिजीलाई विस्थापित गर्दै जान सक्छौं ।’

यो विषयमा नियामक निकाय दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरूषाेत्तम खनाल भने टुजी माइग्रेसनको कुनै योजना नरहेकाे बताउँछन् । ‘यसको लागि समय लाग्छ,’ खनालले भने, ‘थ्रिजी विस्थापित गर्न सकिन्छ । तर, टुजी पूर्णरुपमा भ्वाइस सिस्टम हो । त्यो हुँदा टुजी माइग्रेसन अहिले हुँदैन । किनभने नेपालको भौगोलिक अवस्था अनुसारको आवश्यकता टुजीले नै मात्रै पूर्ति गर्न सक्छ ।’

प्राधिकरणले दूरसञ्चार सेवा प्रदायकलाई यदि फोरजी विस्तारको काम पूर्णरुपमा सकियो हो भने क्वालिटी परीक्षण गर्ने उनले बताए ।

‘अहिले ७७ जिल्लामा पुगेको छ भनिएको छ । तर, जिल्लाका केन्द्रभन्दा अन्त सेवा पुगेको छैन । यदि पुगेको ठाउँमा सेवा परीक्षण गर्दा राम्रो भएको खण्डमा त्यस्ता ठाउँ हेरेर थ्रिजीलाई बन्द गर्न सकिन्छ । तर, टुजी होइन,’ उनले भने ।

‘प्राधिकरणले सेवा प्रदायकलाई फ्रिक्वेन्सी उपलब्ध गराउँदै सन् २०२२ को डिसेम्बरसम्म देशभर फोरजी पुर्‍याउनुपर्ने भनेका छौं,’ खनालले भने, ‘त्यो सेवाप्रदायकले पुरा गर्नुपर्छ । त्यसपछि हामी परीक्षण गर्छाै । अनि थप आवश्यक रणनीतिको तय हुनेछ । अहिले नै टुजी र थ्रिजी विस्थापित हुने कुनै सम्भावना छैन ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१