close

‘कहिले काहिँ स्टार्टअप मर्ज गर्नुपर्ने परिस्थिति आउँदो रहेछ’

टेकपाना टेकपाना

चैत ११, २०७७ १७:१३

‘कहिले काहिँ स्टार्टअप मर्ज गर्नुपर्ने परिस्थिति आउँदो रहेछ’

हालै मात्र कान्तिपुर मिडिया  ग्रुप अन्तर्गतको मुभर एन्ड शेकर (एम एन्ड एस) ले लोकप्रिय अनलाइन मार्केट प्लेस ‘हाम्रो बजार’ अधिग्रहण गर्‍यो । नयाँ व्यवस्थापन अन्तर्गत फुडमारियोका संस्थापक रोहित तिवारी हाम्रो बजारको नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) बनेका छन् । यसै सन्दर्भमा तिवारीसँग हाम्रो बजारको भावी रणनीति, फुडमारियोको मर्जर, यसको भविष्य आदि विषयमा टेकपानाले कुराकानी गरेको छ ।

हाम्रो बजारलाई एम एन्ड एस ग्रुपले करोडौं लगानीमा खरिद गरेको छ । यस अघि बिक्रेताले निःशुल्क रुपमा बिना कमिसन पाउँदै आएको सुविधा अब हट्न लागेको हो ? 

हाम्रो बजार स्थापना कालदेखि नै सबैका लागि निःशुल्क रहँदै आएको छ । यो यसको सुन्दरता र मौलिक पक्ष मात्र होइन, हाम्रो बजार चल्नुको मुख्य कारण पनि हो ।

यसमा जोकसैले निःशुल्क रुपमा अकाउन्ट खोलेर सामानको खरिद बिक्री गर्न सक्छन् । यो फिचर हाम्रोबजारबाट कहिल्यै हट्दैन भन्ने कुरामा आश्वस्त पार्न चाहन्छु ।

हाम्रो बजारमा बिक्रीका लागि सामानको मूल्याङ्कन गरेर खरिद गर्ने र त्यसलाई पुनः बिक्री गर्ने रणनीति त छैन ?

हाम्रो बजारमा बिक्रेताले आफ्नो नयाँ तथा पुरानो सामानको मूल्य आफैं निर्धारण गरेर बिक्री गर्दै आएका छन् । यस्तोमा त्यसरी बिक्रीमा राखिएका सामान हाम्रोबजारले नै खरिद गरेर पुनः बिक्रीमा राख्ने कुरा हामीले सोचेका छैनौं ।

त्यस्तो काममा हामी लाग्दैनौं । बरु हामी ग्राहकले हाम्रो बजारमा राखिएका सामान पूर्ण भरोसाका साथ खरिद गर्न सकुन् भन्नेतर्फ केन्द्रीत रहन्छौं ।

त्यसका लागि छुट्टै भेरिफाइड सेक्सन बनाउने कुरा हुनसक्छ । त्यसका साथै प्रयोगकर्ता वा खरिदकर्ताले बिक्रेतालाई रिभ्यू दिनसक्ने र सार्वजनिक रुपमा देखिने गरी कमेन्ट गर्न सक्ने विषयमा पनि सोचिरहेका छौं ।

यसले बिक्रेतालाई आफ्नो सामानको उचित मूल्य पाउन र खरिदकर्तालाई पूर्ण रुपमा ढुक्क भएर सामान खरिद गर्न सहज हुनेछ । अहिले हामी हाम्रो बजारलाई थप व्यवस्थित कसरी बनाउन सकिन्छ भन्ने विषयमा दैनिक रुपमा ५०० भन्दा बढी बिक्रेताहरुबाट सुझाव संकलन गरिरहेका छौं ।

त्यसो हो भने यति धेरै लगानी गरेर त्यसको प्रतिफल चाहिँ कम्पनीले कसरी उठाउँछ ? 

हाम्रो मुख्य आम्दानीको श्रोत गुगल एड र स्थानीय विज्ञापन नै हो । दैनिक रुपमा साइट भिजिट गर्नेको संख्या राम्रै भएकाले हामीलाई त्यसबाट आम्दानी पनि राम्रै किसिमको भइरहेको हुन्छ ।

हाम्रो बजारको टिम चाहिँ कति जनाको छ ?

अहिले हामीसँग २३/२४ जनाको नियमित टिमले काम गरिरहेको छ । अब कम्पनीलाई नयाँ किसिमले अगाडि बढाउने गरी थप २०/२५ जना नयाँ कर्मचारी थप गर्दै छौं । 

अहिले हाम्रो बजारमा प्रयोगकर्ताहरु चाहिँ कति छन् ? 

अहिलेको समयमा हाम्रो बजारमा हरेक मिनेटमा २/३ वटा नयाँ पोस्टहरु आइरहेका हुन्छन् । यसरी लाखौं बिक्रेताले हाम्रो प्लेटफर्मबाट सामान बिक्री गरिररहेका छन् ।

बिक्रेताको संख्या अहिले यकिन रुपमा भन्न नसकेपनि दश लाखभन्दा बढी नै छन् । दैनिक साइट भिजिट गर्नेहरुको कुरा गर्नुहुन्छ भने करिब दुई लाख जति छ । 

तपाईंहरुलाई डेलिभरी च्यानलको अभाव महसुस हुँदैन ? 

अहिले हाम्रो प्लेटफर्मबाट सामान खरिद गर्दा डेलिभरी र नन् डेलिभरी दुवै अप्सन हुन्छ । त्यो चाहिँ सम्बन्धित बिक्रेताको कुरा हो ।

यदि तपाईं हाम्रो बजारबाट सामान बिक्री गर्दै हुनुहुन्छ भने आफैंले डेलिभरीको व्यवस्था मिलाउन सक्नुहुन्छ । डेलिभरी सुविधा छैन भने त्यो पनि खुलाउन पाउनहुन्छ । यस्तोमा ग्राहक आफैं सम्बन्धित ठाउँमा पुगेर सामान लिन सक्छन् । 

हाम्रो बजारले नै डेलिभरी सुविधा दिनेगरेको भने छैन । भविष्यमा छुट्टै डेलिभरी च्यानल बनाउने विषयमा भने हामी सोचिरहेका छौं । यदि विश्वसनीय डेलिभरी साझेदार पाएको खण्डमा सहकार्यका लागि पनि सोच्न सकिन्छ ।

तर हाम्रो प्लेटफर्ममा जति ट्राफिक छ, त्यस हिसाबले डेलिभरीको विषय सोच्न अहिलेको अवस्थामा त्यति सजिलो कुरा भने होइन । अहिले हामी साइटको ट्राफिकलाई सुक्ष्म किसिमले विश्लेषण गर्ने काम पनि गरिरहेका छौं ।

दैनिक रुपमा कति वटा कारोबार हुन्छ र सामान बिक्री हुन्छ भन्ने कुरा मूल्याङ्कन गरिसकेपछि त्यसका लागि कस्तो प्रकारको सेवा इन्टिग्रेट (समावेश वा थप) गर्न सकिन्छ भन्ने विषयमा अगाडि बढ्छौं । 

अहिले हाम्रो बजार नयाँ व्यवस्थापन अन्तर्गत आइसकेको छ । यस्तो अवस्थामा प्रयोगकर्ताले कम्पनीबाट नयाँ के अपेक्षा गर्न सक्छन् ?

मानिसहरुलाई फेसबुक चलाउन एकदमै सहज लाग्छ । त्यस्तै गरी हाम्रो बजारमा जो कसैले सहजै सामान खरिद बिक्री गर्न सक्नेगरी थप सरल र सहज कसरी बनाउन सकिन्छ भन्ने विषयमा काम गरिरहेका छौं ।

त्यसका लागि यूआई (युजर इन्टरफेस अर्थात हाम्रो बजारमा झट्ट देखिने डिजाइन तथा स्वरुप) तथा यू एक्स (युजर एक्सपिरियन्स अर्थात प्रयोगकर्ताको अनुभव) अपग्रेडको काम भइरहेको छ ।

धेरै प्रयोगकर्ताहरु पुरानै यूआई यूएक्समा अभ्यस्त भइसकेका छन् । यस्तोमा आमूल रुपमा परिवर्तन गर्दा प्रयोगकर्तामा दुविधा उत्पन्न हुनसक्ने अवस्थाप्रति पनि हामी सचेत छौं । 

यसअघि फुडमारियोको संस्थापक तथा सीईओको रुपमा रहनु भएको तपाईं अहिले हाम्रो बजारको सीईओ बन्नु भएको छ । हाम्रो बजारसँगको फुडमारियोको सहकार्य कस्तो किसिमको हो ? 

हामीले साढे ३ वर्षअघि घरका भान्सालाई बजारसँग जोड्ने गरी फुडमारियो सुरु गरेका थियौं । लकडाउन अगाडिसम्म हामी ‘फास्टेस्ट ग्रोइङ’ कम्पनीको रुपमा अगाडि बढिरहेका थियौं ।

तर कोरोना भाइरसको महामारीको समयमा लकडाउनका कारण बजारसँग जोडिएका घरका भान्साहरु बन्द हुन पुगे । विभिन्न सुरक्षा मापदण्ड अपनाउनु पर्ने र डेलिभरीमा पनि समस्या हुन थालेपछि हामीले केही समय तरकारी, मासु, फलफुल लगायतका सामग्रीहरु बिक्री गर्‍यौं ।

त्यससँगै होटल तथा रेस्टुरेन्टलाई पनि प्लेटफर्ममा जोड्दै लगेका छौं । हामीले फुडमारियोलाई हाम्राेबजारसँग मर्ज गरिसकेका छौं । यससँगै अब फुडमारियो छुट्टै अस्तित्वमा रहने छैन ।

यसको मर्जर मोडालिटीको विषय केही समयपछि मात्र खुलाउने सोचमा छौं ।  अबको केही दिनमा यसलाई हाम्रो बजारभित्रकै फुड सेक्सनको रुपमा समावेश गर्दै छौं ।

फुडमारियोको प्लेटफर्ममा आउने अर्डर पनि अब हाम्रो बजारमै रिडाइरेक्ट हुनेछ । अहिले फुडमारियोमा करिब ६ दर्जन बिक्रेता रेस्टुरेन्ट जोडिएको अवस्था छ । जसमा २० प्रतिशत मात्र घरायसी भान्साहरु छन् ।

दैनिक ७/८ हजार ट्राफिक आउने गरेकोमा अब हाम्रो बजारमा मर्ज भइसकेपछि थप बढ्ने अपेक्षा लिएका छौं । अबको नौ महिनामा हाम्रो बजारमा हजारभन्दा बढी होटेल तथा रेस्टुरेन्ट जोड्ने लक्ष्य बनाएका छौं । 

फरक प्रकृतिका दुई वटा स्टार्टअप एउटै समय ठूलो व्यवसायिक घराना अन्तर्गत सीमित हुन पुग्नुलाई कसरी बुझ्ने ?

स्टार्टअप कम्पनी ठूलो कम्पनीको अंग बन्न पुगेको यो सन्दर्भले अरु प्रविधि कम्पनीमा पनि आशा पैदा गर्छ भन्ने मेरो बुझाइ छ । हाम्रो बजार र फुडमारियो दुवैलाई ‘ग्रो’ हुनका लागि यो एउटा राम्रो अवसर हो । 

यद्यपि स्टार्टअप सुरु गर्न र त्यसलाई  स्थापित गर्दै लैजान त्यति सहज छैन । कुनै समय युट्युव पनि छुट्टै स्टार्टअप कम्पनी थियो । पछि गुगलको अंग बनिसकेपछि मात्र अहिलेको स्वरुपमा आफूलाई विकास गर्न सक्यो ।

त्यस्तै इन्स्टाग्राम पनि पछि आएर फेसबुकमा गाभिएको हो । ‘ग्रो’ हुनका लागि कहिले काहिँ स्टार्टपलाई गाभिने तथा मर्ज हुनुपर्ने अवस्था पनि आउँदो रहेछ । 

फुडमारियोको आफ्नै डेलिभरी च्यानल छ । तर हाम्रो बजार अलिक फरक किसिमकले अगाडि बढेको छ । अबको अवस्थामा फुडमारियोको डेलिभरी के हुन्छ ? 

पक्कै पनि, फुडमारियोबाट घरका भान्सा तथा रेस्टुरेन्टमा तयार भएको खाजा र खाना हामीले ग्राहकसम्म डेलिभरी दिँदै आएका थियौं ।

अब हाम्रो बजारमा गाभिएपछि यो डेलिभरी च्यानल नरहन सक्छ । यसको अर्थ हाम्रो बजारको सामान अर्डर र डेलिभरी जसरी हुन्छ, फुडमारियोमा पनि त्यही हुन्छ ।

यस्तो अवस्थामा होटेल र रेस्टुरेन्टले त नजिकको एरियामा डेलिभरी दिन सक्लान । तर घरका भान्सा त बन्द हुने भए नि होइन ? 

केही हदसम्म यसले असुविधा ल्याउन सक्छ । तर पनि घरका भान्सा बन्द हुन नदिन के गर्न सकिन्छ भन्ने विषयमा पनि हामी सोच्छौं । आशा गरौं, भोलिको दिनमा डेलिभरीको कुनै विकल्प बन्न सक्छ ।

घरका भान्सा बन्द हुने अवस्था आयो भने त फुडमारियोको मौलिकता हराउने डर छ नि, हाेइन?

केही समयका लागि हामी यो बाध्यताबाट गुज्रिनुपर्ने हुन्छ । सुरुको एक दुई महिना उहाँहरुलाई कठिनाइ पर्न सक्छ ।

सकेसम्म चाँडै घरका भान्साहरु पुनः बजारसँग जोड्ने त्यस्तो फिचर हुनसक्छ कि भन्नेतर्फ सोचिरहेका छौं । यसअघि हामी घरायसी भान्सा तथा रेस्टुरेन्टबाट १५ देखि २० प्रतिशत कमिसन र डेलिभरी शुल्क लिएर काम गर्दै आएका थियौं ।

तर हाम्रो बजारमा मर्ज भएसँगै अब भने त्यस्तो कुनै कमिसन वा शुल्क लिँदैनौं । यसबाट अर्डर बढ्ने र उहाँहरु आफैंले डेलिभरी दिनसक्ने अवस्था पनि बन्न सक्छ ।

त्यस्तो के फिचर हुनसक्छ, जसले फुडमारियोका घरका भान्सा पुनः जीवित हुन सकुन् ?

भान्साहरुलाई नजिकको अर्डर दिन सक्ने कुनै फिचर हुनसक्छ । हाम्रो बजारमा खानाको अभाव थियो, फुडमारियोले त्यसलाई पनि पूर्ति गर्छ ।

नजिकबाट धेरै अर्डर आउने अवस्था बन्यो भने डेलिभरी त्यति झन्झटपूर्ण नहुन सक्छ । डेलिभरीको आफ्नै व्यवस्था गर्न नसक्नेहरुका लागि पनि के हुनसक्छ, हामी विचार गर्छौं ।

अब सँगसँगै छुट्टै स्टार्टअप सुरु गर्ने सोच छ कि छैन ? 

अहिलेसम्म त्यसरी छुट्टै स्टार्टअप सुरु गर्ने कुनै सोच बनाएको छैन । बरु हाम्रो बजारलाई नेपालभर विस्तार गर्नेमै हाम्रो जोड रहन्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१