close

‘स्थानीय उत्पादनको प्रवर्द्धनमा केन्द्रित हुने सोच छ’, दराजका प्रबन्ध निर्देशकको अन्तर्वार्ता

टेकपाना टेकपाना

माघ ७, २०७८ १५:२१

‘स्थानीय उत्पादनको प्रवर्द्धनमा केन्द्रित हुने सोच छ’, दराजका प्रबन्ध निर्देशकको अन्तर्वार्ता

नेपालको सबैभन्दा ठूलो अनलाइन मार्केट प्लेस तथा शपिङ प्लेटफर्म दराजमा ३ वर्षभन्दा लामो समयदेखि जर्मन नागरिक लिन अलरिङले सम्हाल्दै आएको प्रबन्ध निर्देशकको जिम्मेवारी नेपाली चेली आँचल कुँवरले सम्हाल्न थालेकी छन् । यससँगै उनी दराज ग्रुप (नेपाल, बङ्गलादेश, श्रीलङ्का, म्यानमार र पाकिस्तान) मै एमडी बन्न सफल पहिलो महिला पनि बन्न सफल भएकी छन् । विश्वप्रतिष्ठित ई-कमर्स कम्पनी अमेजनमा विश्व बजार विस्तारको प्रबन्धक जस्तो उच्च पदमा रहेर काम गरिसकेकी आँचल कुँवरको सफल करियर, अन्तर्राष्ट्रिय ई-कमर्स बजारको अनुभव, स्वदेश फिर्ती, दराजको जिम्मेवारी र आगामी योजनाको बारेमा टेकपानाका लागि गोपाल साउदविजय तिमल्सिनाले गरेको कुराकानीको सार ।

दराजको नयाँ लोगो जस्तै तपाईँ पनि नेपाली बजारमा नयाँ हुनुहुन्छ । त्यस हिसाबले तपाईँको विषयमा धेरैलाई उत्सुकता पनि छ होला । आफ्नो बारेमा केही बताइदिनु हुन्छ ?

म नेपालमै जन्मे हुर्केकी हुँ । घर सानेपा ललितपुरमा भए पनि मेरो बुबा पहिला नेपाल खाद्य संस्थानमा काम गर्नुहुन्थ्यो । त्यसैले मैले नेपालका धेरै ठाउँमा बस्ने मौका पाएकी थिएँ ।

पाँचथर फिदिममा ५ वर्ष बसेँ । विराटनगर, कटारी, चौरजहारीमा पनि बसेकी छु । नेपाल धेरै नै घुमेकी छु । छ कक्षा देखि भने काठमाडौं फर्केर माइतीघरमा रहेको सेन्टजेभियर कलेजबाट आईएससी पूरा गरेकी हुँ ।

त्यसपछि म अमेरिका गएँ । ब्याचलर गणित र अर्थशास्त्रमा गरेँ । त्यसपछि एउटा ट्राभल एजेन्सीमा काम गर्न थालेँ । त्यहाँ कन्सल्टिङ, प्रोग्राम म्यानेजमेन्ट, प्रोडक्ट म्यानेजमेन्ट र कर्पोरेट स्टार्टेजीमा काम गरेँ ।

त्यसपछि मिनेसोटा युनिभर्सिटीबाट एमबीए पूरा गरेँ । एमबीए सकिएपछि अमेजनमा भर्ना भएँ । त्यहाँ सुरुको दुई वर्ष कस्मेटिक बिजनेस ह्यान्डल गरेँ । त्यसपछि एक वर्ष अब्युज प्रिभेन्सनमा काम गरेँ ।

त्यो भनेको नक्कली सामान लगायतका ग्राहकमाथि हुने गलत कार्यलाई कसरी रोकथाम गर्ने भन्ने काम हो । अन्तिमको डेढ वर्ष चाहिँ विश्वव्यापी बजार विस्तारको क्षेत्रमा काम गरिरहेकी थिएँ । छोटकरीमा मेरो अहिलेसम्मको यात्रा यही नै हो ।

तपाईँले अमेजन जस्तो कम्पनीको उच्च तहसम्म पुगेर काम गर्ने मौका पाउनु भयो । त्यो तहसम्मको करियर धेरैका लागि सपना अनि प्रेरणाको विषय बन्न सक्छ । त्यस पछाडिको संघर्ष कस्तो रह्यो, अलिकति बताइदिनु हुन्छ ? 

म एक हिसाबले आफूलाई भाग्यमानी नै ठान्छु । किन भने त्यो अवसर पाउन पनि धेरैलाई गाह्रो छ । नेपालमै पनि त्यो तहको अवसर पाइँदैन । स्कुल नै त्यही अनुसारको पढ्नुपर्‍यो । शिक्षा नै त्यही स्तरको चाहिन्छ । मेहनत त गर्नैपर्छ ।

मलाई याद छ, अमेरिका गएर ब्याचलर गर्दाखेरि समर भ्याकेसनको समयमा ८० घण्टा (हप्तामा) काम गरेर दुई ओटा बेड भएको कोठामा १२ जनासम्म सँगै बसेको अनुभव छ । दुःख त गर्नै पर्‍यो । तर म मेरो प्राथमिकताको विषयमा सधैँ स्पष्ट थिएँ ।

त्यसको लागि म मेरो बुबा र आमालाई धन्यवाद दिन चाहन्छु । सानैदेखि आफूमा विश्वास गर्ने र आत्मविश्वास राख्ने कुरा मैले आमाबाट सिकेँ । अमेरिकामा हुने झन्झट त्यही किसिमको छ । महिला पुरुषको विषय त छँदैछ, बाहिरी मुलुकको भएपछि स्पोन्सर भिसा चाहिन्छ ।

त्यसका लागि कम्पनीहरू हिचकिचाउँछन् ।  तर पनि मलाई के लाग्छ भने आफ्नो जुन कुरा राम्रो छ, त्यही बाटो पच्छ्याउनु पर्छ । बुबाले डाक्टर बन भन्नु भयो, आमाले इन्जिनियर बन भन्नु भयो भन्दा पनि आफूलाई राम्रोसँग चिन्नु पर्‍यो ।

आफू कुन कुरामा राम्रो छ, त्यसैमा ध्यान दिने हो भने सफल भइन्छ भन्ने लाग्छ । उदाहरणको लागि फेसन डिजाइनरहरू अन्तर्राष्ट्रिय तहसम्म पुगेका छन् । पढेर डक्टर इन्जिनयर नै बन्नुपर्छ भनेको भए त्यो स्तरसम्म पुग्नुहुन्न थियो होला ।

तपाईँ लामो समय अमेजनको उच्च तहमा काम गरेर आउनु भएको छ । त्यहाँको अनुभवको आधारमा यहाँको ई-कमर्स कत्ति फरक देख्नु हुन्छ ? 

अमेरिकाको बजार र यहाँको बजारलाई तुलना गर्ने हो भने आउट साइड इन्डस्ट्री नै एकदमै भिन्न छ । ई-कमर्स मात्र होइन, समग्र बजार नै अलग छ । त्यहाँका मानिसहरू अनलाइन शपिङमा एकदमै अभ्यस्त भइसके ।

अमेजन मात्रै होइन, लुगाकपडाहरू खरिद गर्नेदेखि लिएर सबै कुराहरू अनलाइनमै गर्छन् । के हेर्ने, कहाँ रिभ्यु हेर्ने, कसरी प्रोसेस गर्ने भन्नेमा दुबिधा छैन । पेमेन्ट सिस्टम पनि त्यसै अनुरूप आधुनिक भइसकेको छ ।

बिक्रेताहरू पनि सचेत र जागरुक भइसके । कस्तोसम्म छ भने त्यहाँ थर्ड पार्टी पनि हुन्छ । जसले बिक्रेतालाई अमेजनमा सेटअप गर्न सहयोग गर्छ । त्यहाँको बजार नै एडभान्स भइसक्यो ।

त्यसलाई हेर्दा हाम्रो नेपालको ई-कमर्स धेरै नै पछाडि छ । तैपनि पछिल्लो कोभिडदेखि बयोवृद्धले पनि ई-कमर्स प्रयोग गर्न थालेका छन् । मेरो बुबा आमाले पनि त्यसबाट सामान खरिद गर्ने अवस्था बन्यो ।

यसरी विस्तारै मानिसहरू सहज महसुस गर्न थालेका छन् । केके कुरामा विचार गर्ने, अर्डर गरेको भन्दा फरक कलरको सामान आयो भने कसरी फिर्ता गर्ने भन्ने कुरा पनि सिक्नु हुँदैछ ।

आधारभूत तहमै जुन किसिमका समस्याहरू आइरहेका छन्, शिक्षित तुल्याउँदै सबै कुराहरूको समाधान खोजेर अर्को तहमा जानुपर्ने हुन्छ । 

अन्तर्राष्ट्रिय बजारमा हेर्ने हो भने ई-कमर्स क्षेत्रमा लाग्ने उद्यमीहरूले सम्पत्ति आर्जनमा नयाँ नयाँ रेकर्ड कायम गरिरहेका छन् ।  तर नेपालमा स्थानीय ई-कमर्सले राम्रोसँग लगानी जुटाउनै मुस्किल भइरहेको, सेवा नै विस्तार गर्न नसकेको जस्तो अवस्था देखिन्छ । यो सन्दर्भलाई कसरी हेर्नु भएको छ ? 

यो अस्वभाविक हो भन्ने मलाई लाग्दैन । किन भने म अमेजनमा छँदा पनि नयाँ देशमा बजार स्थापना गर्ने काममै लागिरहेकी थिएँ ।  सुरुवाती समयमा अस्ट्रेलिया लगायतका बजारमा काम गरेपनि म चाहिँ स्विडेन, पोल्यान्ड, साउदी अरेबिया र इजिप्टमा संलग्न भएकी थिएँ ।

यो सबै बजारमा जाँदाको अनुभव के हो भने सुरुवातमै नाफामा गइहाल्छ भन्ने हुँदैन । ब्रेक इभन (लागत र नाफा एउटै स्तरमा हुन लाग्ने समय) मा जान कम्तिमा पाँच वर्ष त लाग्छ, लाग्छ । अमेरिका निकै परिपक्व भइसकेको बजार हो ।

त्यहाँको २०/२५ वर्षको बजारलाई यहाँको पाँच वर्षसँग तुलना गरेर हुँदैन । त्यसैले नेपालमा मात्रै त्यस्तो कुनै कमजोरी भए जस्तो मलाई लाग्दैन । हामी यहाँ गर्दै, सिक्दै गरेको अवस्था हो, अहिले ।

यसअघि तपाईँ विश्व प्रतिष्ठित अमेजन जस्तो कम्पनीको माथिल्लो तहमा रहेर काम गरिरहनु भएको थियो । यस किसिमको पृष्ठभूमिमा तपाईँ लामो समयको विदेश बसाइ सकाउने सोचाइ अनुरूप दराजमा ठोक्किन पुग्नु भयो कि दराजको यो अवसर पाएपछि अमेजन छोड्ने निर्णय लिनु भयो ? 

यसलाई अब दुवैको संयोजन मान्नुपर्छ होला । म चाहिँ यहाँबाट आईएससी सकाएर १८ वर्षअघि अमेरिका गएकी हुँ । ब्याचलर सकाएर काम गर्न  थालेँ । त्यसपछि एमबीए गरेर अमेजनमा काम गरेँ ।

त्यहाँ पनि पाँच वर्ष जति भएको थियो । यो महामारी नआइदिएको भए अब के गर्ने भनेर गएकै वर्ष सोच्थेँ हुँला । एउटा जिम्मेवारीबाट अर्को जिम्मेवारीमा उक्लिने कि अरु केही गर्ने  सोच्न पनि थालेकी थिएँ ।

म फेरि पहिले देखि नै सामाजिक उत्तरदायित्वको विषयमा पनि प्यासनेट छु । यहाँका बालबालिकाको लागि मैले स्पोन्सर जुटाउने काम पनि मैले गरेकी छु । मिनेसोटामा नेपाली सङ्घसंस्थामा काम गरिरहँदा हामीले भूकम्पको बेला २७५ हजार रुपैयाँजति संकलन गरेर पठाएका  थियौँ ।

विदेशमा रहेपनि नेपालको लागि सधैँ माया हुने कुरा त भइहाल्छ नि, यहीँ जन्मेर, हुर्केर गएपछि । यस्तैमा अब के गर्ने भन्ने कुरा दिमागमा कताकता खेलिरहेकै थियो । यस्तैमा सिङ्गापुरबाट एउटा रिक्रुट (कर्मचारी भर्ना गर्ने) ले मलाई यो अवसरको लागि सम्पर्क गर्नु भयो ।

मलाई पनि निकै राम्रो अवसर जस्तो लाग्यो । करियरको हिसाबले मात्रै नभएर नेपालमा आफ्नै परिवारसँग हुने कुराले र देशकै लागि पनि ई-कमर्सको क्षेत्रबाट योगदान गर्न सकिन्छ भन्ने छ ।

यो कम्पनी सामाजिक वातावरणीय हिसाबले अग्रसर नै छ । दुवै कुराको तालमेल मिलेपछि नै दराज नेपालमा जोडिने निर्णयमा पुगेँ ।

कुनै पनि संस्थाको जिम्मेवारी सम्हाल्दै गरेको कार्यकारीलाई केही नयाँ गरौँ भन्ने सोच त हुन्छ नै । तपाईँ दराजमा आवद्ध हुँदै गर्दा कम्पनीको लोगोदेखि रि-ब्रान्डिङको कुराहरू अगाडि बढेको छ । यसलाई चुनौती वा अवसर, कसरी लिनु भएको छ ? 

मलाई लाग्छ यो अवसर र चुनौति दुवै हो । च्यालेन्ज भएन भने त के रमाइलो भयो र । हुन त अमेजनमा छँदा अमेरिकामा जतिसुकै परिपक्व बजार भए पनि चुनौतीको कुरा र दिनहुँ आइरहेकै हुन्छ ।

त्यहाँका बिक्रेता यतिसम्म परिपक्व भइसके कि कसरी सिस्टम बसाउने भन्ने कुराहरू सिकिसके । काउन्टरफिट (नक्कली) उत्पादन बिक्री गर्ने तहमा समेत उनीहरूले काम गरिरहेका छन् । तर नेपालको चुनौती फरक छ ।

म बाहिर भए पनि दराजको गतिविधि नियाली रहेकै हुन्थेँ । ग्राहकको प्रतिक्रिया कस्तो छ, त्यो पनि थाहा हुन्थ्यो । रि-ब्रान्डिङ एउटा ठूलो अवसर हो । तर सँगसँगै कम्पनी उही हो, मूल मान्यता त्यही हो ।

हामीले काम गर्ने तरिका पनि समान हो । यस अघिको प्रबन्ध निर्देशक पनि कुशल नेतृत्वको रुपमा हुनुहुन्थ्यो । यहाँको टिम पनि मजबुत छ । यहाँको सबै टिम नेपाली थियो ।

ग्राहकको आवश्यकता के हो, उनीहरूको अनुभव कसरी सुधार गर्ने, पेमेन्ट सिस्टम कसरी सहज बनाउने, डेलिभरी कसरी छिटो दिने, हामी ४७ ओटा बजारमा मात्रै नभएर अन्य नयाँ सहरमा कसरी पुग्ने भन्ने कुरा छ । अहिलेको समयमा सबैको दैनिकी यतिधेरै व्यस्ततापूर्ण छ कि बजारमा गएर सामान किन्ने फुर्सद हुँदैन ।

शनिबार एक दिन बिदा हुन्छ, त्यही दिन सबै पसलहरू बन्द हुन्छन् । आफूले चाहेको जुनसुकै सामान दराजमा छ र अर्डर गर्दा यति समयमा आइपुग्छ भन्ने ढुक्क भएर त्यसलाई रोज्ने परिपाटी कसरी बढाउने भन्ने कुरा छ । 

स्थानीय उत्पादनलाई कसरी प्रवर्द्धन गर्ने ? हाम्रा ग्राहकहरू चीन र भारतबाट सामान किन्न इच्छुक हुनुहुन्छ, त्यसलाई कसरी थप गर्ने ? यिनै कुरामा केन्द्रित हुने सोचिरहेको छु ।

अहिले पनि मानिसहरू दराज वा यहाँका स्थानीय ई-कमर्सभन्दा पनि अली एक्सप्रेस र अमेजन जस्ता कम्पनीबाट सामान अर्डर पाए हुन्थ्यो भन्ने चाहना राख्छन्, किन होला ? 

त्यो त हाम्रो दायित्व हो । हामीले नै त्यो कुरा परिवर्तन गर्न सक्नुपर्छ । हामी भन्नुको अर्थ एउटा कम्पनी र नेपालीको रूपमा भन्न खोजेको हो । म पनि यहीँ हुर्केकी हुँ । तपाईँ भाषाकै कुरा गर्नुहोस् न !

हामीलाई कसैले अङ्ग्रेजी एकदमै राम्रो बोल्यो भने त्यो मान्छे एकदमै खतरा हो भन्ने लाग्छ । त्यस्तै कसैले शुद्ध नेपाली बोल्यो भने त्यसको कुनै मूल्य छैन । अहिलेको पुस्ताको अवस्था कस्तोसम्म भइसक्यो भने एउटा पेपरवर्क नेपालीमा गर्नुपर्‍यो भने एकदमै गाह्रो मान्छ ।

त्यसैले यो सोच र दृष्टिकोणको कुरा पनि हो । मैले यहाँनिर संस्कृति नै परिवर्तन गर्नुपर्छ भन्न खोजेको पनि होइन । तर पनि यहाँनिर हामीले सोच्नुपर्ने कुरा के छ भने दराजमा आउने ग्राहकलाई मैले यहाँ गुणस्तरीय सामान पाउँछु भनेर ढुक्क हुने र अन्तर्राष्ट्रिय स्तरको (अमेजन तथा अली एक्सप्रेसकै स्तरको) प्लेटफर्मको अनुभव दिन सक्नुपर्ने हुन्छ ।

हुन त समग्र नेपाली प्रवृत्ति पनि परिवर्तन हुँदैछ भन्ने लाग्छ । कतिपयले स्थानीय उत्पादन र ब्रान्डलाई महत्त्व दिन थालेका छन् । त्यसैले यो सबै समयसँगै ठीक हुन्छ भन्ने लाग्छ ।

बाहिरी रुपमा हेर्दा दराजको लोगोमा मात्रै परिवर्तन अनुभव गर्न पाइएको अवस्था छ । रि-ब्रान्डिङको रुपमा कम्पनी लोगो तथा यूआईको हिसाबले मात्र नभएर अब समग्र दराजकै नयाँ भर्सनको रुपमा इनोभेसन र थप सेवा सहित कसरी आउँदैछ कि केही बताइदिनु हुन्छ ?

हामीले अहिले जुन बिजनेस छ, त्यसलाई निरन्तरता दिँदै थप गर्दै जाने हो । आगामी दिनमा हामीले परिवर्तन गर्न खोजेका सबै कुराहरू अहिले नै शेयर गर्न मिल्दैन । तर पक्कै पनि केही राम्रा कुराहरू तपाईँहरूले पाउन सक्नुहुनेछ ।

पूर्व प्रबन्ध निर्देशकले यहाँको बजार बुझिसक्नु भएको छ । उहाँले अब क्षत्रिय स्तरमा गएर कस्टमर एक्सपिरियन्समा केन्द्रित भएर काम गर्दै हुनुहुन्छ । त्यसले हामीलाई पनि फाइदा हुन्छ ।

हुन त परिवर्तनको विषयमा अलिबाबा ग्रुप (दराजको प्यारेन्ट कम्पनी) को आफ्नै योजनाहरू छन् होला । तर पनि यहाँको प्रमुख भएको हिसाबले दराज नेपालमा केही त्यस्तो पृथक स्वाद पाउन सकिएला वा अबको ३ वर्ष वा ५ वर्षमा दराजका कस्तो परिवर्तन देख्न मिल्छ होला ?

हुन त व्यक्तिगत र संस्थागत योजनामा त्यस्तो कुनै फरक त छैन । किन भने  म त्यसैलाई विश्वास गरेर यो संस्थामा आवद्ध भएकी हुँ । हाम्रो संस्थागत लक्ष्य भनेकै समाजलाई ई-कमर्सको माध्यमबाट नयाँ स्तरमा विकास गर्नु हो ।

त्यो भनेको हामीले ग्राहक, बिक्रेता, बजार यो सबैलाई कसरी अगाडि बढाउने ? जस्तो हामीले बिक्रेताको एजुकेसनमा केन्द्रित भएर कति कुराहरू सिकाउँछौँ । ई-कमर्स कसरी चलाउने ? फोटोहरू कसरी राख्ने ? कस्तो रिभ्यु आउँछ ?

ग्राहकलाई कसरी खुशी बनाउने ? आदि कुराहरू सिकाउँदा त्यसको असर समग्र रुपमा बजारमा पर्छ ।  हाम्रो क्रस सेलिङको पाटो पनि छ । दराज अहिले नेपाल सहित पाँच ओटा देशमा छ ।

जसरी अहिले चीन र भारतबाट सामान ल्याएर बिक्रेताहरूले बिक्री गरिरहेका छन् । त्यसैगरी यहाँका उत्पादन बाहिरी बजारमा बिक्री गर्न सकिने भयो भने ती बिक्रेताको विस्तार पनि हुन्छ ।

समग्रमा यिनै पक्षहरूमा हामी काम गर्छौँ । रि-ब्रान्डिङले गर्दा एप सफा, हेर्न  र किनमेल गर्न सजिलो बनाएको छ । पहिले एकदमै झिलिमिली भएजस्तो मलाई लागेको  थियो । तपाईँले त्यहाँ हेर्नु भयो भने कुनै सामानको कलर ग्रीन भनिएको हुन्छ ।

तर कस्तो खालको ग्रीन हो त ? त्यस्तो विस्तृत जानकारी सहितको क्याटलग इन्फरमेसन राख्नुपर्ने हुन्छ । किन भने अनलाइनमा सामान किनमेल गर्दा प्रत्यक्ष रुपमा सामान हेरेर किनेको जस्तो हुँदैन ।

आफैँ गएर सामान हेरेको  जस्तो अनुभव दिन सकिने पाटोमा हामीले ध्यान दिनुपर्ने हुन्छ ।  अहिले पनि सामान फिर्ता गर्ने प्रक्रिया अलि गाह्रो भयो भन्ने प्रतिक्रियाहरू आइरहेका छन् । अहिलेलाई त्यसमा कसरी सुधार गर्ने भन्ने कुरामै केन्द्रित हुन्छौँ ।

नोटः हामीले यही सन्दर्भमा दराज नेपालका पूर्व प्रबन्ध निर्देशक लिनो अलरिङसँग समेत संक्षिप्त अन्तर्वार्ता गरेका छौँ । उनको नेपाल अनुभव, यहाँको ई-कमर्समा रहेका अवसर र चुनौतीको विषयमा गरिएको कुराकानी पढ्न यहाँ क्लिक गर्नुहोस् ।

#अन्तर्वार्ताको शीर्षक परिवर्तन भएको छ । -स.

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२