close

थ्रीजी छोडी फोरजीमा आउन किन चाहँदैनन् टेलिकमका प्रयोगकर्ता ?

टेकपाना टेकपाना

जेठ २६, २०७८ १७:४१

थ्रीजी छोडी फोरजीमा आउन किन चाहँदैनन् टेलिकमका प्रयोगकर्ता ?

विगत एक डेढ वर्षदेखि नेपाल टेलिकमले फोरजी नेटवर्क विस्तार गर्न थालेको हो । अहिले यसको कभरेजलाई देशव्यापी बनाउने गरी काम भइरहेको छ । हाम्रो पहिलो प्राथमिकता यही नै हो । 

जबसम्म यसको पहुँच व्यापक हुँदैन, तबसम्म यसको राम्रो सदुपयोग हुने अपेक्षा गर्न पनि कठीन हुन्छ । त्यसै अनुरुप आजको दिनमा देशका ७७ जिल्लाका ६८१ वटा स्थानीय तहमा टेलिकमको फोरजी सेवा पुगिसकेको छ ।

नेपाल टेलिकमले ब्याण्ड थ्री अर्थात १८०० मेगाहर्जको फोरजी सेवा सहरी र घना वस्ती भएका स्थानमा उपलब्ध गराइरहेको छ भने ब्याण्ड २० अर्थात ८०० मेगाहर्जको फ्रिक्वेन्सी सहरी र ग्रामीण दुवै क्षेत्रमा प्रयोग भइरहेको छ । हामीले यसरी फोरजीको डिप्लोइमेन्ट गरेर सञ्चारको हाइ-वे विकास गर्‍यौं ।

यसले डेटा धेरै आवश्यक पर्ने कन्टेन्टका लागि पर्याप्त ब्याण्डविथ उपलब्ध हुने आधार तयार भएको छ । हाम्रा प्रयोगकर्ताले थ्रीजीको तुलनामा यसमा राम्रो अनुभव लिन पाएका छन् । 

जहाँसम्म फोरजीको उपयोग बढाउने कुरा छ, यसका लागि सम्पूर्ण ईकोसिस्टम नै चाहिन्छ । फोरजीको राम्रो अनुभव लिनका लागि उहाँहरुको सेटमा दुवै ब्याण्डको फोरजी चल्ने हुनुपर्छ ।

त्यस अनुरुप पहिलो कुरा त स्मार्टफोनको उपलब्धता नै हो । अहिले हाम्रो नेटवर्कमा ७२ देखि ७५ प्रतिशत स्मार्टफोन प्रयोगकर्ता छन् । तर फोरजी चलाउने प्रयोगकर्ताको संख्या भने ५० देखि ६० प्रतिशत मात्र छ । 

कतिपय प्रयोगकर्ताहरुसँग फोरजी चल्ने सेट छ । तर उहाँहरु थ्रीजीमै बस्न चाहनुहुन्छ । त्यसैले त्यस्ता प्रयोगकर्तालाई फोरजीमा ल्याउन पर्याप्त सचेतनाको आवश्यकता पनि जरुरी छ ।  थ्रीजीबाट फोरजीमा जाँदा अतिरीक्त खर्च लाग्दैन भन्ने कुरा हामीले पर्याप्त मात्रामा बुझाउन सकेका छैनौं । 

टेलिकमले फोरजीमा आधारित भीओएलटीई सेवा पनि सञ्चालनमा ल्याएको छ । हिजोको दिनमा मोबाइलमा डेटा चलाइरहँदा कल गर्नुपर्‍यो भने टुजी वा थ्रीजीमा फल ब्याक हुने गर्दथ्यो । जसले गर्दा डेटा डिसकनेक्ट हुने समस्या पनि थियो ।

तर आजको दिनमा तपाईंको मोबाइलले भीओएलटीई सपोर्ट गर्छ भने भ्वाइस कल पनि फोरजीमै हुन्छ । त्यो पनि एचडी अर्थात उच्च गुणस्तरीय हुन्छ । पहिलो प्राथमिकता नेटवर्कको कभरेज नै भएकाले हामी सुरुवाती चरणमा त्यतातर्फ लाग्यौं ।

नेटवर्क सेवाप्रदायकको हैसियतले त्यो हाम्रो दायीत्वको विषय पनि हो । जबसम्म हामीसँग उचित किसिमको आवश्यक कन्टेन्ट हुँदैन, हाईवे मात्रै भएर पनि हुँदैन । हामी आफैंले र निजी क्षेत्रसँग सहकार्य गरेर विभिन्न भ्यालु एडेड सेवाहरु दिने प्रयास गरिरहेका छौं ।

यस किसिमको सेवा सिजनल र लक्षित समूह अनुरुप हुँदो रहेछ । अहिले हाम्रा प्रयोगकर्ताले अतिरीक्त पैसा नतिरी वा सस्तो मूल्यमा सेवा प्रयोग गर्न चाहनुहुन्छ । त्यसो हुँदा अन्तर्राष्ट्रिय सेवाहरु नै लोकप्रिय भइरहेका छन् र नेपालका लोकल भ्यालु एडेड सेवा त्यति लोकप्रिय हुन सकिरहेका छैनन् ।

हुन त रिङ ब्याक टोन, टोलफ्री, नोटिस बोर्ड, बल्क एसएमएस जस्ता परम्परागत भ्यालु एडेड सेवाहरु हामीसँग अहिले पनि छन् । अब हामी फोरजी नेटवर्क तयार भएसँगै एप्लिकेसनमा आधारित भ्यालु एडेड सेवामा पनि जाँदै छौं ।

उदाहरणको लागि फिक्स लाइनमा आईपीटिभी सेवा भए जस्तै मोबाइल सेवाका ग्राहकहरुका लागि त्यही सेवा मोबाइल एपबाट दिने हाम्रो योजना छ । अरु निजी क्षेत्रले ल्याएका सेवाहरु पनि छन् ।

त्यस्ता सेवाहरु स्वास्थ्य, शेयर मार्केट, मनोरञ्जन, आदि क्षेत्रसँग सम्बन्धित छन् । ती सेवाहरु पनि चलिरहेका छन् । अहिलेको ट्रेन्ड अनुसार धेरै जसो प्रयोगकर्ता भ्यालु एडेड सर्भिसका लागि धेरै खर्च गर्न तयार देखिँदैनन् ।

उनीहरुमा न्यूनतम मूल्यमा सेवा लिन पाए हुन्थ्यो भन्ने देखिन्छ । बाहिरको नेटफ्लिक्स जस्ता प्रिमियम प्रकारका सेवाहरु हामीकहाँ छैनन् । लोकल सीडीएन विकास गर्न सक्यौं भने हामीले स्थानीय कन्टेन्टलाई प्रवर्द्धन गर्न सक्छौं ।

सरकारले पनि त्यस्ता सेवा तथा प्रविधि दिने स्टार्टअपलाई सब्सिडी दिने र प्रवर्द्धन गर्ने नीति लिनुपर्ने देखिन्छ । त्यसो हुँदा फोरजीको उपयोग पनि बढ्ने र सँगसँगै ग्राहकलाई पनि सस्तो मूल्यमा सेवा पनि दिन सकिने अवस्था रहन्छ । 

हुन त फोरजी नेटवर्क डिप्लोयमेन्ट भएपछि यसको प्रयोग एकदमै बढ्दै गएको छ । सहरी क्षेत्रमा अरु विकल्प भएको अवस्थामा मूलरुपमा ग्रामीण क्षेत्रका जनता यसबाट अझ धेरै लाभान्वित भएका छन् । 

महामारीले गर्दा अनलाइन सिकाई, अनलाइन बैठक देखि अनलाइनबाटै काम गर्ने प्रचलन बढेको छ ।  जसले गर्दा ब्याण्डविथ खपत पनि एकदमै राम्रो भएको छ । 

देशव्यापी रुपमा फोरजी नेटवर्क विस्तार गर्न नेपाल टेलिकमले ठूलो लगानी गरेको छ । अहिलेको समयमा सबैभन्दा मूख्य कुरा भनेको डिजिटल कनेक्टिभिटी नै हो ।

त्यसैले यसमा लगानी गर्ने कुरा एकदमै जायज छ । लगानी भइसकेपछि त्यसको प्रतिफल लिनका लागि हामीले यसको उपयोग बढाउन सक्नुपर्छ ।

(शनिबार टेकपानाले आयोजना गरेको दूरसञ्चार नीतिगत बहस श्रृङ्खलामा नेपाल टेलिकमका उपप्रबन्धक तथा सह-प्रवक्ता रञ्जीत लोहियाले व्यक्त गरेको विचारको सम्पादित अंश ।)

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१