close

वर्ल्डलिङ्कमा राखियो पब्जीको सर्भर, कस्तो होला अबको ‘गेम-प्ले’ ?

टेकपाना टेकपाना

साउन ३, २०७८ १०:१३

वर्ल्डलिङ्कमा राखियो पब्जीको सर्भर, कस्तो होला अबको ‘गेम-प्ले’ ?

काठमाडौं । नेपालमा लोकप्रिय भिडिओ गेम पब्जीको सर्भर परिक्षण सुरु भएको छ । नेपालमा पब्जी प्रयोगकर्ता र अन्तर्राष्ट्रिय ब्याण्डविथ खपत बढेसँगै टेन्सेन्टले त्यसको सर्भर नेपाल पठाएको हो ।

हाल सर्भर टेस्टिङ (परीक्षण) को क्रममा रहेको नेपालकै ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडका प्रमुख प्राविधिक अधिकृत (सीटीओ) समित जनले जानकारी दिए । ‘अहिले सर्भर परीक्षणकै क्रममा छ,’ उनले भने, ‘तर लाइभ कहिलेसम्म जान्छ भन्ने कुरा चाहिँ यकिन छैन । तै पनि अबको एक महिनाभित्र लाइभ पठाउँछन् कि भन्ने अपेक्षा भने गर्न सकिन्छ ।’

हाल पब्जीका लागि वर्ल्डलिङ्कबाट मात्रै करिब १० जीबीपीएस अन्तर्राष्ट्रिय इन्टरनेट ब्याण्डविथ खपत हुने गरेको छ । समग्रमा नेपालबाट २० देखि २५ जीबीपीएस ट्राफिक पब्जीमा रहेको सेवाप्रदायकहरु बताउँछन् । धेरै ट्राफिक रहेकाले पब्जीको सर्भर समेत वर्ल्डलिङ्कमै राखिएको हो ।

टेन्सेन्टले कति र कस्तो ट्राफिक लोकल सर्भरबाट पठाउँछ भन्ने यकिन भने भइसकेको छैन । यसको अर्थ कम्पनीले पब्जीको सबै ट्राफिक यसमा पठाउँछ कि पठाउँदैन भन्ने कुरा खुलाएको छैन ।

यसबाट पब्जीको पिङमा कत्तिको फरक पर्छ र गेम-प्ले कुन हदसम्म सुधार हुन्छ भन्ने कुरा यकिन हुन बाँकी छ । हाल दुई ओटा क्याश सर्भर नोड अन गरी परीक्षण चलिरहेको सीटीओ जनले बताए । ‘परीक्षण सकिएपछि भने लाइभ सर्भर नोडको संख्या दश पुग्नेछ,’ उनले भने ।

हाल हङकमङ, सिंगापुर, मुम्बई, फ्याङ्कफर्ट, जापान र सिलिकन भ्यालीमा रहेका क्लाउड गेमिंग डेटा सेन्टरबाट पब्जीका  धेरैजसो ट्राफिक नेपाल आउने गरेको छ । तर वर्ल्डलिङ्कमा रहने सर्भरमा टेन्सेन्टले कुन कुन डेटा सेन्टरको ट्राफिक कसरी पठाउँछ भन्ने कुरा अहिलेसम्म स्पष्ट भइसकेको छैन ।

त्यसो त गुगल, फेसबुक, युट्युव, टिकटक, अकमाई, क्लाउड फ्लेयर जस्ता कम्पनीले यस अघिदेखि नै नेपालमा आफ्नो सर्भर राखेर सञ्चालन गर्दै आएका छन् । जसमध्ये धेरैजसो प्लेटफर्मको ४० देखि ९० प्रतिशत अन्तर्राष्ट्रिय ब्याण्डविथ जोगिने गरेको छ ।

सर्भरको इफिसेन्सी प्लेटफर्म तथा एप्लिकेसन अनुसार फरक फरक हुने गरेको सेवाप्रदायकहरूको अनुभव छ । पब्जी रियल टाइम एप्लिकेसन भएका कारण क्याश सर्भरले फरक पार्ने ट्राफिक प्याटर्न समेत अरुको भन्दा भिन्न हुनसक्ने देखिन्छ ।

यद्यपि वास्तविक अवस्था भने सञ्चालनमा नआइकन भन्न नसकिने जनले बताए । सर्भर लाइभ आएपनि त्यसमा गेम सर्भर रहने वा नरहने भन्ने विषय पनि स्पष्ट हुन बाँकी छ ।

यद्यपि टेन्सेन्टले चाहेको खण्डमा उक्त सर्भरमा निश्चित भाग गेम सर्भरको लागि छुट्याउन सक्ने सम्भावना भने रहेको छ । क्याश मात्रै राख्ने कि गेमिङ सर्भर समेत जोड्ने भन्ने सबै निर्णय टेन्सेन्टकै हातमा रहेको जनको भनाई छ । पब्जीको सर्भर वर्ल्डलिङ्कमा राखिए पनि इन्टरनेट ट्राफिक एक्सचेञ्ज हुने भएकाले त्यसको लाभ अन्य सेवाप्रदायक र प्रयोगकर्ता समेतले पाउनेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१