close

अन्नपूर्ण हिमाल अमेरिकाबाट यसरी बन्दैछ प्रविधिको अन्तर्राष्ट्रिय ब्रान्ड

टेकपाना टेकपाना

साउन १८, २०७८ १६:१०

अन्नपूर्ण हिमाल अमेरिकाबाट यसरी बन्दैछ प्रविधिको अन्तर्राष्ट्रिय ब्रान्ड

काठमाडौं । पछिल्लो समय अन्नपूर्ण पिक्चर्स अन्तर्राष्ट्रिय सञ्चार माध्यममा छाइरहने नाम हो । अमेरिकाको लस एन्जल्समा रहेको यो कम्पनी छोटो चलचित्र निर्माणमा निकै लोकप्रिय छ । पछिल्लो समय भने यो कम्पनी अनलाइन गेमिङको क्षेत्रमा पनि उत्तिकै चर्चामा छ । “अन्नपूर्ण पिक्चर्स” झट्ट नाम सुन्दा कुनै नेपाली कम्पनी हो कि भन्ने लाग्न सक्छ ।

कल्पनाको अर्को विषय यसको पछाडि कुनै नेपाली नागरिक हुनसक्ने सम्भावना हो । तर यो नितान्त रुपमा अमेरिकी नागरिकले स्थापना गरेको अमेरिकन मोसन पिक्चर कम्पनी हो ।

जसले विभिन्न किसिमका छोटो अवधिको चलचित्र (शर्ट मुभी), नाटक, टेलिभिजन कार्यक्रम उत्पादन गर्नुका साथै अनलाइन गेमहरू पनि बनाउने काम गर्छ । विशेष गरी मानिसहरूको जीवनसँग मेल खाने गरी अर्थपूर्ण कथा भएका गेम बनाउने कम्पनीको रुपमा अन्नपूर्ण निकै चर्चित छ ।

कम्पनीले यसै साता मात्र ‘स्ट्रे’ नामको एउटा नयाँ पीसी गेमको ट्रेलर सार्वजनिक गरेको छ । आफ्नो परिवारबाट सहरदेखि टाढा हराएको एउटा बिरालोले विभिन्न रहस्यहरू समाधान गरेर सहरसम्मको बाटो खोज्ने गेम नै ‘स्ट्रे’ गेम हो ।

सन् २०२१ को अन्त्यसम्म सार्वजनिक हुने भनिएको यो गेमको लागि अन्नपूर्ण पिक्चर्स अन्तर्गतको गेम डिभिजन इन्टरएक्टिभका धेरै प्रयोगकर्ताहरू प्रतीक्षामा छन् । सन् २०११ मा सुरु भएको अन्नपूर्ण पिक्चर्सले सन् २०१७ देखि सुरु गरेर आज सम्म थुप्रै हाई प्रोफाइल गेमहरू बनाइसकेको छ ।

हिन्डसाइन, निओन ह्वाइट, ओपन रोड्स, लास्ट स्टप, आई एम डेड जस्ता जिन्दगीको बारेमा अर्थपूर्ण कहानी भएका थुप्रै गेमले बजारमा चर्चा कमाइसकेका छन् । गेममा मात्र होइन अन्नपूर्ण विशेष गरेर चलचित्र, वृत्तचित्र, नाटक मञ्चन लगायतको क्षेत्रमा विश्वव्यापी रुपमा निकै नै चर्चित छ । 

यद्यपि हामी मध्ये धेरैले यसको नाम नसुनेका पनि हुन सक्छौँ । तर एक अमेरिकी कम्पनीको नाम नेपालको हिमाल अन्नपूर्णसँग मिल्दोजुल्दो किन त ? पक्कै पनि तपाईंलाई पनि यस्तै लागेको हुनुपर्छ ।

अन्नपूर्ण पिक्चर्सका संस्थापक मेगन एलिसनले आफ्नो प्रोडक्सन हाउसको नाम अन्नपूर्ण किन राखिन भन्ने विषयमा धेरै तर्कहरू छन् । युनिभर्सिटी अफ साउदर्न क्यालिफोर्नियामा फिल्म विषयको अध्ययन पुरा भएपछि एलिसन सन् २००५ मा विश्व भ्रमणमा निस्केकी थिइन् । त्यसक्रममा उनी नेपाल समेत आइपुगेकी थिइन् ।

नेपालको यात्रामा उनले अन्नपूर्ण सर्किटमा पदयात्रा गरेकी थिइन् । रोयटर्सका अनुसार मेगन आफ्नो विश्व भ्रमणका क्रममा सन् २००६ मा नेपाल आएकी थिइन् । 

आठ हजार मिटर माथि उचाइ भएका हिमालहरूमा अन्नपूर्ण पनि एक हो । आठ हजार १०० मिटर उचाइ भएको अन्नपूर्ण हिमाल आरोहणका हिसाबले विश्वकै कठिनतम मध्येमा पर्छ ।

यो हिमालको आरोहण जस्तै प्रोडक्सनको क्षेत्रमा आफू जोखिमपूर्ण उचाइ हासिल गर्ने लक्ष्यका साथ अगाडि बढ्न कम्पनीको नाम अन्नपूर्ण हिमालको नाम रोजेको भनाई पनि रहेको छ ।

त्यस्तै अन्नपूर्ण एक संस्कृत शब्द हो । जसको नामबाट मेगनले आफ्नो कम्पनीको नाम राखेको भन्ने अर्को भनाई पनि रहेको छ । 

त्यस्तै सन् २०१९ मा भएको नेपाल इन्भेष्टमेन्ट समिटमा सहभागी हुन समेत उनी नेपाल आएको अमेरिकाका लागि पूर्व नेपाली राजदूत अर्जुनकुमार कार्कीको ट्वीटबाट समेत पुष्टी हुन्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१