close

स्पाइवेयर के हो र यसबाट कसरी बच्ने ?

टेकपाना टेकपाना

साउन २९, २०७८ ९:८

स्पाइवेयर के हो र यसबाट कसरी बच्ने ?

काठामाडाैं । इन्टरनेटको प्रयोग बढेसँगै यसबाट हुन सक्ने जाेखिम पनि बढीरहेकाे छ । अहिले धेरैजसो कामहरु अनलाइनबाटै भइरहेकाे छ । घरघरमा इन्टरनेटको पहुँच र आवश्यकता दुवै अनिवार्य हुँदैगर्दा यसको प्रयोगमा विशेष सावधानी अपनाउनुपर्ने अवस्था आएको छ ।

सावधानी बिना कम्प्युटर, मोबाइल फोन र अन्य डिभाइसहरुमा इन्टरनेटको प्रयोग गर्दा विभिन्न घटनाहरु भएका छन् । इन्टरनेटमा अनैतिक कामका लागि प्रयोग हुने सफ्टवेयरको बिगबिगी बढ्दो छ । त्यस्तै घातक किसिमको एउटा सफ्टवेयर हाे, स्पाइवेयर ।

स्पाइवेयर इन्टरनेट प्रयाेगकर्ताका लागि निकै घातक किसिमको सफ्टवेयर हो । जुन तपाईंकाे डिभाइसमा कुनै जानकारी बिना डाउनलोड भएकाे हुन्छ ।

याे सफ्टवेयरले प्रयाेगकर्ताकाे महत्वपूर्ण जानकारी संकलन गरी त्यसलाई दुरुपयाेग गर्न सक्दछ । प्रयोगकर्ताको अनुमतिबिना डाउनलोड हुने कुनैपनि सफ्टवेयरलाई स्पाइवेयर सफ्टवेयरको रुपमा लिन सकिन्छ ।

बिना अनुमति डाउनलोड भएर, गोप्य सूचनाहरु अन्यत्र रिले गर्ने हुनाले स्पाइवेयर विवादास्पद सफ्टवेयर भएकाे हो ।

एकपटक इन्स्टल भइसकेपछि यसले, इन्टरनेट प्रयोगकर्ताको क्रियाकलापलाई ट्रयाक गरिरहेकाे हुन्छ । विशेषगरी क्रेडिट कार्ड नम्बर, पासवर्ड र बैंकिङ सूचनाहरु संकलनका लागि याे सक्रिय रहन्छ ।

कसैको व्यक्तिगत सूचना र लोकेसन ट्रयाक गर्न पनि यसको प्रयोग हुने गरेकाे छ । धेरैजसो अपरिचित इमेलहरु र अनलाइन लिंकहरुबाट याे प्रयाेगकर्ताकाे डिभाइसमा  फैलीरहेको हुन्छ ।

स्पाइवेयरका पनि विभिन्न प्रकारहरु छन्, ती हुन्: 

एड्वेयर: प्रायजसो सित्तैमा पाइने सफ्टवेयरमा यस्ता खालका स्पाइवेयर हुन्छ । प्रयोगकर्ताले कुनै स्पाइवेयर संक्रमित वेबसाइट भिजिट गर्दा एड्वेयर स्वत: डिभाइसमा इन्स्टल हुने गर्दछ । 

किबोर्ड लगर :याे धेरैजसो साइबर अपराधीहरुले महत्वपूर्ण र गोप्य डेटा संकलनका लागि प्रयोग गर्ने गर्दछन । रोजगारदताहरुले कामदारको कम्प्युटर एक्टिभिटी छानविन गर्न र सूचना लिन साथै अभिभावकले बच्चाहरुको कम्प्युटर-इन्टरनेट एक्टिभिटी चेकजाँच गर्न पनि यसको प्रयोग हुने गरेको छ ।

ट्रोजन : याे एक किसिमको मालवेर प्रोग्राम हो । विभिन्न एपमार्फत गोप्य सूचनाहरु संकलन गरी बिना जानकारी पीडितकाे अकाउन्ट बनाउने र त्यसकाे दुरुपयाेग गर्ने गर्छन् ।

मोबाइल स्पाइवेयर: छोटो संदेश, मल्टिमिडिया म्यासेज सर्भिस लगायतका माध्यमबाट सजिलै डिभाइसहरुमा ट्रान्सफर हुनसक्ने भएकाले यो स्पाइवेयर निकै नै खतरापूर्ण छ ।

स्मार्टफोन अथवा ट्याब्लेट मोबाइल स्पाइवेयरबाट संक्रमित भएपछि फोनको क्यामेरा, माइक्रोफोन थर्डपार्टी एप्सबाट साइडलोड हुन् थाल्दछ र यसको उपयोग; जासुसी गर्ने काममा हुनसक्छ । 

स्पाइवेयर कसरी आउँछ ?

  • डेटा डाउनलोड गर्दा देखिने सम्झौता पुरै नपढी तत्काल स्वीकार गर्दा
  • अविश्वसनीय स्रोतबाट सफ्टवेयर डाउनलोड गर्दा
  • नचिनेको अकाउन्टबाट आएका मेसेज खोल्दा, इत्यादि

स्पाइवेयरबाट हुनसक्ने हानीबाट बच्ने तरिका :

  • एन्टी स्पाइवेयर फिचर सहितको विश्वसनीय एन्टी-भाइरस सफ्टवेयरको प्रयोग गर्ने
  • शंकास्पद देखिने ईमेलहरू डाउनलोड नगर्ने
  • अनलाइन ‘पप अप्स’मा क्लिक नगर्ने
  • अपरिचित नम्बरबाट म्यासेजमा आएका लिंकहरु नखोल्ने
  • अपरिचित व्यक्तिहरुसँग कुनैपनि म्यासेजिङ एपहरुमा कुरा नगर्ने

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१