close

फेसबुकमा कसरी राख्ने पासवर्ड लिक हुँदा पनि सुरक्षित राख्ने टु-फ्याक्टर अथेन्टिकेसन ?

टेकपाना टेकपाना

पुस १८, २०७९ १४:३१

फेसबुकमा कसरी राख्ने पासवर्ड लिक हुँदा पनि सुरक्षित राख्ने टु-फ्याक्टर अथेन्टिकेसन ?

काठमाडौं । तपाईँको फेसबुक अकाउन्ट साइबर अपराधीहरूका लागि जहिल्यै निशानाको रूपमा रहेको हुन्छ । यदि कुनै ह्याकरले तपाईँको फेसबुक अकाउन्ट आफ्नो हातमा लियो भने त्यसमा उसले कुनै पोस्ट गरोस् भन्ने कुरा तपाईँ पक्कै पनि चाहनु हुन्न । जसमा तपाईँका जन्ममिति, फोन नम्बर लगायतका निजी सूचनाहरू पनि हुन्छन् ।

तपाईँ यस्ता व्यक्तिगत सूचनाहरू बाहिरिउन् भन्ने कुरा चाहनुहुन्न । ती सूचनाकै आधारमा ह्याकरले तपाईँका अन्य अकाउन्टमा समेत प्रवेश गर्न सक्छन् । बलियो पासवर्ड राखेर तपाईँ आफ्नो अकाउन्ट सुरक्षित राख्न सक्नु हुन्छ । फेसबुक अकाउन्ट सुरक्षित राख्न अन्यत्र प्रयोग नभएको पासवर्ड प्रयोग गर्नुपर्ने हुन्छ । जसका लागि तपाईँले पासवर्ड म्यानेजरको सहारा लिन सक्नु हुन्छ ।

तर यदि तपाईँले मल्टी-फ्याक्टर अथेन्टिकेसन भनिने टु फ्याक्टर अथेन्टिकेसन (2FA) समेत राख्नु भयो भने त्यसले तपाईँको फेसबुक अकाउन्टलाई अझ बढी सुरक्षित बनाउने छ । यस्तोमा कसैले तपाईँको पासवर्ड थाहा पाएकै छ भने पनि फेसबक खोल्न सक्दैन । जब टु-फ्याक्टर अथेन्टिकेसन राख्नु हुन्छ, त्यस्तोमा साइबर आक्रमणकारीलाई तपाईँको अकाउन्टमा पहुँच बनाउन भौतिक रूपमै तपाईँको डिभाइस प्राप्त गर्नुपर्ने हुन्छ ।

यस्तोमा फेसबुकको पासवर्ड थाहा पाएर मात्रै काम नपुग्ने भएपछि तपाईँको अकाउन्टसम्म पुग्न उनीहरूलाई निकै मुस्किल हुन्छ । यसका साथै टु-फ्याक्टर अथेन्टिकेसन सेटअप छ भने कसैले तपाईँको अकाउन्टमा पहुँच बनाउने प्रयास गर्दा त्यसको अलर्ट आउँछ ।

यस्ता अनपेक्षित नोटिफिकेसनले तपाईँको पासवर्ड कसैको हातमा पुगिसकेको वा ह्याक भइसकेको सङ्केत दिने भए पनि त्यसका बाबजुद तपाईँको अकाउन्ट सुरक्षित नै रहन्छ । त्यसैले आज हामी तपाईँलाई आफ्नो फेसबुक अकाउन्टमा टु-फ्याक्टर अथेन्टिकेसन कसरी राख्ने भन्ने कुरा बताउँदै छौँ ।   

एपमार्फत टु फ्याक्टर अथेन्टिकेसन सेटअप गर्ने तरिका 

१. सबैभन्दा पहिला आफ्नो मोबाइलमा रहेको फेसबुक एप खोल्नुहोस् र फेसबुक मेसेञ्जरको आइकनसँगै रहेको तेर्छो तीन ओटा धर्सामा थिच्नुहोस् । यसबाट तपाईँको फेसबुक प्रोफाइलको मेनु खुल्नेछ । 

२. अब केही स्क्रोल गर्नुहोस् र सेटिङ्ग्स एन्ड प्राइभेसी (Settings & Privacy) भएर सेटिङ्ग्स (Settings) मा जानुहोस् । 

२. त्यहाँ देखिएको मेनुमा 'सेक्युरिटी' अन्तर्गत रहेको सेक्युरिटी एन्ड लगइन (Security and login) मा दबाउनुहोस् । 

३. अब टु-फ्याक्टर अथेन्टिकेसन (Two-factor authentican) का लागि केही थोरै स्क्रोल गर्नुहोस् । 

४. अब त्यहाँबाट 'युज टु-फ्याक्टर अथेन्टिकेसन'भित्र गएर अथेन्टिकेटर एप अथवा टेक्स्ट मेसेज (SMS) को विकल्प रोज्नुहोस् । फेसबुकले गुगल अथेन्टिकेटर अथवा डुओ मोबाइल जस्ता अथेन्टिकेटर एप प्रयोग गर्न सुझाउनेछ, जसले एप प्रयोग गर्न छिनछिनमा छुट्टाछुट्टै अथेन्टिकेसन कोड उपलब्ध गराउँछ । यसलाई छनौट गरिसकेपछि कन्टिन्युमा थिच्नुहोस् ।  

५. यहाँ तपाईँलाई थर्ड-पार्टी अथेन्टिकेटर एप डाउनलोड गर्न आग्रह गरिनेछ, यदि तपाईँले पहिले नै त्यस्तो एप इन्स्टल गर्नु भएको छैन भने गुगल प्ले स्टोर तथा आईओएस एप स्टोरमा गएर डाउनलोड गर्न सक्नु हुन्छ ।

यदि तपाईँको अथेन्टिकेटर एप रहेकै मोबाइलमा फेसबुक एप छ भने 'सेट-अप अन सेम डिभाइस'मा ट्याप गर्नुहोस्, जसले एपमा साचो सुरक्षित राख्नेछ । तपाईँले कोड कपी गरेर साचोलाई सेभ गर्न र त्यसलाई अथेन्टिकेटर एपमा म्यानुअल्ली इन्टर गर्न सक्नुहुन्छ ।

६. अब साँचो सेभ गर्न प्रोम्प्टमा कन्फर्म गर्नुहोस् । 

७. यति गरिसकेपछि तपाईँको फेसबुकमा टु फ्याक्टर अथेन्टिकेसन इनेबल हुन्छ । यसले जब कुनै अनधिकृत डिभाइस तथा ब्राउजरबाट तपाईँको फेसबुक अकाउन्टमा पहुँच बनाउने प्रयास भएको खण्डमा त्यसलाई रोक्न अतिरिक्त तहको सुरक्षा दिन्छ । 

८. तर यदि तपाईँ सुरक्षा उपायको रूपमा एसएमएस प्रयोग गर्न चाहनुहुन्छ अथवा अथेन्टिकेटर उपलब्ध नभएको अवस्थाका लागि ब्याकअपको रूपमा राख्न चाहनु हुन्छ भने 'सेलेक्ट अ सेक्युरिटी मेथड' मेनुबाट 'टेक्स्ट मेसेज' (SMS) छनौट गर्न सक्नु हुन्छ । 

. त्यसपछि आफ्नो फेसबुक अकाउन्टसँग संलग्न फोन नम्बर छनौट गर्नुहोस् अथवा कोड प्राप्त गर्ने छुट्टै नम्बर राख्नुहोस् र कन्टिन्यु बटनमा थिच्नुहोस् । 

१०. यति गरिसकेपछि फेसबुकले उक्त नम्बरमा छ अङ्कको कोड पठाउनेछ । फेसबुकमा सूचिकृत नम्बरमा एक पटक कोड आइसकेपछि, त्यसलाई दिइएको खाली बक्समा राखेर पुनः कन्टिन्यु गर्नुहोस् । 

११. यससँगै टेक्स्ट मेसेजमार्फतको टु-फ्याक्टर अथेन्टिकेसन सक्रिय हुन्छ । त्यसपछि जब कुनै अपरिचित डिभाइस वा ब्राउजरबाट तपाईँको फेसबुकमा लगइन गर्ने प्रयास भएको खण्डमा तपाईँलाई मेसेजमा एउटा कोड आउनेछ । 

वेब ब्राउजरमार्फत  फेसबुकमा कसरी राख्ने टु फ्याक्टर अथेन्टिकेसन ? 

१. वेब ब्राउजरमा फेसबुक खोल्नुहोस् र होम स्क्रिनबाट माथि दायाँ कुनामा रहेको अकाउन्ट सेटिङमा जानुहोस्, जहाँ तपाईँको प्रोफाइल पिक्चर सानो आकारको रुपमा देखिएको हुन्छ । 

२. अब त्यहाँ रहेको सेटिङ एन्ड प्राइभेसीमा क्लिक गरेर सेटिङ्ग्स प्रवेश गर्नुहोस् । 

३. मेनुमा उपलब्ध सेक्युरिटी एन्ड लगइन खोजेर त्यसमा क्लिक गर्नुहोस् । 

४. टु-फ्याक्टर अथेन्टिकेसन'का लागि मेनुमा तलतर्फ जानुहोस् र 'युज टु-फ्याक्टर अथेन्टिकेसन' लाई छनौट गर्नुहोस् । 

५. टु फ्याक्टर अथेन्टिकेसनमा फेसबुकले एउटा अथेन्टिकेटर एप प्रयोग गर्न सुझाउने छ । जसमध्ये तपाईँले गुगल अथेन्टिकेटर अथवा डुओ मोबाइल प्रयोग गर्न सक्नु हुन्छ ।

६. स्क्रिनमा एउटा क्यूआर कोड देखा पर्छ, अथेन्टिकेटर एप प्रयोग गरेर त्यसलाई स्क्यान गर्नुहोस् । त्यसको विकल्पमा तपाईँले त्यहाँ देखिने कोडलाई अथेन्टिकेटर एपमा म्यानुअल्ली राख्न समेत सक्नु हुन्छ । 

७. साँचो सुरक्षित गर्न प्रोम्प्टमा कन्फर्म गर्नुहोस् । 

८. यति गरेसँगै तपाईँको फेसबुकमा टु फ्याक्टर अथेन्टिकेसन इनेबल हुन्छ । 

९. यदि तपाईँ आफ्नो फेसबुक अकाउन्ट सुरक्षित राख्ने उपायको रूपमा  एसएमएसलाई विकल्प बनाउन चाहनु हुन्छ अथवा त्यसलाई अथेन्टिकेटर एपको विकल्पको रूपमा राख्न चाहनु हुन्छ भने 'सेलेक्ट अ  सेक्युरिटी मेथड' बाट 'टेक्स्ट मेसेज' (SMS) लाई छान्नुहोस् । 

१०. त्यसपछि आफ्नो फेसबुकमा संलग्न मोबाइल नम्बर छनौट गर्नुहोस् अथवा कोड प्राप्त गर्न भिन्दै मोबाइल नम्बर राख्नुहोस् र कन्टिन्यु मा थिच्नुहोस् । 

११. त्यसपछि फेसबुकले उक्त नम्बरमा छ अङ्कको कोड पठाउनेछ । एकपटक यस्तो कोड प्राप्त भइसकेपछि त्यसलाई दिइएको खाली बक्समा राखेर कन्टिन्यु गर्नुहोस् । 

१२. यति गरेपछि तपाईँको फेसबुकमा टेक्स्ट मेसेजमा आधारित टु फ्याक्टर अथेन्टिकेसन एक्टिभ हुन्छ । अब कुनै अपरिचित डिभाइस वा ब्राउजरबाट तपाईँको फेसबुकमा लगइन गर्ने प्रयास हुँदा तपाईँको मोबाइल नम्बरमा एउटा कोड आउनेछ ।

पछिल्लो अध्यावधिक: पुस १८, २०७९ १५:६